७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

हात्तीले दिएका दुःख हात्तीभन्दा ठुला!

देवी कार्की फूलमाया विक

साउनमा मानो छरेर मंसिरमा मुरी भित्र्याउने आम किसानको चाहना हुन्छ। भकारीमा अन्न भित्र्याएसँगै उनीहरूले अनेकौं रहरका सपना बुनेका हुन्छन्। तर कोसी प्रदेशका हात्तीपीडित किसानले भने यस्तो सपना देख्दैनन्।

विपनामा मात्र हैन, सपनामा पनि हात्तीको त्रास छाउने उनीहरू सुनाउँछन्। ‘खेतमा छउन्जेल खेतमै गएर अन्न खाइदिन्छ,’ झापा बाहुनडाँगीकी फूलमाया विकले भनिन्, ‘भकारीमा भित्र्याए पनि फोडेर खत्तम पारिदिन्छ।’ विगतमा साहुको दुई बिघा जमिन अधियाँमा लिएर खेती गर्ने गरेकी उनी अहिले १० कट्ठामा सीमित छिन्।

‘जोगाउन पाए यही १० कट्ठाको आम्दानीले पनि पेट भरिन्छ,’ उनले भनिन्, ‘भिœयाउन नसके दुई बिघामा फलाए पनि पेट भरिन्न।’

साहुलाई आधा अन्न बुझाएर जेनतेन जीविका चलाउँदै आएकी उनी हरेक सालजसो हात्तीलाई पुरै भाग बुझाउनुपर्ने जस्तो अवस्था आएको गुनासो गर्छिन्।

विकको जस्तै गुनासो छ, कार्कीगाउँकी ७७ वर्षीया देवी कार्कीको पनि। उनी  पाखुरीको बलभन्दा पनि हात्तीको निगाहमा बाँच्नुपरेको सुनाउँछिन्। ‘कति उत्पादन हुन्छ भन्ने होइन,’ उनले भनिन्, ‘हात्तीले जति छाडिदिन्छ त्यति खाने हो।’

बडेमानका हात्ती जंगलबाट लम्कँदै गाउँमा पस्दा आफूहरू आत्तिने गरेको कार्कीले सुनाइन्। ‘खेत छ तर भर छैन,’ उनले भनिन्, ‘कुनै साल भकारी भरिन्छ, कुनै साल रित्तो।’ हात्तीले बालीनाली खाँदै गएपछि किसानले नयाँ तरिका नअपनाएका पनि होइनन्। अर्थात् उनीहरूले हात्तीले मन नपराउने बालीनाली पनि लगाए। तर जति गरे पनि समस्याको समाधान ननिस्केको कार्की सुनाउँछिन्। ‘मकै खान्छ भनेर तोरी लगायौं,’ उनले भनिन्, ‘त्यही पनि माडिएर सखाप हुन्छ।’

जंगली हात्तीका कारण अन्न मात्र होइन, किसानको जीवनसमेत जोखिममा परेको छ। अन्न जोगाउन भन्दै हात्ती खेद्न थालेका किसानहरू आक्रमणमा परेका छन्। ‘कहिलेकाहीँ त भोकै मर्नुभन्दा लखेटेर मर्नु बेसजस्तो लाग्छ,’ विमला लुंगेलीले भनिन्, ‘हात्तीले भकारीसँगै पेट पनि रित्तो पारिदिन्छ।’

हात्ती र सर्वसाधारणबीचको दशकौंको यो द्वन्द्वबाट हात्ती र मान्छे दुवै जोखिममा परेका छन्। आँकडाअनुसार हात्तीका कारण भएका सयौं घटनामा एक सालमा एक हात्ती र ६ व्यक्तिको मृत्यु हुने गरेको देखिएको छ।

नेपालको मेचीपारि भारतमा महानन्दा वन्यजन्तु निकुञ्ज छ। पश्चिम बंगालको वन्यजन्तु संरक्षण गरिने उक्त जंगलमा आसामदेखि आउने हात्तीले बासस्थान बनाउने गरेका छन्। भारतको पश्चिम बंगाल र आसामसम्म फैलिएको करिडोरमा हात्तीले कैयौं पुस्तादेखि नेपालको कोसी टप्पुसम्म विचरण गर्दै आएको विश्वास गरिन्छ।

भारतको आसामदेखि नेपालको कोसी टप्पुसम्म हात्तीको पुख्र्यौली विचरण क्षेत्र भएरै होला, ‘हात्तीको कुनै देश हुँदैन’ भन्ने मान्यता यहाँ छ। यहाँ आउने हात्तीहरू कैयौं पुस्तादेखि सीमावारपार ओहोरदोहोर गरिरहेका छन्।

हात्तीको क्षतिबाट आजित झापा बाहुनडाँगीका किसानले केही समयअघि हात्तीमैत्री अवधारणाअन्तर्गत सामूहिक खेती सुरुआत गरेका छन्। हात्तीको प्रवेशलाई निषेध गर्न नसकेपछि उनीहरूले हात्तीमैत्री अवधारणा प्रयोगमा ल्याएका हुन्।

हात्तीले नष्ट नगर्ने कोदो, तोरी, रहरी दाल, अदुवा, बेसार, पिँडालुजस्ता तरकारीको खेतीमा किसान लागेका छन्।

यति गर्दा पनि हात्तीबाट बाली नोक्सानी नरोकिएपछि प्रदेश सरकारले बिमाको पहल पनि गरेको छ। हरेक स्थानीय तहमा वडाले पनि किसानलाई सघाउन थालेका छन्। किसानले जग्गा वरिपरि अहिले तरुल रोपेका छन्। बजारमा बिक्ने र हात्तीले भरसक नोक्सानी नगर्ने खालका तरकारी बालीको उत्पादनमा किसानले जोड दिएका छन्।

कोसी प्रदेश सरकारले बाली बिमा अभियानलाई पनि तीव्र बनाएको छ। जसका कारण जीवनरक्षामा सहयोग पुग्ने प्रदेश सरकारको विश्वास छ। त्यस्तै प्रदेश सरकारले घर बिमाको योजना पनि अगाडि बढाएको छ।

‘अन्न जोगाउन खोज्दा किसानको जीवन जोखिममा परेकाले बिमाको अवधारणा ल्याएका हौं,’ कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले भने, ‘यो अभियानबाट पनि जनक्षति कम हुने विश्वास लिएका छौं।’

किसानका यस्तै खाले समस्या बुझ्न बुधबारबाट एक साता लामो हात्तीमैत्री पदयात्रामा निस्केका मुख्यमन्त्री कार्कीले यात्राले समाधानमा सहयोग पुर्‍याउने विश्वास राखेका छन्। ‘हामी समाधानको आशा बोकेर हात्ती करिडोरमा हिँडिरहेका छौं,’ मुख्यमन्त्री कार्की भन्छन्, ‘यसले समाधानको सही बाटो देखाउनेछ।’

हात्तीको परम्परागत जैविक मार्गको पुनःस्थापना तथा बासस्थानको संरक्षण एवम् मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यका साथ कोसी प्रदेशले बुधबारबाट सुरु गरेको पदयात्रामा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको छ।

यात्राका क्रममा हरेक गाउँ र चोकमा भेला भएका सर्वसाधारणले हात्तीबाट भोगेका पीडा र सिकेका पाठसहितको ज्ञापनपत्र मुख्यमन्त्रीलाई बुझाउने गरेका छन्।

संरक्षणमा सहअस्तित्व र हात्तीमैत्री पर्यापर्यटनको विकास गर्ने यस नौलो योजनाले स्थानीयलाई आशा जगाएको छ। ‘यो नौलो र सकारात्मक अभियानजस्तो लाग्यो,’ कनकामाईका विशाल भुजेलले भने, ‘यसबाट समाधानको बाटो निस्कने आशा लिएका छौं।

प्रकाशित: १३ फाल्गुन २०८० ०६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App