१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

विश्व सामाजिक मञ्च सम्पन्न

‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ यही फागुन ३ देखि काठमाडौंमा सुरु भएको विश्व सामाजिक मञ्च सोमबार सम्पन्न भएको छ। विश्वका ६ महादेशका ९८ राष्ट्रका एक हजार चार सय बढी सामाजिक संस्था र त्यसमा आबद्ध अभियन्ता काठमाडौंमा भेला भई नवउदारवादी व्यवस्थाले ल्याएका युद्ध, असमानता, विभेद, गरिबी, आप्रवासन, जलवायु परिवर्तन जस्ता संकट तथा मुद्दामा सशक्त अवाज उठाएको मञ्च आयोजकले जनाएको छ।

फागुन ३ गते सांस्कृतिक झाँकीसहितको ऐक्यबद्धता र्‍यालीबाट यो सम्मेलनको सुरु भएको थियो। उद्घाटन समारोहमा ल्याटिन अमेरिकी देश क्युवाका राजनीतिक तथा मानवअधिकार अभियन्ता अलेदा ग्वेभेरा, भारतीय मानवअधिकारकर्मी मेधा पाटकर, राजनीतिकर्मी तथा अभियन्ता थोमस वाल्ग्रेन, किसान अधिकारकर्मी बुरी तुन्कारा गाम्बी, मानवअधिकारकर्मी ताला नासिर, अर्थशास्त्री तथा अभियन्ता जोमो कवैम सुन्दरम, दलित अधिकारकर्मी अशोक भारती, किसान अधिकारकर्मी वेन तैजुनलगायतले सम्बोधन गरेका थिए।

विश्व सामाजिक मञ्चमा १३ वटा विषयगत क्षेत्रअन्तर्गत आर्थिक असमानता, लैंगिक विभेद, मानवअधिकार, खाद्य सम्प्रभुता, जलवायु न्याय र यसका प्रभावहरू जस्ता विषय समेटर करिब चार सयभन्दा बढी सत्रमा प्रस्तुति, कार्यशाला, छलफल र अन्तरक्रिया भएका मञ्चद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ। विभिन्न सामाजिक आन्दोलनले आआफ्ना विषयहरू केन्द्रित ६० वटाभन्दा बढी घोषणापत्र जारी गरेका छन्।

कार्यक्रमकका आयोजक तथा सहभागीले कला, सांस्कृतिक कार्यक्रम, प्रदर्शनीलगायत अभिव्यक्तिका माध्यमबाट सामाजिक विभेद, गरिबी, भोकमरी, अशिक्षा, स्वास्थ्य समस्या, बेरोजगारी, असमानता, हिंसा, द्धन्द्ध, युद्ध आदि विरुद्धमा सम्पूर्ण विश्वको ध्यानाकर्षण गरेका छन्।

काठमाडौंबाट विश्वसम्म भन्ने नारा तय गरी सम्पन्न भएको विश्व सामाजिक मञ्चको कार्यक्रमअन्तर्गत विश्व महिला मञ्च, वल्र्ड डिगनिटी फोरम, श्रमिक अधिकार मञ्च, किसान अधिकार मञ्च, आदिवासी जनजाती मञ्च, मानवअधिकार सभा, बालबालिका सभा जस्ता अहिलेका मूल विषय र मुद्दामा व्यापक छलफल एवं बहस भएका छन्।

यी कार्यक्रमका सहभागीहरूले युद्ध, असमानता तथा समसामयिक विषयमाथि तीन दिनसम्म दैनिक चारवटा सत्रहरूमा मिश्रित सहभागिताको साथ प्रत्यक्ष तथा इन्टरनेटका माध्यमबाट प्रसारण गरिएका सत्रहरूमा झन्डै पचास हजार सहभागीहरूको उपस्थिति रहेको आयोजकको दाबी छ। 

प्रकाशित: ८ फाल्गुन २०८० १३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App