६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

‘मिलिटरी क्रस’ पाउने नेपाली सैनिक

सैनिक इतिहास

युद्धभूमिमा दुस्मनविरुद्ध प्रशंसनीय वीरता देखाई काम फत्ते गर्ने बहादुर सैनिकलाई विभूषित गर्नका लागि २८ डिसेम्बर १९१४ देखि बेलायतले मिलिटरी क्रस (एमसी) विभूषणको सुरुवात गर्‍यो। कप्तानदेखि जमदारसम्मका लागि यो विभूषण प्रदान गरिने व्यवस्था थियो। यो विभूषण अर्थात् तक्मा पाउने व्यक्तिलाई राज्यले नै उच्च सम्मान दिने गर्छ।

सैनिक विज्ञानमा ‘मिलिटरी डिस्प्युट’ र ‘मिलिटरी डिप्लोम्यासी’ भन्ने पदावली छन्। ‘मिलिटरी डिस्प्युट’भित्र लडाइँ, भिडाइ, झैझगडा पर्छन् भने ‘मिलिटरी डिप्लोम्यासी’मा लडाइँ, भिडाइ पटक्कै हुन्न र एकअर्कालाई सैनिक, भौतिक, आर्थिक आदि सहयोग लिनेदिने काम हुन्छ।

नेपालले १८२४ सालदेखि १८७२ सालसम्म बेलायतसँग मिलिटरी डिस्प्युटमा नै दिन बितायो भने १९१४ साल अर्थात् भारतमा भएको सिपाही विद्रोह (पहिलो भारतीय स्वतन्त्रता संग्राम) पछि भने मिलिटरी डिप्लोम्यासीमा सम्बन्ध बढेको पाइन्छ।

सिपाही विद्रोह, पहिलो र दोस्रो विश्वयुद्ध, अफगानिस्तान र बजिरिस्थानमा पठाइएका सैनिक सहयोग त्यसैअन्तर्गत पर्छन्। पहिलो र दोस्रो विश्व युद्ध, अफगानिस्तान र बजिरिस्थानमा नेपालले बेलायतलाई दिएको सैनिक सहयोगमा युद्धभूमिमा खटिएकामध्ये धेरैले सहादत प्राप्त गरे भने केही नेपाली सैनिकले बहादुर कामको पुरस्कारस्वरूप मिलिटरी क्रस तक्मा पाए। जसबारे यहाँ संक्षिप्त चर्चा गरिएको छ।

नेपाली सेनामा पहिलो मिलिटरी क्रस पाउने लेफ्टिनेन्ट कर्नेल चन्द्रबहादुर कार्की

सन् १९१७ मा तत्कालीन भारतको उत्तर–पश्चिम क्षेत्रमा रहेको नर्थ वेस्ट फ्रन्टियरमा बजिरिस्थानी मसुद नामको एउटा जाति थियो।

बिसौं शताब्दीको सुरुमा लर्र्ड कर्जनले उत्तर–पश्चिम सीमान्त प्रान्तको सिर्जना गरे, जसमा मसुदहरूले बसोबास गरेको क्षेत्र पनि समावेश गरिएको थियो। तर मसुदहरूले अंग्रेजको निर्णयलाई स्वीकार गरेनन्।

अंग्रेज सरकार प्रथम विश्वयुद्धमा फँसेको अवसर पारी मसुदहरूले अंग्रेजविरुद्ध बजिरिस्थानमा तयारीका साथ सङ्घर्ष सुरु गरे। अफगानिस्तानमा अंग्र्रेज फस्यो र कहिल्यै युद्ध जितेन। यस जातिविरुद्ध गरिएको सैनिक अभियानमा महिन्द्र दल र रैफल पल्टनको सहयोग लिइएको थियो।

मसुदविरुद्धको अंग्रेज सैनिक अभियान सन् १९१७ को मार्चमा सुरु भएको थियो र करिब पाँच महिनापछि यो अभियान समाप्त भएको थियो। यस अभियानको दौरानमा रैफल पल्टनलाई अंग्रेज फौजको त्रिचालीसौं ब्रिगेडमा सामेल गराई फौजको नेतृत्व मेजर जनरल वियनोको हातमा थियो।

उक्त सैनिक कारबाहीमा राइफल पल्टनको अति नै राम्रो भूमिका रह्यो । उक्त पल्टनका सुबेदार (पछि लेफ्टिनेन्ट कर्नेल) चन्द्रबहादुर कार्कीले देखाएको अदम्य साहसको कदरस्वरूप तत्कालीन बेलायत सरकारले उनलाई मिलिटरी क्रस (एमसी) तक्मा प्रदान गरेको थियो। नेपाली सेनामा मिलिटरी क्रस पाउने पहिलो व्यक्ति सुबेदार चन्द्रबहादुर कार्की हुन्।

जमदार होमबहादुर गुरुङ

सन् १९३९ देखि १९४५ सम्म भएको दोस्रो विश्वयुद्धमा बर्मा क्षेत्रमा भएको लडाइँमा कालीबहादुर पल्टनका जमदार होमबहादुर गुरुङले बर्माको चामु र ससक भन्ने ठाउँ हुँदै चिन्डविन नदी पार गरी डिफेन्स पोस्टमा बसेका जापानीहरूमाथि हमलाको योजना बनाए।

योजनाअनुसार रातको ११ बजे आफ्नो नेतृत्वमा एक सेक्सन जवान लगेर बहादुरीपूर्वक भीषण सङ्घर्ष गरी शत्रुको डिफेन्स पोस्टलाई ध्वस्त पार्न सफल भए। बृटिस सरकारले उनको बहादुरीको सम्मान गर्दै मिलिटरी क्रसले विभूषित गरेको थियो। उनले नेपालबाट पनि थुप्रै तक्मा पाएका थिए। पछिल्लो समय चितवनको नारायणगढ बस्दै आएका होमबहादुरको मृत्यु भइसकेको छ।

लेफ्टिनेन्ट कर्नेल जगतबहादुर खत्री

दोस्रो विश्वयुद्धमा भएको बर्मा युद्धमा कर्नेल जगतबहादुर खत्रीले भाग लिएका थिए। युद्धका लागि पहिला भारतको आसामबाट पैदल हिँडेर करिब ५०० माइल पूर्व रहेको बर्माको मन्डले पुग्नुपर्थ्याे।

मन्डलेबाट पनि १५/१६ माइल पश्चिममा रहेको सिआई गाउँमा १९४३ मार्च (फागुन २०) मा श्री महिन्द्र दलको ‘डी’ कम्पनीका जमदार जगतबहादुर खत्रीले नेतृत्व गरेको २८ जनाको टोलीले जापानी डिफेन्समाथि हमला गर्नुपर्थ्याे।

२० फिट अग्लो ढिस्कोमा बनेको सुख्खा नहरलाई पार गरी हमला गर्नुपर्ने भएकाले बहुतै कठिन थियो। तापनि सो उचाइको सुक्खा नालालाई पार गरी हमला गरेपछि जापानी फौजले जवाफी हमला गरेको थियो।

सो प्रत्याक्रमणलाई विफल पारी बहादुरीपूर्वक करिब ४५ मिनेट युद्ध गरी धेरै जापानीलाई मार्न सफल भएको थियो। यस युद्धमा डी कम्पनीका जम्मा तीन जना र जापानीतर्फ १७ जना मारिएका थिए। जापानी डिफेन्समा अनुमान गरेभन्दा धेरै सङ्ख्यामा फौज तैनाथ गरिएको थियो।

यसरी अदम्य साहस प्रदर्शन गरी युद्धमा दुस्मनको हमला गर्ने योजनासमेतलाई विफल गरिएकोमा जमदार जगतबहादुर खत्रीलाई बृटिस सरकारबाट मिलिटरी क्रसले विभूषित गरिएको थियो।

लेफ्टिनेन्ट कर्नेल गुप्तबहादुर गुरुङ

महिन्द्र दल गण ‘डी’ कम्पनीका क्याप्टेन गुप्तबहादुर गुरुङको कमान्डमा रहेको फौजलाई बर्मामा एम्बुस थापी जापानी फौजमाथि आक्रमण गर्नेे जिम्मा दिइएको थियो। जब जापानी फौज युद्ध इलाका आइपुग्यो, एम्बुस पोजिसनमा भएको गुप्तबहादुर नेतृत्वको फौजले फायर खोल्यो।

उक्त युद्धमा धेरै जापानी मरे। केही जापानीलाई जिउँदै पक्रेर जङ्गी कैदी बनाइयो। त्यस एम्बुस कारबाहीमा आफ्नो पक्षका तीन जनाको मृत्यु भयो।

उक्त एम्बुस कारबाही बहादुरीसाथ सम्पन्न गरेकाले क्याप्टेन गुरुङलाई मिलिटरी क्रस प्रदान गरिएको थियो।

 २००२ साल फागुनमा दिल्लीमा आयोजित भिक्ट्री परेड समारोहमा गुप्तबहादुरले भाग लिएका थिए। लेफ्टिनेन्ट कर्नेल गुरुङले सैनिक सेवाबाट अवकाश प्राप्त भएपछि गुल्मीको बडाहाकिम बने भने २०४५ वैशाख १० गते ८४ वर्षको उमेरमा उनको मृत्यु भयो।

लेफ्टिनेन्ट कर्नेल शैलेन्द्रबहादुर महत

नुवाकोटको खोलेगाउँमा १९७६ सालमा जन्मेका शैलेन्द्रबहादुर महतका बाजे मेजर कप्तान नारायणबहादुर महतले श्री ३ देवशमशेरको हजुरिया भई काम गरेका थिए। पछि पूर्व एक नम्बर चौतारा र पश्चिम एक नम्बर नुवाकोटमा बडाहाकिमसमेत भई काम गरेका थिए।

बुबा महेन्द्रबहादुर महत राणाकालमा र पछि प्रधान न्यायालयको न्यायाधीश थिए। महतले १९९६ भदौ ५ मा श्री शेर गणको ७ पट्टि नम्बर ३ हुद्दामा भर्ना भई शेर गणबाट नै दोस्रो महायुद्धमा भाग लिएका थिए।

त्यतिखेरको खास स्थितिलाई पुनःस्मरण गर्दा २०५३ साल चैत ११ मा महतले लेखकसँग शेर गणलाई ‘बहादुर शेर’ को संज्ञा दिएका थिए। तर अन्य पल्टनका उच्च पदका केही राणा गफाडी अधिकृतहरूको शेर पल्टन लडाइँबाट भाग्यो भन्ने हल्ला गरेर आफ्नो पल्टनलाई माथि पार्ने काम गरेकोमा दुःख व्यक्त गरेका थिए।

उनको भनाइमा कर्नेल क्षेत्रविक्रम राणा र श्री ३ का छोरा जनरल किरणशमशेर राणा मिली उनले कमान्ड गरेको पल्टनलाई अंग्रेज गभर्नर जनरल माउन्ट बेटनले ‘दी फेमस’ टाइटल दिएको भन्ने गफ लगाएको र बर्मा फ्रन्टमा लड्ने कुनै पनि पल्टनलाई कुनै पनि टाइटल नदिएको समेत बताएका थिए।

तत्कालीन बृटिस सरकारको अनुरोधमा नेपालबाट खटिई गएको पल्टनहरूमध्ये ‘श्री शेर बटालियन’ पनि रहेको थियो। २००२ साल (सन् १९४४ अप्रिल ५) मा भारतको नागाहिल डिस्ट्रिक (नागाहिल जिल्ला)को ट्रेजरी हिल कब्जा गर्ने बहादुरी काम शेर बटालियनको ‘बी’ कम्पनीले गरेको थियो।

सोही ‘बी’ कम्पनी ट्रेजरी हिल कब्जा गर्न दुस्मन विरुद्ध अगाडि बढ्दै जाँदा उक्त कम्पनीको नं. ११ सेनामुख (से.मु.) पति सुबेदार शैलेन्द्रबहादुर महत मातहतका सेना अचानक दुस्मनको एम्बुसमा पर्न गए। बडो आपतको बेलामा पनि महतले धैर्यसाथ दुस्मनविरुद्ध कारबाही गरी दुस्मनलाई सखाप पारे।

मिर्मिरे उज्यालो नहुँदै महतको नेतृत्वद्वारा ट्रेजरी हिल कब्जा भएरै छाड्यो। जुन घटना अंग्र्रेजका लागि जादु गरेझैं भयो। यस बहादुरीबापत महतले बृटिस सरकारका तर्फबाट मिलिटर क्रस पाएका थिए।

श्री श्रीनाथ गणको गणपति छँदा कान्ति राजपथ (टीकाभैरव बाटो) निर्माण कार्य र उत्तरी सीमा प्रशासक हुँदा मुस्ताङमा भएको खम्पा निःशस्त्रीकरण कार्यमा उनको अतुलनीय योगदान रहेको छ।

सहायक रथी दयाबहादुर खाँड

ललितबहादुर खाँडका नाति, गोविन्दबहादुर खाँडका छोरा सहायक रथी दयाबहादुर खाँड १९७१ साल असार १० मा पाल्पाको तानसेनमा जन्मेका खाँडले १९९४ वैशाख ६ गते सिधै सुबेदार पदमा नियुक्ति पाई सहायक रथीसम्म पदोन्नति भएर २०२२ साल असोज १५ मा अवकाश प्राप्त गरेका थिए। उनको २०४१ कात्तिक ३ मा निधन भएको थियो। बर्माको सन्जीनाक स्थानमा रहेको दुस्मनको डिभिजन हेडक्वाटरमा हमला गर्नु थियो। जसमा श्री महिन्द्र दलको क्याप्टेन दयाबहादुर खाँडकै कम्पनी खटिएको थियो।

यस लडाइँमा गएको कम्पनीलाई चारैतर्फबाट दुस्मनले घेरा हालेका थिए। तर कम्पनी कमान्डरको कुशल रणनीतिबाट उल्टै दुस्मनलाई नै घेरामा पारेर सो ठाउँमा हमला गरी आपूmलाई दिएको टास्क (काम) सफलताका साथ फत्ते गरेबापत उनलाई ‘मेन्सन इन ए डिसप्याच’द्वारा कदर गरिएको थियो।

त्यस्तै मायोटा नामक डिस्ट्रिकको रेल्वे स्टेसनमा दुस्मनसँगको भिडन्तमा उनले देखाएको बहादुरीको कदरस्वरूप उनलाई बृटिस सरकारले मिलिटरी क्रस प्रदान गरेको थियो। उनी २०१४ सालमा श्री कालीबहादुर बटालियनको कमान्डिङ अफिसर पनि भएका थिए।

सहायक रथी चुत्रबहादुर थापा

चुत्रबहादुरको जन्म ललितपुरको इमाडोलमा १९७२ साल चैत ७ गते आइतबार भएको थियो। उनका बाजे कुलमानसिंह थापा, बुबा गुञ्जमानसिंह थापा र आमा इन्द्रकुमारी थापा हुनुहुन्थ्यो।

चुत्रबहादुर १९९० पुस २२ मा नेपाली सेनाको सिपाहीमा भर्ना भएका थिए। थापा कालीबहादुर गणको ‘डी’ कम्पनी, नम्बर १ प्लाटुनको नम्बर १ सेक्सन कमान्डर भई बर्मा गएका थिए। बर्मा पुगेपछि नै १९९८ असार ३२ गते उनी जमदारमा पदोन्नति भई ‘ए’ कम्पनीको नम्बर एक प्लाटुनको प्लाटुन कमान्डर भएका थिए।

छैटौं गोर्खा राइफलका कप्तानहरू आएर कालीबहादुर गणलाई विभिन्न किसिमका सैनिक तालिमका साथै कडाइसाथ पेसावर भन्ने ठाउँमा लगे। त्यहाँ गर्मी, जाडो, भोक, प्यास, निन्द्रा खप्न सक्ने खालका युद्धकला सिकाइयो।

हमला गर्ने र डिफेन्स पोजिसनमा रहँदा आफ्नो बचाउ राख्ने, ओभर हेड प्रोटेक्सनसहित बङ्कर र ट्रेन्चहरू खन्ने र बनाउने आदि कामको कडा तालिम दिइयो। पलेल भन्ने ठाउँको ‘लङ ट्री हिल’ र ‘टेंगोफल’ भन्ने ठाउँ कालीबहादुर गणको जिम्मेवारी एरिया परेको थियो।

 शत्रु पक्षको सबैभन्दा अगाडिको र खतरनाक डिफेन्स पोजिसन ‘लङ ट्री हिल’का शत्रुलाई मार्ने र भगाउने काम गरी उक्त पोजिसन कब्जा गर्नु भन्ने बटालियन कमान्डरबाट ‘ए’ कम्पनी कमान्डरलाई आदेश भयो।

आदेशानुसार जमदार चुत्रबहादुरले आफ्नो मातहतका बहादुर सेनालाई साथमा लिएर सन् १९४३ जुन ११ मा हमला गर्ने योजनानुसार पूर्ण तयार गरी अलराउन्ड डिफेन्स पोजिसनमा राखे।

त्यसबेला शत्रु सेना आआफ्ना हातहतियार र इक्युपमेन्टहरू एक ठाउँमा जम्मा गरी सेन्ट्रीको रेखदेखमा छोडेर डिफेन्स पोजिसनलाई अझै बलियो बनाउनका लागि रूखहरू काटेर ल्याई ओभर हेड प्रोटेक्सनसहितका बङ्कर र ट्रेन्चहरू बनाउन लागेका थिए।

सोही मौका छोपी उनले बनाएको एट्याक प्लानबमोजिम आफ्ना बहादुर सेनालाई ‘छिटो अगाडि बढ्ने र शत्रुलाई मारेर दुस्मनको पोजिसन कब्जा गर्ने’ भन्ने आदेश दिई मध्यदिनमै अचानक हमला गरी शत्रुहरूको डिफेन्स पोजिसनभित्रै पसेर २० जनाभन्दा बढी शत्रुलाई मारी बाँचेकाहरूलाई भगाई उक्त पोजिसन र थुप्रै हातहतियार कब्जासमेत गरे। सोही विवेकी, बहादुरी र जोखिमपूण कार्य गरेको कदरस्वरूप बृटिस सरकारबाट चुत्रबहादुर थापालाई एमसीको तक्मा प्राप्त भएको थियो।

२००१ साल साउन ३ मा नेपाली फौज विश्वयुद्धबाट फर्केर आएको थियो। २०५३ साल चैत १९ गते जनरत थापाको निवास काठमाडौंंको नक्सालमा भेटेर मैलेसमेत उनको टिपोट पुस्तिका हेरेको थिएँ।

त्यहाँ उल्लेख भएअनुसार बर्माको लडाइँमा कालीबहादुर गणबाट वीरगति पाउनेहरूमा कोहीमा सिमेट्रीमा हुद्दा कृष्णबहादुर गुरुङ, हुद्दा मानबहादुर गुरुङ, हुद्दा रत्नबहादुर गुरुङ, लेस नायक मानबहादुर गुरुङ, सिपाही इन्द्रबहादुर गुरुङ, सिपाही लालबहादुर गुरुङ र सिपाही मुक्तबहादुर गुरुङको अन्त्येष्टि गरिएको थियो।

इम्फाल सिमेट्रीमा जमदार तेजबहादुर थापा, सिपाही बम्बबहादुर गुरुङ, सिपाही वीरध्वज गुरुङ, सिपाही धनु गुरुङ, सिपाही तेजबहादुर गुरुङ, सिपाही कुलबहादुर गुरुङ, सिपाही पद्मबहादुर गुरुङ, सिपाही शेरबहादुर खत्री, सिपाही तेजबहादुर गुरुङ, सिपाही कृष्णबहादुर गुरुङ र नन कम्बान्डियन्ट (परिचर) गर्वनाथको अन्त्येष्टि गरिएको थियो। त्यहाँ महेन्द्र दल गणका १४ जना, शेर गणका २१ जना र पायनियर गणका १७ जनाले वीरगति पाएका थिए।

यहाँ उल्लिखित संख्यालाई लेखकले नेपाली जंगी अड्डामा भएको अभिलेखसँग तुलना गरेको छैन। चुत्रबहादुर थापाले सेनानीबाट राजाका एडिसी भई ३४ वर्ष सेवा गरी २०२३ साल वैशाख ५ गते सहायक रथीको दर्जाबाट अवकाश प्राप्त गरेका थिए।

लेफ्टिनेन्ट कर्नेल बलबहादुर सिलवाल

काठमाडौंको थानकोट, वनस्थली निवासी रणसुर सिलवालका नाति, भक्तवीर सिलवालका छोरा तत्कालीन महिन्द्र दल पल्टनका कम्पनी कमान्डर क्याप्टेन बलबहादुर सिलवालको जन्म १९६१ चैत्र ७ मा भएको हो।

१९ वर्षको उमेरमा नेपाली सेनामा भर्ना भएका सिलवालको लेफ्टिनेन्ट कर्णेल दर्जासम्म पदोन्नति भई २००९ सालमा श्री श्रीनाथ बटालियनको कमान्डिङ अफिसर अर्थात् गणपति भएका थिए। ३२ वर्षसम्म अविच्छिन्न नोकरी गरी सेनाबाट अवकाश पाएका सिलवालको ८१ वर्षको उमेरमा २०४२ फागुन १८ गते निधन भएको थियो।

द्वितीय विश्वयुद्धमा लडाइँ लड्दा बृटिसको नं. २६८ बृगेड कमान्डरको आदेशअनुसार बर्माको अनामियो नजिक नाटमी भन्ने स्थानमा महिन्द्र दल पल्टनको ‘बी’ कम्पनीमा करिब ८० जवान फौजले जापानी सेनाको दुई मिडियम ट्याङ्क, एटी काटुनहरूसहित करिब ६०० जवानको फौज फिर्ता हुने क्रममा १९ मे १९४५ को राति नौ बजेदेखि एघार बजेसम्म दुस्मनलाई एम्बुस थापी आफ्नो तर्फबाट एक जवान पनि नोक्सान नगराई जापानीतर्फ अन्दाजी ५७ जवानको मृत्यु, ८० जवान घाइते गराई कारबाही सफल गराएबापत क्याप्टेन सिलवालले मिलिटरी क्रस पाएका थिए।

अन्तमा, लेखकले माथि उल्लेख गरिएका युद्धमध्ये दुई जनालाई भेटेको र अन्यका परिवारलाई समेत भेटेर सोधखोज गर्दा सबैको एउटै भनाइ के थियो भने युद्धभूमिमा बहादुरी देखाएबापत ब्रिटिस सरकारले भिक्टोरिया क्रस (भिसी) दिन्थ्यो।

सो तक्मालाई ब्रिटिस राजारानीले समेत सम्मान गर्नुपर्ने र तक्मा अत्युच्च तहको भएकाले नेपालका राणा प्रधानमन्त्रीहरूले पनि तक्मा पाउने नेपालीलाई सम्मान गर्नुपर्ने प्रावधान थियो।उच्च पदस्थले सम्मान गर्नुपर्ने नियम बदल्नकै लागि नेपाल सरकारले भिसीको सट्टा एमसी दिन सिफारिस गरेको थियो।

नेपालको सरकारले आफ्नै देशका वीर योद्धाको अवमूल्यन गर्‍यो भन्ने गुनासो वीर योद्धाहरूको थियो। यसबारे लिखित अभिलेख भने पाइँदैन। युद्धमा सहभागीहरूले सुनाएका कुरा नै इतिहास बनेका छन्।  

प्रकाशित: १९ फाल्गुन २०८० १०:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App