तीन महिनाअघि राजस्व अनुसन्धान कार्यालय इटहरीले तस्करको गोदाममा छापा मारेर करिब तीन करोड रूपैयाँ बराबरका तस्करीका सामान बरामद गरेपछि सिरहामा कार्यरत सशस्त्र प्रहरीका तीनजना अधिकारी मुख्यालय तानिए।
सशस्त्र प्रहरी बल ७ नम्बर गणका तत्कालीन गणपति प्रमोद भारती, बोर्डर आउटपोस्ट माडरका डिएसपीद्वय रामहर खतिवडा र पवन खड्कालाई जिम्मेवारीबाट हटाइयो।
नेपाल प्रहरीका एसपी टेकुनन्द इवा लिम्बू, प्रजिअ राजेन्द्रदेव पाण्डे र भन्सार प्रमुख रामराजप्रसाद चौरसियामाथि कुनै कारबाही भएन।
सिरहामा सशस्त्रका तीनजना अधिकारी बदलेर नयाँ पठाइयो। सशस्त्र प्रहरी बल ७ नम्बर गणका गणपतिमा (एसपी) शिव गैरे र बोर्डर आउटपोस्ट माडरमा डिएसपी राजु दाहाल आए। जिल्लामा प्रहरी र प्रशासनका अधिकारीहरू फेरबदल हुनु नौलो होइन। प्रहरी प्रशासनका अधिकारी फेरिए पनि नफेरिएको धन्दा हो-तस्करी।
तस्करीले हद नाघेपछि सिरहाका बुद्धिजीवीहरू गृह मन्त्रालय पुगेर नियन्त्रणका लागि आग्रह गरेका छन्। मिटर ब्याजीको आडमा थर्काएर व्यक्तिगत लाभ लिने, तस्करलाई संगठित बनाएर लाभ लिने, अवैध क्रसर र चुरे दोहनमा आँखा चिम्लेर लाभ लिने लगायतका बेथितिले जनता आजित बनेका छन्, सर्वसाधारण।
यसैबीच गृह मन्त्रालयले सिरहाका प्रजिअ राजेन्द्रदेव पाण्डेलाई मन्त्रालयमा बोलाएको छ। उनी गत असार १८ गते जिल्ला प्रशासन कार्यालय सिरहामा हाजिर भएका थिए। बेथितिबाट आजित सिरहाका बासिन्दाले संवाद यात्राको क्रममा सीमावर्ती गाउँ सोनवार्सा र बरियारपट्टी पुगेका नेपाली कांग्रेसका महामन्त्री गगन थापासमक्षसमेत जिल्लामा तस्करी, लागुऔषध ओसारपसारले सीमा नाघेको सुनााए। सेटिङमा तस्करी, लागुऔषध ओसारपसारलगायत गतिविधि बढेको जानकारी स्थानीयले गराए।
तस्करसँग सेटिङ मिलेपछि सीमा क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीले तस्करी नियन्त्रणमा आँखा चिम्लिदिँदा र भन्सार कर्मचारी मूकदर्शक बनिदिँदा तस्करी बढेको सिरहाकेन्द्रित पत्रकार देवकुमार यादवले बताए।
‘सीमादेखि सहरसम्म सुरक्षाकर्मी र भन्सार कर्मचारीको आडमा तस्करहरू सलबलाएका छन्,’ उनले भने, ‘दिउँसै नम्बर प्लेटबिनाका मोटरसाइकल तस्करीका सामान बोकेर प्रहरी पोस्ट पार गर्नुले सेटिङलाई प्रस्ट्याउँछ।
प्रहरी र भन्सारको भर र आड पाएपछि तस्करलाई केको डर। नियन्त्रणकारी निकायले नै आँखा चिम्लेपछि बाँकीले देखेर पनि के गर्न सक्छन् र?’
जिल्लास्थित राजस्व चुहावट नियन्त्रण समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी हुन्छन्। समितिको बैठक महिनामा एकपटक बस्नुुपर्ने प्रावधान छ। माडर भन्सार कार्यालय सिरहाका प्रमुख रामराजप्रसाद चौरसियाका अनुसार बैठकमा राजस्व चुहावट रोकेर कसरी वृद्धि गर्ने विषयमा छलफल हुन्छ।
प्रमुख जिल्ला अधिकारीका रूपमा सिरहामा हाजिर भएपछि पाण्डेले पटकपटक समितिको बैठक गरे। तर राजस्व उकालो लाग्नुको साटो झन्झन् ओरालो लाग्यो। राजस्व ओरालो लाग्नुको कारणहरू तस्करी प्रमुख रहेको भन्सार प्रमुख चौरसिया स्वीकार्छन्।
‘वारिपारि (नेपाल–भारत) आउजाउ गर्ने थुप्रा बाटा छन्। जसमा निगरानी र नियन्त्रणका लागि सुरक्षाकर्मी तैनाथ छन्। तस्करी नियन्त्रणका लागि भन्सारसँगै सुरक्षा र प्रशासनको पनि भूमिका रहन्छ,’ चौरसियाले भने, ‘भेटाएको बखत सामान बरामद गरेर भन्सारमा बुझाउने गरिएको छ। बाटा प्रशस्त छन्, कतै न कतैबाट मालवस्तु छिराइहाल्छन्, कहाँकहाँ नजर दौडाउनु।’
चौरसियाले भन्सार राजस्व प्रगतिउन्मुख भएको दाबी गरे पनि यथार्थ फरक छ। उनले चालु आर्थिक वर्षको ६ महिनामा (साउनदेखि पुस मसान्तसम्म) लक्ष्यको ५० प्रतिशत राजस्व संकलन भएको दाबी गरे पनि यर्थाथ संकलन २४ प्रतिशतमात्र देखिन्छ। यस वर्षको राजस्व संकलन लक्ष्य ११ करोड ९९ लाख ५६ हजार रहेकोमा पुस मसान्तसम्म २ करोड ८३ लाख ६५ हजार मात्र उठेको भन्सारको तथ्यांकले देखाउँछ।
नेपाल सरकारले मुलुकभरका १५ वटा भन्सारमा खाद्य क्वारेन्टिन पनि तोकेको छ। त्यसमा सिरहाका कुनै पनि नाका पर्दैन्। बिनाक्वारेन्टिन पास गरी खाद्यवस्तु आयात गर्नु अवैध ठहरिने भन्सार प्रमुख चौरसिया बताउँछन्। तर उनै प्रमुख रहेको माडर भन्सारबाट दैनिक सयौं बोरा प्याज राजस्व छली भित्रिरहेको छ।
माडर भन्सारबाट भारतीय नम्बर प्लेट र बिनानम्बर प्लेटका मोटरसाइकलमा राखेर दिउँसै आलु र प्याजका बोरा तस्करी भइरहेका प्रति चौरसियालाई पनि थाहा छ। उनी भन्छन्, ‘पालिकाहरूको सिफारिसमा कतिपयलाई आँखा चिम्लिलिनुपर्छ।’
एउटा मोटरसाइकलमा ५० किलोका कम्तीमा चारवटा प्याजका बोरा राखेर पारिबाट वारी ल्याइन्छ। तस्करले यसरी ल्याएको प्याज बेरोकटोक मिर्चैया, गोलबजार र लहानस्थित तस्करका गोदामसम्म पुर्याउँछन्। गोदामसम्म पुर्याइदिएबापत भरियाले तस्करबाट प्रतिखेप एक हजार रूपैयाँ पाउँछन्। यस कार्यमा सीमादेखि सहरसम्मका युवाले भरियाको काम गर्छन्। पारि किलोको ३० रूपैयाँमा पाइने प्याज वारि ल्याएर ६० देखि ७० रूपैयाँमा बिक्री गरिन्छ। यसैकारण प्याज तस्करी व्यापक बनेको छ।
दिउँसो मोटरसाइकलमा नेपालतर्फ ओसारिने आलु, प्याज रात परेपछि टेम्पो, पिकअप र मिनीट्रकमा राखेर लाने गरेको सीमावर्ती भारतीय सहर लौकहाका एक किराना पसलेले बताए। ‘अहिले भन्सार छलेर धेरै प्याज नेपाल गइरहेको छ,’ उनले भने, ‘यहाँदेखि लहानसम्म सेटिङ छ। तस्करसँग भन्सार र सुरक्षाकर्मी मिलेपछि कसको डर भयो र!’
लौकहा नजिकको ठाडी भन्सारका निमित प्रमुख रामेश्वरप्रसाद चौधरीका अनुसार त्यहाँबाट भारतीय सवारीसाधनको पास मात्र जारी हुन्छ। त्यसो भए आलु, प्याज, धान, कपडालगायत दैनिक उपभोग्य वस्तु कसरी नेपाल भित्रिन्छ भन्ने प्रश्नमा उनले भने, ‘खै यहाँ एउटै बाटो छैन, कतै न कतैबाट जाँदो होला।’
ठाडी भन्सारले लक्ष्यको २० प्रतिशत पनि राजस्व संकलन गर्न सकेको छैन। ठाडी भन्सारले ९ करोड ९ लाख ९३ हजारको लक्ष्यमा पुससम्म १ करोड ६० लाख ६० हजार रूपैयाँ मात्र राजस्व संकल्न गरेको छ।
दिउँसै तस्करी
जनकपुरधामबाट सोमबार दिउँसो जयनगर हुँदै माडर भन्सार पुग्दा प्याजका बोरा बोकेको मोटरसाइकल बेरोकटोक भन्सार पार गरी सिरहातर्फ हुइँकियो। पछ्याउँदै जाँदा उक्त मोटरसाइकलले सिरहाको माडरस्थित बोर्डर आउटपोस्ट, माडर प्रहरी, नगर प्रहरी कार्यालय पनि बेरोकटोक पार गर्यो। त्यसपछि त्यो मोटरसाइकल सिरहास्थित हेमनारायण चोक हुँदै चोहर्वातर्फ अघि बढ्यो। नम्बर प्लेट नै नभएको मोटरसाइकलमा चारवटा प्याजका बोरा थिए।
मोटरसाइकल प्रहरी चौकी नरहा, इलाका प्रहरी कार्यालय विष्णुपुर हुँदै चोहर्वा पुग्यो। चोहर्वामा रहेका प्रहरीअगाडिबाटै मोटरसाइकल मिर्चैयातर्फ लाग्यो।
यस विषयमा चोहर्वा चोकका एक पान पसलेलेसँग जिज्ञासा राख्दा उनले भने,‘मोटर साइकलमा प्याज तस्करी भएको देखेर आश्चर्य नमान्नुस्। राति आउनुस् पूरा फिल्म हेर्न पाउनु हुन्छ। म व्यापार गर्ने मान्छे हो, धेरै बोले मेरो चुलो बन्द हुन्छ। तस्करीमा पावरफुल मान्छे संलग्न छन्। यसमा सबै मिलेका छन्।’
मधेस प्रदेशमा सुरक्षाकर्मीको उपस्थिति रहेकै ठाउँबाट तस्करी हुन्छ। सिरहामा मात्र होइन, मधेस प्रदेशका बाँक सातवटा जिल्लामा पनि यस्तै हुन्छ। सबै जिल्लाको सीमा भारतसँग जोडिएको छ। सबै जिल्लामा कमबेसी तस्करको संगठित जालो छ।
सिरहाको ठाडी, नगरी, कुसन्डी, झाझपट्टी, माडर, बुधौरा, लगडीगोठ, चतरी, कल्याणपुर, बरियारपट्टी, औरही, पटेर्वा नाकाबाट तस्करी भइरहेको स्थानीय सर्वसाधारण बताउँछन्। यी नाकाबाट नुनदेखि सुनसम्म तस्करी हुने गरेको सीमा क्षेत्रका बासिन्दाको भनाइ छ।
सीमापारिबाट ल्याइएको प्याज, आलु, कपडा, मोटरपार्टस्, कपडा, किराना सामान, पान मसला, सुर्तीजन्य पदार्थ (रजनीगन्धा, गुट्खा), चिनी, दाल, चामल, कस्मेटिक सामानलगायत राजस्व छलेर वारि भित्र्याइन्छ।
वारिबाट मदिरा, चिनियाँ स्याउ, मटर, ग्यास लाइटर, मरिच, मदिरा, छोकडा, गाँजालगायत पारि पुर्याइन्छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयसँगको त्रिपक्षीय सेटिङमा (लाइन मिलाएर) तस्करी भइरहेको सीमावर्ती क्षेत्रका बासिन्दा बताउँछन्।
सप्तरीका सीमानाकाबाट पनि दिनहुँ तस्करीका सामान वारपार गराइन्छ। सप्तरीको बलान बिहुल गाउँपालिकास्थित बेल्ही नाकाबाट आलु, प्याज, स्याउ र मदिरा तस्करी भइरहेको एक स्थानीयले बताए।
सप्तरीका पातो, छिन्नमस्ता, सोभरणपट्टी, बेल्ही, कुनैली, गोबरगाढा, बरसाइन, लगायत नाकाबाट पनि तस्करीका सामान वारपार गराइन्छ।
मधेस प्रदेश राजधानी रहेको धनुषाका सीमानाका मैनाथपुर, भररिया, खौना, जटही, इनर्वा, दुहबी, अकौरा, दिबदिहा, खजुरीबाट पनि व्यापक तस्करी भइरहेको छ। धनुषा र महोत्तरी बाक्लै आउजाउ गर्ने अरजित यादव भन्छन्, ‘धनुषा र महोत्तरीका सीमानाका अहिले तस्करलाई जिम्मा लगाइदिएजस्तो लाग्छ।’
धनुषा र महोत्तरीका सीमानाकाबाट पनि प्याज, आलु, चिनी, कपडा, मोटरपार्टस्, पान मसला, तेल, दाल, चामल, मैदा, कुखुरा, सुर्तीजन्य पदार्थलगायत भन्सार नतिरी भित्र्याइन्छ।
सुरक्षाकर्मी (घुमुवा) बाट ‘लाइन क्लियर’ रहेको संकेत पाएपछि भन्सार नतिरी सामान वारपार गराइन्छ।
सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि (घुमुवा) खटिएका हुन्छन्। पछिल्लो समय धनुषा, महोत्तरी, सप्तरी, सिरहा, रौतहट, सर्लाही, बारा र पर्सा जिल्लाका सीमानाकाबाट तस्करी बढिरहेको घटनाक्रमबाट पुष्टि हुन्छ।
महोत्तरीको सम्सी, इटहर्वाकटी, मरुवाही, मटिहानी, जलेश्वर, भिठामोड, रौतहटका बंकुल, सरमुजवा, रामपुरखाप, लक्ष्मनपुर बेलबिचवा, सेरवाब्रहमपुर, बाराको कचोरवा, सिमरौनगढ, बेलदारी, कबही, मटिअर्वा, छतवा, गण्डक र पर्साको इनर्वा, छपकैया, अलौ, अमरपटी, परसौनी, खेस्राहा, सबैठबा, भिस्वा, टिहुकी, मिर्जापुर, जानकी टोला, विजयवस्ती, ठोरी नाकामा पनि तस्करको रजाइँ छ।
सुरक्षाकर्मी र भन्सार कर्मचारीसँगको सेटिङमा तस्करको संगठित सञ्जाल मार्फत सीमावारिपारि तस्करी फस्टाएको सीमावर्ती क्षेत्रका बासिन्दा बताउँछन्।
तस्करलाई लाइनमा ल्याउन भन्सारका कर्मचारी र प्रहरीले कहिलेकाहीं केही सामान नियन्त्रणमा लिन्छन्। लाइन मिलेपछि धन्दा पूर्ववत चल्छ।
प्रदेश प्रहरी र सशस्त्र प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, राष्ट्रिय अनुसन्धानको प्रदेश र जिल्ला कार्यालयका सादा पोसकका प्रहरी (घुमुवा) माथि सीमानाका र सहरमा तस्करका लागि लाइन मिलाउने गरेको आरोप छ। सीमानाकाबाट सहरका गोदामसम्म तस्करीको समान पुर्याउन यिनै घुमुवाले सहयोग गर्छन्।
सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुख दीपेन्द्र शाहका अनुसार सशस्त्र प्रहरी तस्करी नियन्त्रणका लागि मात्र परिचालित नभएको बताउँछन्। ‘अन्य निकाय पनि छन्। हामीले थाहा नपाएका ठाउँमा अन्य निकायबाट पनि कारबाही भएका छन्। हामीले थाहा पाएका ठाउँमा हामीले पनि कारबाही गरेका छौं। तस्करी धन्दामा हाम्रो मिलेमतो छैन,’ उनले भने।
प्रकाशित: २० माघ २०८० ११:५५ शनिबार