१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पोखरामा मोटरसाइकल दुर्घटना: दुई युवककाे मृत्यु

तीव्र गतिमा रहेको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किँदा भएको दुर्घटनामा दुई जना युवाको ज्यान गएको छ।

पोखराको लेकसाइडबाट जिरोकिलोमिटरतर्फ आइरहेको बागमती प्रदेश ०२–०३४ प ५६२१ नम्बरको मोटरसाइकल जरेवरको ओरालोमा शनिबार बिहान पौने ४ बजेतिर दुर्घटनामा परेको थियो।

कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सूर्य रानाका अनुसार मोटरसाइकल दुर्घटनामा परेर कैलालीको जानकी गाउँपालिका–३ का २८ वर्षीय महेश आचार्य र जानकी –९ का ३० वर्षीय शैलेन्द्रकुमार उपाध्यायको मृत्यु भएको हाे। आचार्य र उपाध्यायबिच पारिवारिक सम्बन्ध पनि रहेको छ।

रानाका अनुसार लेकसाइडको ‘नाइट लाइफ’ मा रमाएर फर्केका उनीहरु सवार मोटरसाइकल डिभाइडरमा ठोक्किएको थियो। दुर्घटना लगत्तै घाइतेलाई गण्डकी मेडिकल कलेजमा उपचारार्थ पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा ज्यान गएको उनले बताए।

‘सिसिटिभी फुटेज हेर्दा मोटरसाइकलको गति तीव्र देखिन्छ। रातभर लेकसाइड घुमेर फर्किने क्रममा उनीहरु सवार मोटरसाइकल दुर्घटनामा परेको हो,’ रानाले भने, ‘मोटरसाइकलको गति अधिक हुनु नै दुर्घटनाको कारण हो।’

प्रहरीका अनुसार काठमाडौंमा बसोबास गर्ने उनीहरु घुमघामकै लागि पोखरा आएका थिए। मृतक द्वयको शव आफन्तले बुझिसकेका छन्।

प्रकाशित: १९ फाल्गुन २०८० १८:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App