१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अभिमुखीकरण तालिमका १४३ केन्द्रमा १५ करोड लगानी

वैदेशिक रोजगारीमा जाने नेपालीले अभिमुखीकरण तालिम (पिडिओटी) लिएबापतको रकम वृद्धि गरेपछि चर्को विरोध भइरहेको छ। यसअघि ७ सय रूपैयाँ लिने गरेकामा तालिम प्रदायक व्यवसायीको मागअनुसार बढाएर २ हजार ८ सय पुर्‍याइएको छ।

वैदेशिक रोजगारीमा जानेलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिम दिने संस्था देशभर १ सय ४३ वटा छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यी संस्थाको मागअनुसार अभिमुखीकरण तालिमलाई २ हजार १ सय र परीक्षा शुल्कको नाममा ७ सय गरी २८ सय पुर्‍याएको छ।

शुल्क बढाइएको विषयमा चौतर्फी आलोचना हुन थालेपछि प्रधानमन्त्रीले उक्त निर्णय कार्यान्वयन नगर्न श्रम मन्त्रालयलाई निर्देशन दिएका थिए। प्रधानमन्त्रीको निर्देशनपछि सो निर्णय तत्काललाई यथावत् राखिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूचना अधिकारी कृष्ण भुसालले बताए।

वैदेशिक रोजगार विभागले शुल्क वृद्धि गर्नुका साथै व्यवसायीलाई मापदण्ड अद्यावधिक गर्न भनेको थियो। सोही आधारमा देशभरका १ सय ४३ व्यवसायीले करिब १५ करोड रूपैयाँ खर्च गरेर पूर्वाधार निर्माण गरेको बताए। तर, प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न भन्दै निर्देशन दिएपछि व्यवसायी निराश देखिएका छन्।

गत असोज ७ गते मन्त्रीस्तरीय निर्णयबाट अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ मा संशोधन गरिएको थियो। उक्त संशोधन गरेर तोकिएको मापदण्ड र आवश्यक पूर्वाधार ३५ दिनभित्र पूरा गर्न भन्दै पत्राचार गरेको थियो।

वैदेशिक रोजगार विभागले गत मंसिर २८ गते सूचना जारी गरी पुस १९ गतेसम्म संशोधित कार्यविधिअनुसार अद्यावधिक विवरण बुझाउन भनिएको थियो। उक्त समयभित्र अद्यावधिक हुन नसकेको भन्दै विभागले माघ ५ गतेसम्मका लागि समय तोकिएको थियो।

त्यस्तै, प्रत्येक प्रशिक्षण कक्षामा ८४ इन्चको स्मार्ट बोर्ड, कम्प्युटर प्रिन्टर र विभागको फेमिस प्रणालीसँग मेल खाने आइरिस रेटिना हाजिरी मेसिन (आइरिस स्क्यानर) अनिवार्य राख्नुपर्ने भन्दै सूचना जारी गरिएको थियो।

नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले विभागको परिपत्रका आधारमा व्यवसायीले झन्डै १५ करोड रूपैयाँ खर्च गरिसकेको बताए। विभागले तोकेको मापदण्डअनुसार पूर्वाधारको व्यवस्था व्यवसायीले गर्दै आएको उनले जानकारी दिए।

गौतमले सञ्चालन गर्दै आएको तालिमकेन्द्र संगम मेनेजमेन्ट सर्भिस प्रालिमा २ वटा स्मार्ट बोर्ड, एउटा आइरिस स्क्यानरलगायत पूर्वाधार जोडेका छन्। जसका लागि उनले १० लाख रूपैयाँभन्दा बढी खर्च गरेको बताए। श्रम मन्त्रालयले ७ सयबाट २८ सय पुर्‍याएको शुल्क लिन पाउने आधारमा विभागले उनीहरूलाई त्यहीअनुसारको अवगत गराउन भनेको थियो। व्यवसायीले त्यही आधारमा पूर्वाधार तयार गरेको गौतमले बताए।

वैदेशिक रोजगारीमा जाँदै गरेका महिलाको हकमा अभिमुखीकरण तालिमको शुल्क वैदेशिक रोजगार बोर्डले तिर्दै आएको छ। तर, विदेश जाँदै गरेका पुरुषको अभिमुखीकरण तालिममा शुल्क प्रायः म्यानपावर कम्पनीवालाले तिर्ने गरेको गौतमले बताए।

‘अबको हाम्रो माग भनेको गुणस्तरीय तालिम दिनुपर्छ भन्ने हो। विदेश जाँदै गरेका युवा बिदेसिएपछि अप्ठेरोमा तथा अलपत्रमा नपरून् भन्ने हो,’ उनले भने, ‘यही अभिमुखीकरण तालिमसम्बन्धी विविध बहानामा मानिसले शुल्क उठाउँदै आएका छन्। कामदारले म्यानपावरलाई लाखौंलाख रूपैयाँ बुझाउने गर्छन्। तर, २ हजार ८ सय रूपैयाँ बढी भएको छ।’

प्रधानमन्त्रीको निर्देशनपछि लगानी र व्यवसाय नै जोखिममा रहेको व्यवसायी बताउँछन्। पूर्वाधार थप गर्दा लागेको रकम र यसअघि व्यवसायीका लागि राखेको प्रतिव्यवसायी ५ लाख रूपैयाँ धरौटीसमेत जोखिममा परेको अध्यक्ष व्यवसायी गौतमले बताए।

गत बिहीबारको संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले उक्त शुल्कमा तालिम दिन नसकिने अवस्था आएपछि शुल्क बढाइएको बताएका थिए।

भण्डारीका अनुसार तालिमलाई गुणस्तरीय र प्रभावकारी बनाउँदै विदेश जानुअघि सबै कुरा सिक्न पाउने गरी तालिमलाई व्यवस्थित गर्न खोजिएको हो। सोही आधारमा शुल्क बढाउने निर्णय गरिएको तर हाल प्रधानमन्त्रीको निर्देशनमा रोकिएको उनको भनाइ थियो।

राष्ट्रिय प्रशिक्षक प्रतिष्ठान विकास समिति भैंसेपाटीका केन्द्रीय सदस्य विष्णु गोपाल गडतौलाले २०६० सालदेखि ७ सय शुल्कमा तालिम दिँदै आएको बताए। त्यसपछि २०७६ सालमा कार्यविधि परिमार्जन गरी २ दिन पढाउनुपर्ने भनिएको थियो। त्यो बेला पनि पढाउनुपर्ने समय बढाइएको तर शुल्क नबढाइएको उनले बताए।

संशोधित कार्यविधिअनुसार हालको शुल्कमा पढाउन नसकिने भएपछि सरकारले नै शुल्क बढाएको उनको दाबी छ। अहिले आएर तीन दिन १८ घण्टा (दिनमा ६ घण्टा) पढाउनुपर्ने गरी कार्यविधि संशोधन गरिएको हो।

‘वैदेशिक रोजगारीमा जाने युवा भावी दिनमा विदेशमा अप्ठेरोमा नपरून् भनेर तीन दिनभित्र भिडियोमार्फत गुणस्तरयुक्त तालिम प्रदान गर्ने हो। त्यस्तै गन्तव्य मुलुकको भाषासम्बन्धी सामान्य ज्ञान दिने, कामदारको मनोतनाव व्यवस्थित गर्ने र कामदारलाई पोख्त बनाउने हो,’ व्यवसायी गौतमले भने।
वैदेशिक रोजगारीमा जाँदै गरेका युवाले अभिमुखीकरण तालिमको परीक्षामा समावेश २० वटा प्रश्नमा १० वटा मिलाएबापत अभिमुखीकरण तालिम परीक्षा प्रमाणपत्र पाइने अध्यक्ष गौतमले बताए।

प्रकाशित: ६ माघ २०८० ०२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App