८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

कार्यकर्ता पक्राउको विरोधमा शैक्षिक हड्ताल

काठमाडौं – आफ्ना कार्यकर्ता पक्राउ गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव)निकट विद्यार्थी संगठनले आह्वान गरेको शैक्षिक हड्तालका कारण आइतबार देशभरका शैक्षिक संस्था बन्द भए।

सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषण गरे पनि फागुन महिनामा दुई पटक शैक्षिक संस्था बन्द भइसकेको छ । आफ्नो कार्यकर्ता पक्राउ गरेको निहुँमा फागुन ९ गते पनि क्रान्तिकारी विद्यार्थी संगठनले विद्यालय बन्द गराएका थिए । फागुन ९ गते क्रान्तिकारी विद्यार्थीले आम हड्तालको आह्वान गरेका थिए भने आइतबार शैक्षिक हड्ताल।

काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले बिहान स्कुल खोल्न खोजे पनि क्रान्तिकारी विद्यार्थीको धम्कीका कारण बन्द गर्नुपरेको बताए । ‘क्रान्तिकारी विद्यार्थी संगठनले फोनमा स्कुल बन्द गर्ने धम्की दिए,’ प्रधानाध्यापक कँडेलले नागरिकसँग भने, ‘बन्दमा स्कुल चलाए क्षतिको धम्की आएपछि विद्यार्थी फर्काइदिएँ।’

उता निजी विद्यालय सञ्चालकहरूको पनि स्कुल खोले भौतिक क्षति हुने त्रासका कारण स्कुल नचलाएको जनाए । प्याब्सनका अध्यक्ष बिजय सम्बाहाम्फेले क्रान्तिकारी विद्यार्थी संगठनहरूले पत्राचारै गरी विद्यालय बन्द गर्ने दबाब दिएको कारण स्कुल चलाइन राख्न नसकेको बताए । ‘प्याब्सनअन्तर्गतका जिल्लाका विद्यालयहरूमा क्रान्तिकारीले पत्रचार गरी विद्यालय बन्द गरी सहयोग गर्न आग्रह आयो,’ अध्यक्ष सम्बाहाम्फेले नागरिकसँग भने, ‘ससाना निहुँमा पनि पहिलो निसाना विद्यालय र नानीहरू नै हुन्छन् ।’ उनले गुनासो गरे, ‘त्यस्तो बेला सरकारको तर्फबाट पनि विद्यालय खोलाउन कुनै पहल हुँदैन । त्यही भएर हामी जोखिम लिन सक्दैनौं।’

अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरीले आन्दोलनकारीले सम्बन्धित निकायमा माग राख्नुको साटो माग पूरा गराउने हतियार विद्यार्थीलाई बनाएकोमा दुःख व्यक्त गरे । उनले स्कुल सञ्चालनबारे शिक्षा मन्त्रालयसँग कुरा राख्दा कुनै जवाफ नपाएको बताए।

‘कार्यकर्ता सरकारले पक्राउ गर्‍यो । त्यसको लागि सम्बन्धित मन्त्रालय गृह र नेपाल सरकारसँग पो माग राख्नुपर्छ,’ पुरीले भने, ‘तर यहाँ त जुनसुकै बहानामा माग पूरा गराउने हतियार स्कुल र विद्यार्थीलाई बनाइएको छ।’

क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष पूर्ण सिंहले फागुन २७ गतेदेखि फागुन ३० गतेसम्म संगठनको २१ औं राष्ट्रिय सम्मेलनको घोषणा गरेसँगै सरकारले बिथोल्न खोज्दै कार्यकर्ता धमाधम पक्राउ गरिरहेको बताए । उनले सरकारले पक्राउ गरेको कार्यकर्ता दुई दिन भित्र नछाडे कडा आन्दोलन गर्ने चेतावनी दिए । ‘सम्मेलनका लागि हाम्रा कार्यकर्ताले तयारी गरिरहेका समयमा फागुन ११ देखि १७ गतेभित्र विभिन्न स्थानबाट जिल्ला अध्यक्ष, केन्द्रीय महासचिव तथा सदस्यलगायतलाई सरकारले पक्राउ गरेको छ । अन्य पदअधिकारीलाई वारेन्ट जारी गरेको छ,’ अध्यक्ष सिंहले भने, ‘एक दिने शैक्षिक हड्ताल सांकेतिक मात्र हो । अब कडा आन्दोलनमा उत्रने तयारी छ।’

प्रकाशित: २१ फाल्गुन २०७४ ०४:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App