अचेल बच्चाहरूले टेर्न छाडे,’ प्राचीन रोमका लेखक सिसेरोले भनेका थिए। ईशापूर्वको त्यो समयमा पनि बालबालिकाले अभिभावकलाई टेर्दा रहेनछन् भन्ने उनको भनाइबाट प्रमाणित हुन्छ।
त्यसो त अहिले पनि बालबालिकाले अभिभावकलाई टेर्दैनन्। यस्तोमा तिनीहरूलाई के भनेर फकाउने वा के नभन्ने जस्ता कुरा आमाबुवाले जान्न जरुरी छ। त्यसका लागि संसारभर धेरै पुस्तक लेखिएका छन्।
पछिल्लो समय निस्किएको पुस्तक ‘हाउ टु बि द ग्रोन–अप’ मा डा. मार्था डिरोज कोलाडोका सुझाव हेर्दा सामान्य तर निकै प्रभावशाली देखिन्छ। उनका अनुसार बालबालिकालाई शान्त होऊ नभन्नु नै श्रेयस्कर हो। उनीहरूमा यति धेरै प्रबल भावना हुन्छ कि शान्त रहनै सक्तैनन्। त्यसैले त्यसो भन्नु बेकार हो। मोबाइल बन्द गर्छौ कि फ्याँकिदिऊँ भनेर नभन्नुस्। किनभने भनेर लाग्ने नै होइन। बरु त्यसको साटो टाइमर लगाइदिनुस्। निश्चित समयपछि मोबाइल आफैँ अफ हुन्छ।
तिमी बदमास छौ भनेर पनि तिनलाई नभन्नुस्। मजाकमा वा रमाइलोका लागि भनिएका कुरा छुट्याउन नसक्ने हुनाले उनीहरूलाई जे भनिन्छ, प्रायः त्यही ठान्छन्। जे जस्तो व्यवहार प्रदर्शन गर्छन्, उनीहरूको जिज्ञासाका कारण त्यस्तो गरिरहेका हुनसक्ने विज्ञहरूको धारणा छ।
सानो चोटपटक लाग्दा पनि कुनै बच्चाले बढी नै हल्ला मच्चाउँछन्। यस्तोमा उनीहरूलाई तिमीलाई केही भएको छैन भनेर उपेक्षा नगर्नुस्। बरु मलम लगाइदिएजस्तो गर्नुस्। उनीहरूका लागि सानो कुरा सानो हुँदैन।
झुटो बोलेकाले म रिसाएको छु पनि नभन्नुस्। झुट सधैँ गलत नहुन सक्छ। केटाकेटीले भान्सामा पानी पोखे भने मैले होइन भन्न सक्छन्। यस्ता साना कुरालाई ठूलो झन्झटका रूपमा प्रस्तुत गर्दा उनीहरूले झुटो बोल्ने बाटो खोज्न थाल्छन्।
राति सुत्ने बेलामा बालबालिकाहरू प्रायः डर मान्छन्। तर अभिभावकले त्यहाँ भूत हुन्न भनेर उपेक्षा गरिदिन्छन् र जबरजस्ती सुताउन खोज्छन्। भूत छ भनेर भन्नुको अर्थ उनीहरूले मलाई डर लागिरहेको छ भन्न खोजेका हुनसक्छन्। सुरक्षा खोजिरहेका हुनसक्छन्। उनीहरूको भावना बुझ्न खोज्नु सबैभन्दा उत्तम उपाय हो। यसो गर्दा तपाईंमाथि तिनको विश्वास बढ्छ, सुरक्षाभाव बढ्छ।
प्रस्तुतिः अच्युत कोइराला
प्रकाशित: २४ फाल्गुन २०८० ०७:०६ बिहीबार