२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘मोडिफाइ’ गरिएका मोटरसाइकल चलाउन कास्की प्रहरीको रोक

कास्की प्रहरीले फक्राउ गरेको मोडिफाइ गरिएका दुइपांग्रे सवारी। तस्बिर सौजन्यः जिल्ला प्रहरी कार्यालय कास्की

मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइ) गरेर चलाउने विरुद्ध कास्की प्रहरी आक्रामक रुपमा प्रस्तुत भएको छ। मोडिफाई गरिएका सवारी र चालकलाई नियन्त्रणमा लिँदै सवारी मोडिफाई गरिदिने वर्कसप (मर्मत केन्द्र) संचालकलाई पनि प्रहरीले पक्राउ गर्न थालेको छ।

कास्की प्रहरीले सवारीको स्वरुप परिवर्तन गरेर सवारी चलाएको फेला परेमा प्रहरीलाई खबर गर्न समेत सर्वसाधारणसँग आग्रह गरेको छ।

कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले दुइपांग्रे सवारी मोडिफाइ गरेर चलाउँदा समाजमा अशान्ति फैलिएको र ध्वनि प्रदूषण बढाएको तथा दुर्घटनाको जोखिम समेत थपिएको बताए।

‘स्वरुप परिवर्तन गरी समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनि प्रदूषण गर्ने, साईलेन्सर पाइपबाट आगोको झिल्का निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिई कारबाही गर्न थालिएको छ,’ उनले भने।

उनका अनुसार स्वरुप परिवर्तन गरी सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुन्छ। चर्को आवाजले ध्वनि प्रदूषण बढाउने गर्छ भने बिरामी, वृद्ध वृद्धा, बालबालिका, विद्यार्थी तथा विद्यालय र अस्पतालजस्ता संवेदनशील क्षेत्रमा समेत प्रत्यक्ष असर गर्छ।

उनका अनुसार भदौयता स्वरुप परिवर्तन गरिएका ६ सय ८१ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ। ती सवारी  नियन्त्रणमा लिएर चालकलाई कारबाही गर्दा ७ लाख ४२ हजार रुपैयाँ जरिवाना समेत संकलन भएको छ।

स्वरुप परिवर्तन गरेको सवारी पक्राउ गर्न थालेको प्रहरीले तीन दिन अवधिमा मात्र ५९ वटा मोटरसाइकल नियन्त्रणमा लिएको उनले बताए। प्रहरीका अनुसार सवारी मोडिफाइ गरिदिने विभिन्न वर्कसप संचालकलाई पनि प्रहरीले पक्राउ गरेको छ। केही दिन अवधिमा आठ जना वर्कसप संचालक पक्राउ परेको प्रहरीको भनाई छ।

मानन्धरका अनुसार सवारी मोडिफाइ गर्ने क्रममा सवारी साधनको साईलेन्सर, सिट, रंग, स्वरुप, नम्बर प्लेट, लुकिङग्लास, सक, ह्याण्डल, ईन्जिन, च्यासिसमा परिवर्तन गर्ने वा ध्वनि हुने खालका पार्टपुर्जा जडान गरिएको छ। कास्की ध्वनि प्रदूषण निषेधित जिल्ला समेत भएकोले त्यस्तो प्रदूषण गर्ने सवारी साधनलाई तत्कालै नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम कारबाही गरिएको उनले बताए।

अनधिकृत रुपमा सवारीमा जडान गरिएका त्यस्ता पार्टपुर्जा जफत हुने र जडान गर्ने वर्कसप धनी र जडान गर्ने व्यक्तिलाई समेत कारबाही हुने पनि मानन्धरले जानकारी दिए।

सवारी मोडिफाइ गर्ने क्रममा सवारी साधनको साईलेन्सर, सिट, रंग, स्वरुप, नम्बर प्लेट, लुकिङग्लास, सक, ह्याण्डल, ईन्जिन, च्यासिसमा परिवर्तन गर्ने वा ध्वनि हुने खालका पार्टपुर्जा जडान गरिएको छ।

समाजमा होहल्ला गर्दै मोटरसाइकल पड्काउँदै हिँड्ने तथा ध्वनि प्रदूषण गर्ने कार्य बढिरहेको भन्ने अत्यधिक जनगुनासो आइरहेको प्रहरीको भनाई छ।

स्वरुप परिवर्तन गरिएका मोटरसाइकल मध्ये पटके कारबाहीमा परेकालाई थप कारबाहीको लागी यातायात व्यवस्था कार्यालय कास्कीमा पठाउने गरेको प्रहरीको भनाई छ। पहिलो पटक कारबाहीमा परेकालाई मोडिफाई गरिएका सामान फेर्न लगाई पहिलेको जस्तै बनाउन लगाउने गरिएको पनि प्रहरीको भनाई छ।

ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले सहरभित्र ध्वनि प्रदूषण गराउने सवारीप्रति निगरानी बढाइरहेको बताए। ‘निगरानी हाम्रो नियमित काम हो। तर, पछिल्लो समय अझ बढी सक्रिय भएर मोडिफाइ गरिएका सवारी पक्राउ गर्न थालेका थियौं,’ शर्माले भने, ‘स्वरुप परिवर्तन गरेका दुइपांग्रे सवारी दिनहुँ पक्राउ परेका छन्।’ पहिलो पटक पक्राउ पर्ने सवारीका चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको उनले बताए।

शर्मामा अनुसार ट्राफिक प्रहरीले पहिलो पटक पक्राउ परेका सवारीको स्वरुप पुरानै अवस्थामा फर्काउन लगाउने र एकदेखि दुई हजार रुपैयाँसम्म जरिवाना गराउने गरेको छ।

बारम्बार मोडिफाई गरेको भए थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाउने र त्यही अनुसार कारबाही हुने उनले बताए।

उनका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा स्वरुप परिवर्तन, पार्टपुर्जा थप्न वा घटाउन रंग परिवर्तन गर्न नपाइने व्यवस्था रहेको छ।

प्रकाशित: २३ फाल्गुन २०८० १७:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App