८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

प्रसुति गृहबाट चोरिएको शिशु भेटियो, गर्भ खस्ने समस्याले आजित भएर चोरी

थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पातलबाट शुक्रबार चोरी भएको शिशु चोरीमा संलग्न महिलासहित फेला परेको छ। सिसिटिभी फूटेज पछ्याउँदै जाँदा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले शुक्रबार राति १२ बजे नै काँडाघारीबाट शिशुको उद्धार गरी चोरीमा संलग्न महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दैलेख घर भएकी मनकुमारी सिंह रहेको प्रहरीले जनाएको छ।

काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घरभई अहिले कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठले शुक्रबार २६ दिनको शिशुसहित नियमित चेकजाँचका लागि प्रसूति गृह आएकी थिइन्। सोही क्रममा सहयोग गर्ने बहानामा सिंहले बच्चा समातेकी थिइन्। त्यसपछि थाहा नदिई बच्चा बोकेर त्यहाँबाट निस्केकी थिइन्। त्यहाँबाट निस्किएर उनले ट्याक्सी लिई पेप्सीकोलासम्म ट्याक्सीमा गएकी थिइन्। पेप्सीकोलाबाट भने झण्डै डेढघन्टा पैदल हिँडेको देखिएको प्रहरीले जनाएको छ।

बच्चा नबस्ने समस्या भएपछि चोरी 

प्रहरीका अनुसार पक्राउ परेकी सिंहले आफ्नो पेटमा गर्भ नटिक्ने समस्या भएकाले शिशु चोरेको स्वीकार गरेकी छन्। प्रहरीका अनुसार सिंह अन्दाजी २४/२५ वर्षकी छन्। उनको तीनचार वर्षअघि जति विहे भएको देखिन्छ। उनका श्रीमान नेपाली सेनामा कार्यरत छन्।

सिंहले प्रहरीसँग विहेपछि पटकपटक गर्भ बसे पनि खस्ने गरेको बयान दिएकी छन्। पछिल्लो पटक पनि उनी गर्भवती थिइन्, तर केही समय अघि खसेको देखिन्छ।

यही मौकामा सिंहले प्रसुति गृहबाट बच्चा चोरेर लगेपछि आफू प्रसुति भएको भन्दै छिमेकीलाई जानकारी दिएको प्रहरी अनुसन्धानमा देखिएको छ। बच्चा लगेपछि एक किलोमिटरअघि उनले आफ्नो दिदीलाई बोलाएकी थिइन्। प्रहरीले ती दिदीलाई पनि नियन्त्रणमा लिएको छ।

‘गर्भ खस्ने समस्या भएकाले आजित भएर शिशु चोरीको योजना बनाएको जस्तो देखिएको छ,’ जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकारीले भने,‘चोरेर लगिसकेपछि पनि आफन्त, छरछिमेकमा आफैले जन्म दिएको भनेर भनेको देखिन्छ। अनुसन्धान चलिरहेको छ, पछि थप विवरण आउला।’

शिशु नियन्त्रणमा लिएपछि मध्यराति नै उनको परिवारको जिम्मा लगाइएको छ। उता प्रहरीले सेनामा कार्यरत सिंहका श्रीमानलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। ‘अवस्था हेर्दा श्रीमान पनि यो मामिलामा निर्दोष देखिन्छन्,’ ती प्रहरी अधिकारीले भने।

प्रकाशित: १२ फाल्गुन २०८० ०८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App