२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

छोरीको विवाह टार्न बिदेसिएका बाबु कतारमा अलपत्र

फाइल तस्वीर

छोरीलाई पढाइबढाइ ठुली बनाउँदैमा बाबुआमा जोगी भइसकेका हुन्छन्। छोरीलाई हुर्काएर मात्र पुग्दैन, विवाहको झन् ठुलो चपेटामा बाबुआमा पर्ने गर्छन्।  त्यसमा पनि मधेस प्रदेशतिरका बाबुआमालाई झन् धेरै तनाव छ। त्यहाँका बाबुआमाले छोरीको बिहे गर्दैगर्दा सारा सम्पत्ति सकिन्छ। साथै बिहेमा दहेज (दाइजो) कम भयो भने छोरीको पुरै जिन्दगीमा अन्धकार मात्र छाउँदैन उस्तै बेला ज्यानै जान सक्छ।

पढाइलेखाइमा अब्बल छोरीहरूको विवाह गराइदिन नसक्दा रौटहटका एक वृद्ध पिता बिदेसिनु परेको छ। एकै घरका राम सुधार साह सुडी र राम पुकार शाह सुडी दुई दाजुभाइ आफ्नी छोरीको बिहेका खातिर बिदेसिएका हुन्।

छोरीप्रतिको कर्तव्य पूरा गर्दा गर्दै विपन्नताले आक्रान्त उनीहरू कतार पुगेका थिए। कतार पुगेको करिब तीन महिना हुँदासम्म पनि उनीहरूले काम पाएका छैनन्। काठमाडौं सामाखुसीस्थित युरोसिया हुम्यान रिसोर्सेस् म्यानपावरद्वारा उनीहरू कतार गएका हुन्।

शाहका परिवारमा चार दाजुभाइमध्ये कतार पुगेका साइला र कान्छा भाइ हुन्। त्यस परिवाका साइला र कान्छा भाइका छोरीहरू ठुला भएकै कारण बिहेका लागि खर्च जुटाउन उनीहरू कतार पुगेका थिए। बिदेसिनुअघि उनीहरूले खेतीपाती गरेर घरको आर्थिक भार थामेका थिए।

कतार पुगेको महिनौं हुँदा पनि काम नपाएकै कारण उनीहरू अहिले आत्तिएका छन्। युरोसिया म्यानपावर कम्पनीका मार्केटिङ डाइरेक्टर ईश्वर कँडेलले दुई दाजुभाइबाट चार लाख ४० हजार रूपैयाँ असुल गरेर कतार पठाएका शाह परिवारका माइला भाइले बताए।

‘हाम्रो संयुक्त परिवार छ। कान्छा र साइला भाइका छोरी हुर्किसकेका छन्,’ उनले भने, ‘गाउँमा खेतिपाती गरेर गुजारा चलेको थियो। छोरीको बिहे गर्न हामीसँग त्यत्रो ठुलो रकम थिएन। त्यसैले भाइहरू कतार गएका थिए। म्यानपावरले नराम्रोसँग फसायो। त्यत्रो पैसा लिएको छ। तर, उता भाइहरूले काम पाएका छैनन्। त्यहाँ खानबस्न पनि राम्रो सुविधा दिएको छैन। म्यानपावरलाई नेपाल नै फर्काइदेऊ भन्दा हाम्रो कुरै सुन्दैन।’

रौटहटदेखि काठमाडौंसम्म भाइलाई कि काम लगाइदेऊ कि त नेपाल फर्काइदेऊ भन्दै शाह परिवारले युरोसिया म्यानपावरसँग धेरै पुकारा गरे पनि कुनै वास्ता नगरेको परिवाजनले बताएका छन्।

‘हामी धेरै पटक मार्केटिङ डाइरेक्टर कँडेलसँग भेट्न गयौं। घण्टौं भेट्न खोज्दा भेट नै भएन। दिनको चार घण्टासम्म पनि कुरेकै हो। यही कामका लागि कति दिन काठमाडौंमा बस्ने? कहाँ जाने? साह परिवारका माइला भाइले भने।

म्यानपावर धाउँदाधाउँदा थकित शाह परिवार बिदेसिएका भाइलाई कि काम दिनुपर्‍यो कि त नेपाल फर्काउनुपर्‍यो भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिन पुगेका थिए। उनीहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएको साता दिन हुँदै छ।

कतारमा आत्तिरहेका भाइहरूको उद्धारका लागि केही सहयोग मिल्छ कि भन्ने आशाका साथ उनीहरू वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेको प्रतीक्षामा घण्टौंघण्टा विभागबाहिरको ढोकामा कुरिरहेका हुन्छन्।

 ‘विभागमा उजुरी त दिएकै हौं तर कहिले के हुन्छ थाहा हुन्न। यही कामका लागि भनेर काठमाडौं आएका हौं,’ उनले भने, ‘विभागमा उजुरी दिइहाल्यौं अब किन बस्नु भनेर गाउँ फर्किन पनि नसकिने।

सरकारी काम हो, हामीले फलोअप गरिरहँदा त वास्तै गर्दैनन्। सर्वस्व बितिसक्दा पनि सरकारी कर्मचारीलाई केही बितेको हुँदैन। महानिर्देशकलाई भेटेर कुरा राख्दा भाइहरूको चाँडो उद्धार हुन्थ्यो कि।’

वैदेशिक रोजगारीको क्रममा अप्ठेरोमा परेपछि सबै पीडित विभाग धाउने गरेका छन्। तर, विभागका कर्मचारीले ती पीडितहरूको मर्मलाई बुझ्न सक्ने कुनै सामर्थ्य देखिँदैन।

कर्मचारीले एउटा फोनको भरमा म्यानपावर सही बाटोमा हिँड्छन् तर त्यसो गर्दैनन्। उनीहरू पीडितभन्दा धेरै पीडककै पक्षमा हुने गरेका धेरै पीडितको गुनासो छ।

भाइहरूले मोबाइलबाट कतारमा निस्तो भात र प्याज खाइरहेको फोटो शाह परिवारका माइला भाइले विभागका कर्मचारीहरूलाई देखाउँदा जवाफमा कर्मचारीले भने, ‘यत्तिको भात खान के हुन्छ र ? काम गर्न त्यहाँ गएको हो। थोडी न ससुराली गएको हो?’

पीडितलाई हप्काउँदै फेरि ती कर्मचारीले भने, ‘तपाईंहरू म्यानपावरमा जानुभयो?’ जवाफमा पीडितले भने, ‘धेरै पटक गयौं सर तर भेट नै हुँदैन। फोन गर्दा फोन उठ्दैन।’ यसको जवाफमा ती कर्मचारीबाट ‘म्यानपावर नगए पनि गाको भनेको होला’ भन्दै खरो बोली आयो।

कर्मचारीले पीडितलाई झन् पीडित बनाएको देखिन्थ्यो। हामीले भाइलाई उद्धार गरिदिनु कि त काममा लगाइदिनु भन्दा हाम्रो कुरा कसैले सुनिदिएनन्।

सुनाउने ठाउँ त्यही होइन र? कि अन्तै छ,’ काँधमा झुन्डिएको गम्छाले आँसु पुछ्दै माइला भाइले भने, ‘यहाँ आफ्नो भन्ने कोही रहेनछन्। हाम्रो समस्या सुन्ने कोही छैनन्। काठमाडौंमा ट्वाइलेट जान त पैसा तिर्नुपरेको छ। बस्नखानलाई झनै ठूलो समस्या छ। हाम्रा पनि परिवार छन्। यो काम सक्काउन पाए, हामी रौटहट फर्किने थियौं।’

कतार पुगेका भाइहरूको उद्धारका निमित्त ज्यान नै फालेर भए पनि शाह परिवारका माइला भाइ काठमाडौंका विभिन्न ठाउँमा लागि परेका छन्। उनका अनुसार दुई भाइसहित उक्त म्यानपावरले कतारमा अलपत्रमा पारेका १७ जना नेपाली युवा रहेको पाइएको छ।

युरोसिया म्यानपावरका मार्केटिङ डाइरेक्टर ईश्वर कँडेलका भने कतार पठाउन त्यत्रो पैसा नलिएको भन्दै टक्टकिन्छन्। सकेसम्म अबको दुई दिनमा उनीहरूलाई काम लगाइदिने नभए काम नपाएको खण्डमा नेपाल फर्काउने कँडेलले बताए।

शाह पीडितहरूलाई हेर्दै विभागका महानिर्देशक घिमिरेले भने, ‘मान्छे जानीजानी किन ठगिन्छन्। शिक्षित मानिस नै ठगीमा पर्ने गरेका हुन्छन्। तपाईहरू सानो सानो कुरालाई ठुलो बनाउने गर्नुहुन्छ। धैर्य भन्ने नै छैन। उजुरी हालिसक्नुभयो। विस्तारै काम भइहाल्छ नि। आजको भोलि नै कहाँ हुन्छ र? तीन महिना काम नगरे पनि तलब भने पाइन्छ।’

प्रायः युवाहरू परिवारको भविष्य हेर्दै विदेश जाने गरेका हुन्छन्। तर, उनीहरू म्यानपावर, एजेन्ट र दलालमार्फत ठगीमा परेर अलपत्र हुने गरेका छन्।

यसरी छोरीको बिहे गर्न भनेर विदेश पुगेका शाह परिवारका पिता म्यापावरकै कारण अलपत्रमा परेका छन्। उनीहरू कि उद्धार गरिदेऊ कि त नेपाल फर्काइदेऊ भन्दा उनीहरूको दुःख सुन्ने कोही भएका छैनन्।  

प्रकाशित: ३ फाल्गुन २०८० ०८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App