२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

२१ लाख हुन्डी रकमसहित पाँचजना सार्वजनिक

२१ लाख हुन्डी रकमसहित पक्राउ परेका पाँचजनालाई सोमबार सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरी उनीहरुलाई रकमसहित सार्वजनिक गरेको हो।

सार्वजनिक हुनेमा दुई नेपाली र तीन भारतीय रहेको प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए। पक्राउ पर्नेमा भारत बिहार मोतीहारी थाना हरपुर ग्राम नायक टोलका रञ्जित सर्राफ, अरेराका रविशंकर सिह, स्यामपुरका कृष्णलाल प्रसाद, बारा कलैया उपमहानगरपालिका ४ मा सञ्चालित  आसिफ मनी चेन्जरका सञ्चालक कलामुदिन अन्सारी, अर्का  सञ्चालक महागढीमाई नगरपालिका १ का मेराजुल हक अन्सारी रहेका छन्।

गत शुक्रबार कलैया उपमहानगरपालिका ६ कलैया–मटिआर्वा हुलाकी सडक खण्डबाट पाँच लाख हुन्डी रकमसहित रञ्जित सर्राफलाई पक्राउ गरिएको काफ्लेले बताए। त्यसैगरी आइतबार विश्रामपुर गाउँपालिका १ बाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एआर ३५०९ नम्बरको भारतीय मोटरसाइकलबाट १६ लाख नौ हजारसहित रविशंकर सिंह र  कृष्णलाल प्रसादलाई पक्राउ गरिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मलेसियाबाट कमाएर घरमा रकम पठाउने नेपालीबाट हुन्डी कारोबारीका एजेन्टहरुले बिदेशी मुद्रा उतै राख्ने र भारतमा रहेका एजेन्टबाट नेपाली रुपैयाँ मनी चेन्जरहरुको सञ्चालकको माध्यमले भुक्तानी गराउने गरेको खुल्न आएको काफ्लेले बताए।

बरामद गरिएको हुन्डी रकमका बारेमा अनुसन्धान गर्दै जाँदा मनी चेन्जरहरुको संलग्नता भेटिएपछि नियन्त्रणमा लिएर अदालतबाट बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुर मुद्दामा सात दिनको म्याद थप गरी थप अनुसन्धान गरिएको बारा प्रहरीले जनाएको छ।

प्रकाशित: २१ फाल्गुन २०८० १३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App