१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गणतन्त्र दिवसमा कैद मिनाहा भएका व्यक्ति फेरी पक्राउ

हेटौँडा उपहानगरपालिका २ का रामचन्द्र थापा जेठ १५ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद सजाय मिनाहा पाएका व्यक्ति हुन्।

दुईवटा डाँका र चोरीसहित लागुऔषधसम्बन्धी एकएक गरी चार मुद्दामा उनले नौ वर्षको जेल सजाय पाएका थिए। सजाय पूरा नहुँदै उनलाई माफी दिएर कैद मुक्त गरियो। कैद मुक्त भएका ५५ वर्षिय थापा छुटेको सात महिनामै डाँका मुद्दामा फेरि पक्राउ परे।

चितवनका एक व्यवसायीलाई पटकपटक फोन गरेर ‘रकम नदिए छोराको अपहरण गर्ने’ धम्की दिएको आरोपमा भरतपुरबाट पक्राउ परेका हुन्। भरतपुर महानगरपालिका–१२ मा डेरामा बस्दै आएका थापाले पुल्चोकस्थित एक क्लिनिक व्यवसायीलाई २५ लाख रूपैयाँ नदिए छोरा अपहरण गर्ने धम्की दिएका थिए। प्रहरीले अहिले उनलाई अपहरण उद्योगमा हामी मुद्दा चलाएको छ। उनी अहिले पुर्पक्षको लागि भरतपुर कारागार चलान भएका छन्।  

नवलपसरासी बर्दघाट सुस्तापूर्वस्थित गैंडाकोट–७ गौरचरणका सुरेशबहादुर कुमाल (३४) पनि संविधान दिवसको अवसरमा कैद मिनाहा भएका व्यक्ति हुन्। तर, यतिखेर फेरि उनी भरतपुर कारागारमा छन्।

कर्तज्य ज्यान मुद्दामा तोकिएको सजाय भुक्तान गर्न बाँकी हुँदै मिनाहा भएका कुमाल फेरी कर्तव्य ज्यान मुद्दा लागेर कारागारमा छन्। उनी २०७९ असोज ३ गते कैद मिनाहा भएर भिमफेदी कारागारबाट छुटेका थिए।

कारागार मुक्त भएको एक महिनामै उनी कर्तव्य ज्यान सम्बनधी आरोपमा पक्राउ परेका हुन्। उनलाई २०७९ कात्र्तिकमा चितवनको माडि नगरपालिका ४ स्थित शितलपुर बस्ने जीवन नेपाली(३२)लाई हत्या गरेको आरोप लागेको छ।

सजाय मिनाहा पाएर फेरि अपराध कार्यमा संलग्न भएका कुमाल र थापा त प्रतिनिधि पात्र मात्र हुन्। अपराध कार्यमा संलग्न भएर छुटेका व्यक्तिहरू थुप्रै हुने जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ।

कतिपय कैद सजार पूरा गरेर निस्केका व्यक्ति पनि अपराध कार्यमा रमाइरहेका छन्। त्यसमध्येका एक हुन् चितवनको रत्ननगरनगरपालिका ५ का राजकुमार दाहाल (४२)। उनी दाहाल ठगी मुद्दामा एक वर्ष कैद भुक्तान गरेर निस्केका थिए। उनले पुनः दुई करोड फिरौती लिने र ज्यान लिने धम्की दिएको अरोपमा मुद्दा खेपिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, चालु आर्थिक वर्षका लागूऔषध कसुरहरूमध्ये आठवटा मुद्दामा पहिले नै अन्य कसुरमा कैद जरिवाना भुक्तान गरेका व्यक्ति छन्। ‘पहिले नै कैद भुक्तान गरेका व्यक्ति अपराध कार्यमा संलग्न हुने गरेका छन्,’ प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले भने, ‘कतिपय त राज्यले नै कैद मिनाहा गरेका व्यक्ति हुन्छन्।’  

सरकारले जघन्य र गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई आममाफी दिन थालेपछि संविधान तथा कानुनमा राखिएको प्रावधानमाथि नै विचार गर्नुपर्ने अवस्था बनेको अधिवक्ता माधव खनियाँ बताउँछन्। ‘हाम्रो कानुन नै फितलो छ। अपराधिलाई प्रोत्साहन गर्ने खालका कानुन छन्,’ उनले भने ‘सरकारले न्यायिक सम्बन्धी कानुन बनाउनु पर्ने बेला आएको छ।’  

पटकपटक अपराध कार्यमा संलग्न हुने कारण धेरै छन्। सरकारको दण्डहीनता, सामाजिक, आर्थिक, राजनीतिक कारण पनि मानिस पटकपटक अपराध कार्यमा संग्लन हुने गरेको खनियाँ बताउँछन्।

प्रकाशित: १० माघ २०८० ०३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App