२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाल विवाहविरुद्ध देउडा प्रतियोगिता

जुम्लाको चन्दननाथ नगरपालिका १० पिपल गाउँकी देवकी (खत्री) गिरीले गाउँबस्तीमा बाल विवाहविरुद्धको देउडा भाका घन्काइन्। गिरीको समूहमा चारजना महिला सहभागी छन्। सो समूहले बाल विवाहलगायत सामाजिक कुरीतिविरुद्ध सचेतना फैलाइरहेको छ।

मेला पर्व, विवाह, भोजहरूमा वा कुनै पनि सुखद कार्यमा गाइने देउडा भाका उनीहरूले सन्देशमूलक बनाइरहेका छन्। उसो त उनको समूह सन्देशमूलक देउडा प्रतियोगितामा भाग लिएर राम्रो स्थान ल्याउँदै आएको छ।

सामान्य बोलीचालीका शब्द देउडा भाडामा प्रस्तुत हुने भएकाले स्थानीयले सहजै बुझ्ने गरेका छन्। ‘भाषण गर्दा, प्रशिक्षण दिइरहँदा धेरै शब्द नबुझिने हुन सक्छन्’, देवकीले भनिन्, ‘गाउँ टोलभित्रै बोलिने भाषाको प्रयोग हुने भएकोले छिटो सन्देश फैलाउन सकिन्छ। यो अहिलेसम्मको अनुभव पनि हो।’

देउडाबाटै उनीहरूले सामाजिक कुरीतिको अवस्था दर्शाउने गर्छन्। कुरीतिले गर्ने हानिनोक्सानी र जोगिने उपायका बारेमा राम्ररी लय मिलाएर सन्देश दिइरहेका हुन्छन्। पछिल्लो समयमा बालविवाह, छाउपडी प्रथाविरुद्धको सन्देश देउडाबाटै फैलाउने स्थानीय देउडा कलाकारका रुपमा परिचित छिन्।

यता गुठीचौर गाउँपालिका ४ उखाडी गाउँकी रामछाया पाण्डे धूमपान, मध्यपान, छाउपडी प्रथा, बाल विवाह, बहुविवाह अन्त्य, रैथाने बाली जोगाउने उपायका बारेमा देउडा भाका सुनाइरहेकी छन्।

सातजनाको उनको समूहले देउडाका विभिन्न भाका प्रयोग गरेर जनचेतना फैलाइरहेको छ। रामछाया भन्छिन्, ‘बाल विवाह फैलँदो अवस्थामा छ, जसले किशोरकिशोरीको स्वास्थ्य खतरामा देखिन्छ। अब सबै मिलेर समाजमा रहेको हानिकारक अभ्यास रोक्न हातेमालो गर्नुपर्छ। समाजमा सचेतना फैलाउने जेजति माध्यम छन्, ती सबैको प्रयोग गरेर अघि बढ्नुको विकल्प छैन।’

१३औं विश्व रेडियो दिवसका अवसरमा जुम्लामा तीन दिनदेखि बाल विवाहविरुद्धको सचेतनामूलक देउडा प्रतियोगिता भइरहेको थियोे। देउडामार्फत महिलाले बाल विवाह अपराध हो। बाल विवाह गर्ने–गराउने दुवैलाई कानुनी कारबाही हुनुपर्छ भन्ने सचेतना फैलाए।

उनीहरूले आफूहरुले बाल विवाह गरेका कारण पाठेघर खस्ने, बच्चामा कुपोषण हुने, शैक्षिक प्रगतिमा वाधा पुग्ने जस्ता समस्या भोगेको अनुभव सुनाउँछिन्। बाल विवाह गर्दा, छाउपडी प्रथा मान्दा हुने नोक्सानीले समाजमा अपूरणीय क्षति बेहोरिरहेको भाकामा समेटिएका थिए।

२० वटा देउडा समूह सहभागी भएको सो प्रतियोगितामा बाल विवाह नगर्न आग्रह गरे। उनीहरूले सबै मिले मात्र रोक्न सकिने भएकाले हातेमालो गरेर अघि बढ्न सुझाव दिए।

प्रतियोगितामा चन्दननाथ नगरपालिका १० पिपल गाउँकी देवकी (खत्री) गिरी कात्तिक स्वामी महिला देउडा समूहको लिडर हुन्। उनको समूहले प्रथम स्थान हासिल गरेको थियोे भने गुठीचौर गाउँपालिका ४  उखाडी गाउँकी रामछाया पाण्डेको सहिद गेट महिला देउडा समूह द्वितीय भएको छ ।

यस्तै दोहोरी गीत प्रतियोगिता पनि गरिएको थियोे। पाँचवटा समूह सहभागी भएका थिए। गुठीचौर ४ को राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्ला प्रथम भएको हो। चन्दननाथ ८ जातिभिड दोहोरी समूह द्वितीय भएको छ। क्रमशः देउडा र दोहोरी प्रतियोगितामा प्रथम, द्वितीय हुने समूहलाई पन्ध्र र दस हजार र प्रमाणपत्र उपलब्ध गराइएको खत्रीले बताए।

उनीहरूले अत्यधिक मदिरापान, लागुऔषधको दुव्र्यसनी रोक्दै सभ्य र सुसंस्कृत समाज निर्माणमा जुट्न आह्वानसमेत गरे। जुम्लाका एक नगरपालिका, सात गाउँपालिकाका ६० वटै वडामा सन्देशमूलक कार्यक्रम गरेर हानिकारक अभ्यास रोक्नसमेत देउडाबाटै उनीहरूले भनेका छन्।

जुम्लाका तीन सामुदायिक रेडियोहरूले देउडा प्रतियोगिताको आयोजना गरेर बाल विवाहविरुद्धको सन्देश फैलाउन मद्दत गरेका थिए। रेडियो कर्णाली एफएम जुम्लाका स्टेसन म्यानेजर गोर्खबहादुर थापाले सामुदायिक रेडियोहरूले समुदायसँग मिलेर सचेतना फैलाउने कार्य गरिरहेको बताए।

उनले भने, ‘समुदायमा रहेका कला र गलाको सम्मान गर्दै उनीहरूको प्रयोग र परिचालनका माध्यमबाट समाज परिवर्तनको सन्देश फैलाइरहेका छौं।’

प्रकाशित: ४ फाल्गुन २०८० १२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App