२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

तलब माग गर्दै सिम्रौनगढका कर्मचारीहरु धर्नामा

तलबको माग गर्दै कोलनिकामा धर्नामा बसेका नगरपालिका कर्मचारीहरू।

विगत सात महिना देखि तलब सुविधा नपाएको भन्दै सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरुको एक समूहले कोष तथा लेखा नियन्त्रक कार्यालय कलैयामा धर्ना दिएकाे छ।

गत कात्तिक ३ गते आर्थिक वर्ष २०८०/८१ को लागि सातौँ नगर सभाले ७४ करोड ४६ लाखको अनुमानित बजेट सहित स्वीकृत गरेको थियो। साे बजेटमा नीति तथा कार्यक्रम नै प्रक्रिया पुरा नगरी बजेट स्वीकृत गरेको भन्दै कोषले नगरपालिकाको खाता बन्द गरिदिएको थियाे। जस कारण कर्मचारीहरूलाई नगरपालिकाबाट दिइने तलब सुविधा पनि रोकिएको छ।

बुधबार कर्मचारीहरुले नगरपालिकामा गर्नुपर्ने धर्ना कोषकाे कार्यालयमा गरे। सरोकार नै नभएको कोष कार्यालयमा धर्ना दिन उनीहरुलाई सिम्रौनगढका नगर प्रमुख किशोरी साह कलवारले नै सल्लाह दिएको कर्मचारी बताउँछन्।

सिम्रौनगढका प्रमुख कलवारले पनि आफूले नै कर्मचारीहरू तलब कोष तथा लेखा नियन्त्रकसँग माग गर्न भनेको स्वीकार गर्छन्। 

‘कर्मचारीहरुको तलब निकासा गर्न नगर सभाबाट भएको निर्णय पेश गर्दा समेत नगरपालिकाको खाता खोलेर रकम निकासा नगरेपछि कर्मचारीहरूलाई मैले नै कोष तथा लेखा नियन्त्रक कार्यालयसँग तलब माग्न भनेको हुँ।’ उनी भन्छन्।

यता कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख वीरेन्द्र घिमिरेले प्रक्रिया पुरा गरेर नआएको भन्दै सिम्रौनगढ नगरको खाता नखोलिएको बताए।

‘प्रक्रिया पुरा नभएपछि खाता खोलिएको छैन। सोही कारण कर्मचारीहरूलाई तलब पनि दिन सकिएन।’ उनी भन्छन् ‘प्रक्रिया पुरा गरेर निकासा माग्न पटक पटक आग्रह गर्दा समेत नगर प्रमुख लगायत जनप्रतिनिधि र कर्मचारीहरुले अनावश्यक दबाब दिने गरेका छन्।’

के हो सातौँ नगर सभाको विवाद ?

गत असोज ३० गते पत्राचार गरी सातौँ नगर सभा कात्तिक ३ गते बिहान ७ बजे देखि नगरपालिकाको सभा कक्षा गरिने र त्यसमा सहभागी हुन भनिएको थियो।

नगर सभामा सहभागी हुन आउँदा नगर प्रमुख कलवारले नगर सभामा उपस्थित नै नभई बाहिरबाटै विज्ञप्ति निकालेर नगर सभा सम्पन्न भएको जानकारी गराएको आरोप उप–प्रमुख नजमु शेहरले लगाइन्।

सिम्रौनगढ नगरपालिकामा ५९ जना कार्यपालिका सदस्यहरु रहेकोमा ३९ जना नगर सभा सदस्यहरूले किर्ते नगर सभा खारिजीको माग गर्दै तालाबन्दी समेत गरे।

स्थानीय सरकार सञ्चालन ऐन नियमावलीमा उप–प्रमुखले नगर सभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भनिए पनि नगर प्रमुखले उप–प्रमुख लगायत कार्यपालिका सदस्यहरुलाई सभा हलमा बोलाउने र बाहिर नगर सभा भएको विज्ञप्ति निकालेर जानकारी गराउनु अमान्य रहेको उप–प्रमुख शेहरले आरोप लगाइन्।

गत आर्थिक वर्ष २०७९/८० को बजेट रकम खर्चका लागि छैँठौँ नगर सभाबाट एक वर्षको लागि इन्धनमा ६० लाख रुपैयाँ छुट्टाइएकोमा दुई करोड जति खर्च देखाइ बजेटमा नगर प्रमुखले अनियमित गरेको वडा नम्बर–४ का वडा अध्यक्ष अवधेक सहनीकाे आरोप थियो।

नगर प्रमुख कलवारले आफूलाई मन लागेको शीर्षकमा निर्णय बिना नै करोडौँ रकम अनियमितता गरेको र सो अनियमितता ढाकछोप गर्न खर्च सार्वजनिक नगरी भाग्दै हिँडेको भन्दै उनले आरोप लगाएका थिए।

नगर प्रमुख कलवारले प्रक्रिया पुरा गरेर नै सातौँ नगर सभाले आर्थिक वर्ष २०८०/८१ को लागि ७४ करोड ४६ लाखको अनुमानित बजेट सहित नीति तथा कार्यक्रम पारित गरेको दाबी गर्दै आएका छन्।

प्रकाशित: १६ फाल्गुन २०८० २०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App