२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आफ्नै कमजोरी देखिएपछि राजीनामा दिएका डिआइजी १० दिन घर बिदामा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी र प्रहरीबिच कुटाकुटको विषयमा बनेको छानबिन समितिले प्रतिवेदन बुझाएपछि असन्तुष्ट भई राजीनामा दिएर चर्चामा आएका अर्जुन चन्द ठकुरीले अन्ततः आफ्नो राजीनामा फिर्ता लिएका छन्। 
 
गृह मन्त्रालयले बनाएको छानबिन समिति समक्ष आफ्ना धारणा राख्न नगएको, प्रहरीको कमाण्ड कन्ट्रोलमा असफल भएको तथा गृह मन्त्रालयले उनको कमाण्डमा प्रश्न उठाएपछि राजीनामा दिएर बाहिर चर्चामा आएका थिए । ‘कुटपिटमा संलग्न जुनियर अधिकृतको भन्दा पनि उनीमाथि मन्त्रालयले उठाएको प्रश्नमा असन्तुष्ट भई राजीनामा दिएका हुन् बाहिर प्रचार भने आफ्ना मातहतका सुरक्षाकर्मीको कार बाईप्रति असन्तुष्ट रहेको गरियो त्यो भुटा थियो’, स्रोतले भन्यो। 
 
गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा बनेको छानबिन समितिमा प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जिसी सदस्य थिए । उनीहरूले तयार पारेको प्रतिवेदनको निष्कर्ष खण्डको १० नम्बर बुँदामा प्रस्ट रूपमा डिआइजी चन्दको कमजोरीलाई उल्लेख गरिएको छ।
 
 ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक अर्जुन चन्द ठकुरीले मन्त्रालयबाट छानबिन समिति गठन भइसकेपछि सञ्चारमाध्यममा गम्भीर विषयहरू उठान गर्नुभएकोले उक्त विषय मन्त्रालयले जानकारीमा राख्न आवश्यक देखिन्छ’, सो प्रतिवेदनको १० नं बुँदामा भनिएको छ। उनी प्रहरीको भन्दा बढी कर्मचारीको दोष देखाएर सञ्चारमाध्यममा प्रस्तुत भएकाले मन्त्रालयबाट गठन भएको छानबिन समिति ठहर थियो।  साथै उनी समिति समक्ष आफ्ना कुरा राख्न पनि गएका थिएनन्। ‘आफै मातहत रहेको सुरक्षाकर्मीले गल्ती गरेको छैन भन्ने कुरा बताउनु पर्ने दायित्व कमाण्डरको हो तर उहाँ बाहिर–बाहिर असन्तुष्टि व्यक्त गर्ने तर समितिलाई इग्नोर गर्न थाल्नु भयो’, समितिका एक सदस्यले भने। 
 
समितिले दिएको सुझावको पहिलो नम्बरमा सत्य सेवा सुरक्षणमको भावना विपरीत सबै किसिमका सर्वसाधारणसँग संयमित र व्यावसायिक व्यवहार देखाउनुको सट्टा आफ्नै मन्त्रालय मातहतको सिनियर अधिकृत हो भन्ने जान्दाजान्दै ड्युटी कमाण्डरको आदेशबिना नै आफ्नो जिम्मेवारी एक्सरे जाँच गर्न छाडी विवाद भएको ठाउँमा आउने, सम्बन्धित व्यक्तिलाई सम्झाईबुझाई गरी माथिल्लो अधिकृतलाई रिपोर्टिङ गर्नुको सट्टा सामूहिक कुटपिटको नेतृत्व गरेकोमा असई सञ्जय तामाङलाई तुरुन्त निलम्बन गरी प्रहरी ऐन एवम् नियमावली बमोजिम उचित विभागीय कारबाही गर्नुपर्ने। बिना आदेश जिम्मेवारी छाडी कुटपिटमा सामेल हुने प्रहरी जवान विजनकुमार गुप्ता एवम् राजकुमार महतोलाई आवश्यक विभागीय कारबाही गर्ने,’ उल्लेख छ। जसमा प्रहरीकै कमजोरी देखाइएको छ।
 
त्यसैगरी विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा नियमित सुरक्षा जाँचलाई चुनौती दिई अटेरी गर्ने, आफ्नै मन्त्रालय मातहतका जुनियर प्रहरी कर्मचारीसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा एक जिम्मेवार अधिकृतको रूपमा देखाउनुपर्ने आचरण र अनुशासनअनुरूप व्यवहार नदेखाएकोले अध्यागमन अधिकृत छायालाल मोक्तानलाई सो कार्यालयबाट जिम्मेवारीमुक्त गरी आचरणसम्बन्धी आवश्यक कारबाही गर्ने विषय पनि उल्लेख गरेपनि बढीचाहिँ प्रहरीकै कमजोरी देखाइएको छ। 
 
मन्त्रालयले समिति बनाउँदा नै विमानस्थलमा पहिला कार्यरत रहेका डिआइजी राजेशनाथ बास्तोलालाई पठाएको थियो। ‘सो दिनको फिल्ड अफिसर प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेल भएको अवस्थामा दुई पक्षबिच विवाद भई अध्यागमन अधिकृतलाई सामूहिक कुटपिट भएको निजको प्रत्यक्ष उपस्थितिमा सिसिटिभी क्यामेरा रूमभित्र ठूलो समूहसहित गएको, अघिल्लो घटनासँग जोडिएका विवादित व्यक्तिहरूलाई नियन्त्रण र निगरानीमा नराखी सिसिटिभी कन्ट्रोल रूम र सो क्षेत्रमा भिडभाड हुन दिएको, जसले गर्दा पुनः कुटपिट भएको भन्ने बुझिएको तथा सुरक्षाको दृष्टिकोणले परिस्थितिको संवेदनशीलतालाई बुझेर कमान्ड एन्ड कन्ट्रोललाई काबुमा लिन नसकेको तथा प्रमुख अध्यागमन अधिकृत लगायतका कर्मचारीको सुरक्षामा हेलचक्र्याइँ गरेको बुझिन आएकोले निजलाई आफ्नो जिम्मेवारी र व्यावसायिक कर्तव्यप्रति सचेत गराउने’, उल्लेख छ। 
 
तर डिआइजी चन्दले बाहिर बढी नै आफलाई चोखो देखाएको भन्दै गृह मन्त्रालय असत्ुष्ट रहेको छ। ‘उहाँलाई विभागीय कारबाही हुने अवस्था थियो, त्यही भएर राजीनामा दिई हिँड्न खोजेको देखियो मान्छे राम्रो हुनुहुन्थ्यो होला तर कमाण्ड पनि त राम्रो गर्नुपर्ला नि’, मन्त्रालयका एक कर्मचारीले भने।  डिआइजी चन्द भने सोमबार १० दिन बिदा बस्न राजी भएर राजीनामा फिर्ता गरेर घर बिदामा गएका छन्। 

प्रकाशित: २२ माघ २०८० १७:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App