२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सशस्त्र प्रहरीको चन्द्रागिरी केबलकारमा उद्धार अभ्यास

सशस्त्र प्रहरी बल, नेपाल नं.९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बुको आयोजना र चन्द्रागिरी हिल्स प्रा.लि.को सहकार्यमा सञ्चालित ३ दिने चन्द्रागिरी केबलकार आपतकालिन उद्धार अभ्यास सकिएको छ।

केबुलकारमा मानिसहरु फसेमा कसरी उद्धार गर्ने भन्ने विषयमा गरिएको अभ्यासमा सशस्त्र प्रहरीका कर्मचारीहरू सहभागी भएका थिए। उद्धार अभ्यासमा सशस्त्र प्रहरी बल,  पशुपतिनाथ बाहिनी मुख्यालयको तर्फबाट डिएसपी कमल बहादुर अधिकारीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त २६ जना र चन्द्रागिरी हिल्सको तर्फबाट मेकानिकल इन्जिनियर मधुकर बलामीको कमाण्डमा ८ जना गरी जम्मा ३४ जना उद्धारकहरू सहभागी भएका थिए। 

आपत्कालीन उद्धार अभ्यास कार्यक्रममा सशस्त्र प्रहरी बल, पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपति डिआइजी पुरूषोत्तम थापाले नागरिकको सेवा र सुरक्षालाई प्राथमिकतामा राख्दै सशस्त्र प्रहरीले पछिल्लो समयमा बीआइआरडी अन्तर्गत बोर्डर सेक्युरिटी, आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन अवधारणालाई प्राथमिकतामा राखेको विभिन्न कार्यक्रमहरू गरिरहेको बताएका थिए। उनले सोही अवधारणा अनुसारको एउटा कार्य विपद् व्यवस्थापन पनि रहेकाले यसलाई थप प्रभावकारी बनाउँदै लैजाने सङ्गठनको नीति अनुरूप सरोकारवाला जुनसुकै निकायसँग समन्वय र सहकार्य गरी विपद्बाट हुने जोखिम तथा क्षति न्यूनीकरण गर्नको लागी सशस्त्र प्रहरी सदैव तत्पर रहेको  बताएका थिए।

कार्यक्रममा चन्द्रागिरी हिल्सका कार्यकारी निर्देशक अरुण प्रधानले सशस्त्र प्रहरीले हालका दिनहरूमा विपद् व्यवस्थापनको क्षेत्रमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै  यस्तो उद्धार  अभ्यासले आगामी दिनमा हुन सक्ने केबलकार आपत्कालीन अवस्थामा उद्धार तथा व्यवस्थापन गर्न दुई संस्था बिचको क्षमता अभिवृद्धि भएको बताएका थिए। उद्धारमा खटिएका उद्धारकर्मीहरूको पनि प्रधानले प्रशंसा गरेका थिए। कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रतिनिधि, उपत्यका स्थित स।प्र।बल, नेपालका गणहरू तथा गुल्मका प्रमुखहरू, स्थानीय जनप्रतिनिधिहरू र सञ्चारकर्मीहरूको उपस्थित रहेको थियो।

सशस्त्र प्रहरीका डिआइजी थापाले अभ्यासको उद्देश्य नेपालमा उदयीमान केबलकार प्रविधिमा हुन सक्ने जुनसुकै आपत्कालीन अवस्थामा उद्धार तथा व्यवस्थापनको लागी सशस्त्र प्रहरी बल, नेपाल र केबलकार सञ्चालकहरू बिच आ–आफ्नो मानव संसाधन, स्रोतहरूको अवस्था, सामर्थ्य एवं दुई संस्थाहरू बिचको सहकार्यलाई प्रभावकारी बनाउँदै समग्र केबलकार प्रविधिलाई पूर्णतः सुरक्षित बनाउनु रहेको जानकारी गराएका थिए।

प्रकाशित: १५ फाल्गुन २०८० १७:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App