१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कर्णालीमा कुपोषण घटाउन पौष्टिक चामल

कर्णालीमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल वितरण शुभारम्भ कार्यक्रममा सहभागी। तस्बिर : नागरिक

कर्णालीका पाँच जिल्लामा कुपोषण दर घटाउन पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल सहुलियत दरमा वितरण हुने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल वितरण गर्ने भएको हो।

पौष्टिक तत्व भएको चामल वितरणका लागि मेसिनरी तथा अन्य सामग्रीहरू विश्व खाद्य कार्यक्रमको सहयोगमा बर्दियाको राजापुर र जनकपुरमा जडान  गरी परीक्षण उत्पादन समेत सफल भएपछि पोषणअवस्थामा सुधार ल्याउनका लागि साविकको कर्णालीका पाँच जिल्ला हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पामा वितरण गरिने भएको हो।

जिङ्क, भिटामिन बि १२, फोलिक एसिडजस्ता अत्यावश्यक सुक्ष्म पोषक तत्वको कमीका कारण पुड्केपाना, कम तौल र रक्तअल्पताको शिकार भईरहेको सर्वेक्षण भईरहेको बेला विश्व खाद्य कार्यक्रम र सरकारी कार्यालयहरूविचको समन्वयमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल बजारमा ल्याईएको हो।

विश्व खाद्यले मिलमा आवश्यक पर्ने मेसिनरीहरू, पौष्टिक तत्व स्तरोन्नति गर्ने आवश्यक पर्ने पोषक तत्व थप गरिएको चामलको दाना ७३ मेट्रिक टन तथा गुणस्तर परीक्षणका लागि आवश्यक पर्ने प्रयोगशालाका सामग्रीहरू अनुदानमा उपलब्ध गराएको जनाईएको छ।

चामलमा आइरन, जिङ्क, भिटामिन ए, फोलिक एसिड, भिटामिन बि १, बि ३, बि ६ र बि१२ थप गरिएर बनाईएको हुन्छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मिलहरूबाट चामल उत्पादन गरेर खाद्य असुरक्षा तथा कुपोषणको दर बढी भएका कर्णालीका मुगु, हुम्ला, जुम्ला, डोल्पा र कालिकोट जिल्लामा सहुलियत मुल्यमा बिक्री गर्ने योजना रहेको छ।

सबै जिल्लामा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पुगीसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद चन्दले बताए।

२०७२ सालमा पौष्टिक तत्व स्तरोन्नति चामलबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र विश्व खाद्य कार्यक्रमले सम्भाव्यता अध्यायन गरेका थिए।  सन् २०३० सम्म कर्णालीका पाँच जिल्लामा कुपोषण न्यूनिकरण गर्ने लक्ष्य रहेको जनाइएको छ।

प्रकाशित: १० फाल्गुन २०८० ०७:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App