कर्णालीका दुर्गम जिल्लाको लागि गर्भवती तथा सुत्केरीको ज्यान जोगाउन सरकारले निःशुल्क हवाई उद्धारको सुविधादेखि गाउँगाउँमा बर्थिङ सेन्टर र यातायात खर्चको व्यवस्था गरेको छ। तर, कर्णाली प्रदेशमा सन्तान जन्माउँदा आमाले ज्यान गुमाउनुपर्ने अवस्था कायमै छ।
भूगोलले कर्णालीलाई यसै विकट बनाएको छ, त्यसमाथि राज्यको नजरमा पनी विकट छ। मुलुकका हकमा कर्णालीको नागरिक हुनुकै दुःख अनेक छन्। त्यसमाथि महिला हुनुका कष्ट अति छ। यातायातका साधन छैनन्, भएका बाटाघाटा भरपर्दा छैनन् र गाडी गुड्ने भनेका सडक पनि मात्रै भर्खरभर्खर खनी खोस्रिएका मात्रै छन्।
शिक्षा र स्वास्थ्यको पहुँच दुर्लभ छ। सामान्य ज्वरोखोकीकै उपचार मुस्किल हुने यो ठाउँमा गर्भवती र सुत्केरीका लागि भरपर्दा स्वास्थ्य संस्था छैनन्। त्यसैले सुत्केरी हुन नसकेर बर्सेनि दर्जनौं महिलाले ज्यान गुमाउने गरेका छन्।
कालिकोटको रास्कोट नगरपालिका–२ सिप्खानाकी २८ वर्षीया सीता सार्कीको रक्तस्राव नरोकिएपछि २०७८ भदौ ४ गते मृत्यु भयो। उपचार गर्न लगिएको स्वास्थ्यचौकी सिपखानाले रास्कोटमै रहेको सामुदायिक अस्पतालमा रिफर गरेको थियो।
त्यता लैजाँदै गर्दा सार्कीको मृत्यु भएको हो। उनका नाबालक छोराको पनि ज्यान गयो। सुरुमा व्यथा लाग्दा घरमा कसैले पनि थाहा पाएनन्। जटिल बनिसकेपछि स्वास्थ्यचौकी लैजाने तयारी गर्दागर्दै उनले घरमै बच्चालाई जन्म दिएकी थिइन्।
कालिकोटकै नरहरीनाथ गाँउपालिका–७ माल्कोट निवासी मीना शाहीको त्यही वर्ष चैतमा घरमै सुत्केरी हुँदा अत्याधिक रक्तश्रावका कारण मृत्यु भयो। २०७४ साउन ९ गते नरहरीनाथ गाउँपालिकाकै रप्साकी ३० वर्षीया देवी सहकारीको पनि अत्यधिक रक्तश्रावका कारण निधन भयो।
जिल्ला अस्पताल कालीकोटमा भर्ना भएकी सहकारीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रिफर गरिएको थियो। प्रतिष्ठानतर्फ लैजाँदै गर्दा कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा उनको मृत्यु भएको थियो।
दैलेख ठाटीकाँध गाउँपालिका–१ की २२ वर्षीया पार्वती शाहीलाई २०७९ भदौ १२ गते सुत्केरी व्यथाले च्याप्यो। हतारहतार प्राथमिक स्वाथ्य केन्द्र लकान्द्रा लगियो। उनले स्वास्थ्य केन्द्र पुग्नेबित्तिकै छोरी जन्माइन्।
अत्यधिक रक्तस्राव हुन थालेपछि स्वास्थ्य केन्द्रले जिल्ला अस्पतालमा खबर गर्यो। जिल्ला अस्पताल दैलेखमा पनि उपचार नहुने बुझेपछि सुर्खेतस्थित प्रदेश अस्पतालमा लैजान भनियो। तर, एम्बुलेन्स पाइएन। बल्लतल्ल एउटा सवारी साधन फेला पर्यो। त्यसैमा राखेर उनलाई सुर्खेत लगियो। अस्पतालको गेटमा नपुग्दै शाहीको निधन भयो।
सुर्खेतको गुर्भाकोट नगरपालिका–७ की लक्ष्मी परियारलाई सुत्केरी व्यथाले च्यापेपछि परिवारका सदस्यले प्रदेश अस्पताल ल्याए। तर, उनलाई अस्पताल ल्याइपुर्याउन ढिलो भयो। अस्पताल ल्याएर जाँच गर्दा लक्ष्मीमा उच्च रक्तचापको समस्या देखियो। चिकित्सकले तत्काल शल्यक्रिया गर्ने निधो गरे। यद्यपि उनको शल्यक्रिया गर्दा गर्दै मृत्यु भयो।
यसरी कर्णाली प्रदेशमा पछिल्लो ५ वर्षमा ९० जना सुत्केरी तथा गर्भवती महिलाले ज्यान गुमाएका छन्। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीमा आर्थिक वर्ष २०७५/७६ मा १३, २०७६÷७७ मा २१, २०७७/७८ मा २०, २०७८/७९ मा १७ र २०७९/८० मा १९ जनाको मृत्यु भएको हो।
यसरी सुत्केरी आमाले ज्यान गुमाउने घटना नरोकिनुमा अनेक कारण छन् । नजिकैका स्वास्थ्यचौकीमा प्रसूति सेवा नहुनु, प्रसूति सेवा उपलब्ध स्वास्थ्य संस्थासम्म पुग्न यातायात सुविधा नहुनु लगायत छन्। घरमै सुत्केरी गराउन खोज्नु, दक्ष स्वास्थ्यकर्मी तथा उपकरण अभाव हुनु र घरपरिवारले पूर्वतयारी नगर्नुजस्ता कारणले पनि दुर्गमका अधिकांश सुत्केरी अकालमै ज्यान गुमाउनुपर्ने बाध्यताबाट मुक्त भएका छैनन्।
स्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमुख डा. संकेत विश्वकर्माका अनुसार कर्णालीमा भौगोलिक विकटता छँदैछ, त्यसबाहेक प्रायः गर्भवतीले घरमै बच्चा जन्माउन खोजेको पाइन्छ।
स्वास्थ्य संस्थामा नियमित आठ पटक स्वास्थ्य परीक्षण गराउँदैनन्। समस्या नआउँदासम्म अस्पताल सम्झिँदैनन्। परिवारले पनि प्रसूति सेवा लिन अस्पताल लैजान चासो दिँदैनन्। स्वास्थ्यकर्मीले पनि गर्भवतीलाई सुत्केरी हुने समय आउन लाग्दा स्वास्थ्य संस्था आउनुस् भनेर फलोअप गर्दैनन्। यस्ता समस्याले मातृ मृत्युदर कम हुन नसकेको उनको भनाइ छ।
‘ढिलो स्वास्थ्य संस्थामा पुग्नु, नियमित गर्भ जाँच नगर्नु, स्वास्थ्य संस्थामा आवश्यक उपकरण र दक्ष जनशक्ति नहुनु तथा पूर्वतयारीको अभाव मृत्युका कारण बनेका छ,’ डा. विश्वकर्मा भने।
गर्भवती भएपछि नियमित स्वास्थ्य जाँच गर्नुपर्छ भन्ने चेतना नहुँदा गर्भवती तथा सुत्केरीको ज्यान जोखिममा पर्ने गरेको चिकित्सको भनाइ छ। सरकारी सेवा सुविधासम्बन्धी जानकारीको अभाव, घरपरिवारको लापरबाही, घरमै सुत्केरी हुने चलन, हेलचक्याइँ र छोराको आशमा धेरै सन्तान जन्माउन खोज्दा गर्भवती तथा सुत्केरीको मृत्यु हुने गरेको छ।
निःशुल्क हवाई उद्धारले राहत
कर्णालीका कालिकोट, हुम्ला, मुगु, जुम्ला, डोल्पालगायत विकट जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन भएपछि धेरै महिलाले राहत पाएका छन्। गाउँका स्वास्थ्य संस्था सुविधासम्पन्न छैनन्। तालिमप्राप्त दक्ष जनशक्तिको सुविधा नभएका विकट जिल्लामा विशषेज्ञ स्वास्थ्य सेवा पाउने त कुरै भएन।
गाउँका गम्भीर बिरामीले अस्पताल देख्न नपाउँदै प्राण त्याग गर्थे । कति महिलाले बिरामी भएको खबर आफन्तलाई सुनाउन नपाउँदै मृत्युवरण हुनुपर्ने बाध्यता थियो। तर, कर्णालीमा गर्भवती तथा सुत्केरीको अवस्था जटिल बनेपछि गाँउमै हेलिकप्टरबाट उद्धार हुन थालेपछि अकालमा ज्यान गुमाउनबाट केही हदसम्म जोगिन थालेका छन्।
दुर्गमका गर्भवती तथा सुत्केरी महिलालाई हवाई सेवाबाट निःशुल्क उद्धार गर्ने कार्य २०७६ सालमा थालियो । कर्णालीका नौ जिल्ला, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका समेत केही जिल्लाबाट नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत बेस बनाएर उद्धार गर्ने कार्य थालेको हो।
नेपाली सेनाको पश्चिम कमाण्ड पृतना सुर्खेतका सूचना अधिकारी मेजर रेनु शाहाका अनुसार २०७६ सालयता सेनाले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हालसम्म एक सय ९७ महिलाले निःशुल्क हवाई उद्धार सेवा पाए। जसमा कर्णालीका नौ जिल्लाका मात्र १ सय ३७ जना गर्भवती छन्।
महिलाको हक अधिकार सुनिश्चित गर्दै राष्ट्र निर्माणको प्रत्येक तहमा समान सहभागिताको व्यवस्था गर्न, सबै प्रकारका हिंसा, शोषण र विभेद अन्त्य गरी महिला सशक्तीकरणलाई प्रभावकारी ढंगले अगाडि बढाउन सुरु थरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रमले कर्णालीका महिलाहरूको प्राण पनि बचायो।
राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०७३ बनेपछि २०७३ फागुन २४ गतेबाट ३५ जिल्लामा यो कार्यक्रम सञ्चालन भयो। यस कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७५÷७६ मा दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई जोखिममा परेका महिलाहरूलाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पु¥याइ गुवास्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रयोजनका लागि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन गरियो। जसका लागि अवाई कार्यविधि २०७५ र दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि हवाई उद्धारका लागि कार्यविधि २०७७ मन्त्रिपरिषद्बाट स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ।
गाउँमा प्रसूति सेवा नहुँदा सास्ती
गाउँमा प्रसूति सेवासहितको स्वास्थ्य संस्था नहुँदा मुगुको सोरु गाउँपालिका–६ का गर्भवती महिला बाटोमै सुत्केरी हुने गरेका छन् । उक्त वडाका चार बस्तीमा ४ सय ८१ घरधुरीको बसोबास छ। चारै बस्तीमा प्रसूति सेवा नहुँदा दुई घण्टा टाढा वडा नम्बर ७ स्थित सीप प्रसूति केन्द्रमा जानुपर्छ। तर, त्यहाँ नपुर्याउँदै गर्भवतीहरू बाटोमै सुत्केरी हुने गरेका छन्।
सिपमा रहेका प्रसूति केन्द्र र स्वास्थ्य चौकीबाट सेवा लिने गरेको भए पनि भौगोलिक बिकटताका कारण गर्भवतीलाई उक्त स्थानमा लैजाँदा–लैजाँदैबीच बाटोमै सुत्केरी हुने गरेको पुरुमुरु गाउँकी हाँसादेवी शाहीले बताइन्।
आफूलाई सुत्केरी व्यथा लागेपछि परिवारले सिप प्रसूति केन्द्रमा लैजाँदै गर्दा बाटोमै सुत्केरी भएर आफूले बच्चा गुमाउनुपरेको लाला छत्यालको भनाइ छ। समयमै स्वास्थ्य संस्थामा पुर्याउन नसक्दा पुरुमुरु गाउँकी रजना शाहीको मृत्यु भयो।
गाउँनजिकै प्रसूति सेवा नहँुदा र सिप प्रसूति केन्द्रमा लैजाने क्रममा आफू सुत्केरी भएको पुरुमुरु गाउँकी तोला नेपालीले बताइन्। स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउने इच्छा हुँदाहुँदै पनि सोही गाउँकी कल्पना नेपालीले २१ दिनअघि बाटोमै बच्चा जन्माइन्।
गत साउनदेखि पुस मसान्तसम्म सोरु गाउँपालिका ६ का ४४ महिलाले वडा नम्बर ७ मा रहेको प्रसूति केन्द्रमा नियमित परीक्षण गराएको तथ्यांक छ। तीमध्ये ११ जनामात्र प्रसूति केन्द्रमा आएर सुत्केरी भएका छन्। बाँकी ३३ महिला समयमै स्वास्थ्य संस्थामा पुग्न नसक्दा बाटोमै सुत्केरी भएको सिप प्रसूति केन्द्रकी इन्र्चाज सरिताकुमारी शाहीले बताइन्।
सोरु गाउँपालिकाका ११ मध्ये १० वडामा आधारभूत स्वास्थ्य संस्था र प्रसूति केन्द्र छन्। अब आफ्नै वडा बस्तीबाट गर्भवतिले सेवा पाउन भन्ने उद्देश्यले एक संस्थाले पुरुमुरु गाउँमा वैशाखसम्म सम्पन्न हुने गरी प्रसूति केन्द्र निर्माण गरिदिन लागेको गाउँपालिका उपाध्यक्ष केशर शाहीले बताए।
प्रकाशित: ९ माघ २०८० ०३:०२ मंगलबार