१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

इच्छाराज दम्पतीलाई पौने तीन अर्ब जरिवाना र जेल सजाय

विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङले सहकारीमा उठाएको रकमलाई विभिन्न माध्यमबाट शुद्धीकरण गरेको ठहरसहित सजाय र जरिवाना तोकेको छ।

अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा उनकी पत्नीसमेतलाई जेल सजाय र जरिवाना तोक्दै परिवारका नाममा रहेको सम्पत्ति जफत हुने ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार सजाय र जरिवाना निर्धारण गरेको हो।

अदालतले मुद्दामा यसअघि नै इच्छाराजसमेतलाई दोषी ठहर गरेको थियो।
अदालतले इच्छाराजलाई १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार रूपैयाँ जरिवाना र ३ वर्ष कैद तोकेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले डेढ वर्षअघि आपराधिक लाभमार्फत ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार रूपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको दाबी गर्दै इच्छाराजविरुद्ध आरोपपत्र दर्ता गरेको थियो।

त्यसैगरी इच्छाराजकी पत्नी सिर्जना शाक्यलाई १ अर्ब ३ करोड ५४ लाख ४३ हजार रूपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद ठहर भएको छ। विभागले उनीसँग त्यति नै बिगो मागदाबी गरेको थियो।

अदालतले सिभिल सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठलाई २५ करोड ६५ लाख ८६ हजार रूपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद ठहर गरेको छ। विभागले श्रेष्ठसँग त्यत्ति नै बिगो जरिवाना माग गरेको थियो।

२०७९ भदौ १६ गते सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको थियो। विशेष अदालतले यही माघ ७ गते मुद्दा ठहर गर्दै २१ गते सजाय निर्धारण गर्ने भनेको थियो।

‘काठमाडौं जिल्ला अदालतमा विचारधीन ठगी मुद्दामा यी प्रतिवादीहरूउपर कसुर ठहर भएमा पीडितको बिगो भरिभराउ गर्ने कार्यले नै प्राथमिकता पाउने,’ विशेष अदालतको संक्षिप्त फैसलामा भनिएको छ, ‘कानुनबमोजिम इच्छाराज तामाङ, सिर्जना शाक्य तामाङ, केशवलाल श्रेष्ठ, मीना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत हुने ठहर्छ।’

फैसलाको लिखित पूर्ण पाठ आउन भने केही समय लाग्ने छ। फैसलाको पूर्ण पाठ आएपछि इच्छाराजले चाहेमा पुनरावेदन गर्न पाउने छन्। उनले विशेष अदालतको फैसला चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन्। पुनरावेदन निवेदन दर्ता भएमा सर्वोच्च अदालतले फैसला अन्तिम निर्णय हुनेछ।

ठगी गरेको आरोपमा उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता मुद्दा विचाराधीन छ। इच्छाराज हाल पुर्पक्षका लागि डिल्लीबजार जेलमा छन्। २०५७ सालमा सिभिल सहकारी स्थापना भएको थियो। २०५७ देखि ०६७ सम्म इच्छाराज त्यसको अध्यक्ष थिए। २०६७ पछि केशवराज श्रेष्ठ अध्यक्ष भएका थिए।

केशव इच्छाराजकी पत्नी सिर्जनाका मामा हुन्। उनीहरूले सहकारीमार्फत बचत स्वीकार गर्दा विभिन्न खालका प्रलोभन देखाएको आरोप थियो। जस्तै: बचतको १७ प्रतिशत ब्याज, विभिन्न खालका उपहार दिने प्रलोभन देखाइएको आरोप थियो। तर भने अनुसार बचतकर्तालाई दिइएन।

ठगी गरिएको रकमलाई वैधता प्रदान गर्न इच्छाराजले पत्नी, छोरीलगायत आफन्तका नाममा सम्पत्ति हस्तान्तरण गर्ने, बदल्ने गरेको आरोपमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा चलाइएको थियो।

इच्छाराज दम्पतीलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३० (१. क) बमोजिम जरिवाना र कैद तोकिएको अदालतले संक्षिप्त फैसलामा उल्लेख गरेको छ। अदालतले ६ जनाविरुद्ध दर्ता भएको मुद्दामा दुईलाई सफाई दिएको। विभागले इच्छाराजसहित उनकी पत्नी, छोरीलगायत ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा चलाएको हो।

मुद्दामा इच्छाराजको परिवारलगायत ६ जनासँग करिब ५ अर्ब रूपैयाँ बिगो मागदाबी गरिएको थियो। अदालतले इच्छाराजका छोरीहरू दुवैजनालाई प्रमाण नपुगेको भन्दै सफाइ दिएको छ भने उनीहरूको नाममा रहेको सम्पत्ति भने जफत हुने ठहर गरेको छ।

 अर्की प्रतिवादी मीनाकुमारी श्रेष्ठको नाममा काठमाडौंका विभिन्न स्थानमा रहेका ७ कित्ता जग्गासमेत जफत गर्न आरोपपत्रमा मागदाबी गरिएको थियो। इच्छाराजको घर, जग्गा, सम्पत्ति सबै जफतको माग गरिएको थियो। मागदाबी अनुसार नै इच्छाराजको सम्पत्ति जफत हुने ठहर अदालतले गरेको छ।

विभागको दाबीअनुसार इच्छाराजले सहकारी संस्थामा सर्वसाधारण बचतकर्ताले राखेको रकम आफू र परिवारका सदस्यको नाममा ल्याउन विभिन्न प्रकारका उपाय अपनाएका थिए। उनले आफ्नो एकाधिकार रहनेगरी विभिन्न कम्पनी बनाएर कारोबार गरेको देखाएर सर्वसाधारणको बचत रकम हिनामिना गरेका थिए।

इच्छाराज र केशवलालसमेतले कसुरबाट आर्जित सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, छल्ने, हस्तान्तरण र रूपान्तरणसमेतका निषेधित काम गरी सम्पत्ति शुद्धीकरणको कसुर गर्ने इच्छित मनसाय राखेको दाबी विभागको थियो।

‘आफ्ना परिवारका सदस्यबीच अंशवण्डासमेत गरी गराई आपूm एवं परिवार संलग्न रहेका सिभिल होम्स प्रालिलगायतका विभिन्न व्यावसायिक कम्पनीहरूमार्फत घरजग्गाको कारोबारसम्बन्धी व्यवसायमा गैरकानुनी स्रोतको रकम लगानी गरी’, विभागले दर्ता गरेको आरोपपत्रमा उल्लेख थियो, ‘त्यस्ता व्यावसायिक कार्यहरूबाट थप सम्पत्ति आर्जन गरी अन्य प्रतिवादीहरू सिर्जना शाक्य तामाङ, प्रतिष्ठा तामाङ, प्रतीक्षा तामाङ र मीनाकुमारी श्रेष्ठ समेतका नामबाट कारोबार गर्ने एवं सम्पत्ति लुकाइछिपाई राखी सम्पत्ति शुद्धीकरणको कसुर गरेको तथ्य पुष्टि हुन आयो।’

प्रकाशित: २२ माघ २०८० ०७:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App