२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चौरासी पूजाको खर्च राष्ट्रिय आविष्कार केन्द्रलाई

यहाँका एक ज्येष्ठ नागरिकले चौरासी पूजामा लाग्ने खर्च राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन्। भरतपुर महानगरपालिका २ क्षेत्रपुर घर भएका खिमानन्द पौडेलले आफ्नो ८४ पूजामा गरिने खर्च आविस्कार केन्द्रलाई सहयोग गरेका हुन्। उनले तीन लाख ६५ हजार केन्द्रका सञ्चालक समितिका सदस्य हरि सिलवाललाई हस्तान्तरण गरे।

राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न पौडेल परिवारले एक औपचारिक कार्यक्रम गरेको थियो। तामझाम र रुढिवादी संस्कृतिबाट टाढा हुनुपर्ने सन्देशसहित ८४ पूजाको खर्च केन्द्रलाई हस्तान्तरण गरिएको हो।

पौडेलले नयाँ खोज, अनुसन्धान र आविष्कारका लागि सहयोग होस् भनेर चौरासी पूजाको खर्च आविष्कार केन्द्रलाई प्रदान गरेको बताए। लेखक खगेन्द्र संग्र्रौलाले समय क्रमसँगै संस्कृतिप्रति सबै कालखण्डमा विश्वास रहन नसक्ने बताए। धर्म र संस्कृतिका नाममा परम्परादेखि चलिआएको अन्धविश्वास, विभेद, खर्चिलोपन, ढोङ, पाखण्डलाई मान्नुपर्छ भन्ने आवश्यकता नभएको उनी बताउँछन्।

पौडेलका ज्वाइँ प्रेम रिमालले संस्कृति पछ्याउने नाममा पछौटेपन अँगाल्नु नहुने भन्दै तडकभडक छाडेर यो कार्यक्रमको आयोजना गरिएको बताए। राष्ट्रिय आविष्कार केन्द्रका सिलवालले सामाजिक दबाब नपर्ने गरी सिर्जनशील काम गर्नु सामाजिक अन्वेषण रहेको बताए। यहाँबाट आएको सहयोगबाट केन्द्रले ऊर्जा प्राप्त गर्ने उनको भनाइ थियो।

पौडेल परिवारले कार्यक्रममा आउनेलाई दक्षिणा, भेटी नल्याउन आग्रह गरेको थियो। कार्यक्रमस्थलमा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न दानपेटिका राखिएको थियो। त्यसमा संकलन भएको रकम पनि सबै केन्द्रलाई प्रदान गरिएको थियो। –रासस

प्रकाशित: १२ माघ २०८० ०८:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App