शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको वंश विनाशको कथा मूर्तिमा उतारिएको छ।
कपिलवस्तुमा रहेको बुद्धको वंश नाश भएको स्थान सरगहवामा आयोजना गरिएको मूर्तिकला कार्यशालामा देशभरबाट छानिएका मूर्तिकारहरूले गौतम बुद्धको वंश विनाशको कथालाई मूर्तिमा उतारेका हुन्।
ईसापूर्व चौथो शताब्दीमा भएको शाक्य वंश संहारको कथालाई मूर्तिमा उतार्दै बुद्धको जन्मभूमि नेपालबाट विश्वलाई शान्तिको विकल्प नभएको सन्देश दिनेगरी मूर्तिहरू तयार गरिएको झापाका मूर्तिकार गंगाधर सारुले बताए।
बुद्ध, शान्ति र युद्ध अथवा शाक्य राज्यको पतनको झल्को मूर्तिमार्फत दिएर द्वन्द्वले विश्वमा निम्त्याई रहेको नरसंहारलाई रोक्न पनि ती मूर्तिहरूले शान्तिको विकल्प नभएको सन्देश दिने उनको भनाई थियो।
मूर्तिकार सारुले भने, ‘मेरो मूर्तिको शीर्षक चाहिँ निर्विकल्प शान्ति हो। वर्तमान विश्व द्वन्द्वग्रस्त अवस्थामा छ। राजाहरूको द्वन्द्वको कारणले यो द्वन्द्व बढिराखेको छ। द्वन्द्वकै कारण शाक्य वंशको विनाश भयो। त्यसकारण शान्तिको विकल्प छैन। दम्भ, अहङ्कार, अभिमानले चाहिँ विनाश गर्छ भन्ने मेरो मूर्तिको सन्देश हो।’
रुपन्देहीबाट आएका अर्का मूर्तिकार गोविन्द चौधरीले मूर्तिको माध्यमबाट आफूहरूले बुद्धको शान्तिको सन्देशलाई विश्वभर फैल्याउने काम गरेको बताए। उनले युवाहरूलाई मूर्तिकला सिक्न र त्यसबाट आफ्नो नाम र काम दुवै आर्जन गर्न पनि आह्वान गरे।
मूर्तिकार चौधरीले भने, ‘नयाँ पुस्तालाई मैले के भन्न चाहन्छु भने तपाईँहरू पनि पढ्नुस्। ललितकला क्याम्पस पढेर तपाईँहरू पनि कलाको सृजना गर्नुस्। तपाईँहरूको भविष्य उज्ज्वल छ। तपाईँहरू देश, विदेश पुग्न सक्नुहुन्छ। हाम्रा यहाँका थुप्रै कलाकारहरू यस्तो हुनुहुन्छ, जो कोही कोरिया, कोही चाइना, जापान, मलेसिया, युरोपतिर थुप्रै देशहरूमा गएर आएर यहाँ काम गरेका कलाकार साथीहरू पनि हुनुहुन्छ। यसर्थ हामीलाई अनुभवले के भन्छ भने अब आउँदो समयका लागि कला सृजना भनेको महत्त्वपूर्ण पाटो रहनेछ। कलाले हामीले केही गरेर देखाउन सक्छौ। र युवाहरूले पनि यो सिक्नुभयो भने उहाँलाई जीविकोपार्जन पनि यसबाट छ। र मरेर गएपछि पनि यो त सधैँ रहिरहन्छ। यसले हाम्रो कीर्ति पनि रहिरहनेछ। सधैँ हाम्रा नाम रहन्छ। त्यही भएर युवाहरूलाई मैले अनुरोध गर्न चाहेँ।’
गत पुस १३ गतेबाट सुरु भएको सो राष्ट्रिय मूर्तिकला कार्यशाला माघ ८ गते सम्पन्न भएको हो। कपिलवस्तुको सगरहवामा कौशल राज्यका राजा विरूढकले ७७ हजार शाक्यहरूको सामूहिक नरसंहार गरेका थिए। तिलौराकोटदेखि नजिकै रहेको क्षेत्रमा भएको घटना विभिन्न बौद्ध साहित्यमा उल्लेख भएको छ।
प्रकाशित: १० माघ २०८० ०६:५७ बुधबार