२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

दैलेखको पन्चकोशीमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिममा

भैरवी गाउँपालिका –१ जलजलेमा पेट्रोलियम पदार्थ अन्तिम अन्वेषणको लागि फाउन्डेशन तयार हुँदै। तस्विर: गोविन्द केसी/नागरिक

दैलेखको पन्चकोशी क्षेत्र आसपासमा २०७६ साल असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ। चिनबाट थप ड्रिलिङ सर्बेको लागि ल्याईने ठुला उपकरणहरु राखिने पाउण्डेशन तयारी भएसंगै अन्वेषणको काम अन्तिम चरणमा पुगेको हो।

प्रारम्भिक अन्वेषणको सर्बेको रिपोर्टमा पेट्रोलियम पदार्थ रहेको सकारात्मक देखिएसंगै थप ड्रिलिङ सर्बेको काम अघि बढाईएको हो। जसको लागि जग्गा अधिग्रहण र सडक चौडा पार्ने काम समेत अन्तिम चरणमा रहेको छ। अब हुने अन्तिम अन्वेषण भएकाले दैलेखमा कति क्षमता (भण्डारण) को पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउनुका साथै गहिराई पनि मापन हुने जनाईएको छ । परिणाम कति छ ? कहाँ कहाँसम्म फैलिएको छ ? उत्खनन्का लागि खर्च र फाईदाबारे भने अन्तिम अन्वेषण ड्रिलिङ गर्ने कार्यपछि थाहा हुने भुगर्भ विभागले जनाएको छ। यसअघि चिनियाँ टोलीले दैलेखमा रहेको श्रीस्थान, नाभीस्थान र पादुकामा बलिरहेको ज्वाला पेट्रोलियम पदार्थ नै रहेको अन्वेषणकै क्रममा पत्ता लगाएको थियो।

डेढ महिनाभित्र मेशिन चिनबाट कलकत्ता हुँदै अन्वेषण स्थलमा आईपुग्ने पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश नापितले बताए। ‘ड्रिलिङ हुने स्थानमा फाउन्डेसन सुरु भईसकेको छ।’ पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश नापितले भने, मेशिनसंगै फाउन्डेशनको काम पनि सकिनेछ। ड्रिलिङ गर्न सुरु भएको ४ देखि ५ महिनामा सकिने छ । त्यसपछि रिपोर्ट आउन समय लाग्नेछ।’ पेट्रोलियम अन्वेषणको सम्झौता म्याद यहि फागुन १६ गते सकिदैछ। प्रधानमन्त्री कार्यालयमा म्याद थपको लागि प्रस्ताव परियोजनाको कार्यालयबाट गईसकेको छ।

अन्वेषणका लागि आवश्यक पर्ने ठुला उपकरण सुर्खेतदेखि दैलेख ल्याउन कर्णाली राजमार्ग हुँदै साँगेतडा बजारबाट चामुण्डाविन्दासैनी नगरपालिकाबाट पुष्पलाल (मध्यपहाडी) राजमार्गबाट अन्तिम ड्रिलिङ सर्बे हुने स्थान भैरवी गाउँपालिकाको जलजलेसम्म चिनियाँ टोलीसहित स्थलगत अनुगमन भई ल्याईने तयारी भईरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए। सडक डिभिजन सुर्खेत मार्फत सडकको मोडहरु फराकिलो पार्न ४ करोड ३६ लाखमा ठेक्का सम्झौता गरि ठाउँटाउँमा सडकका मोडहरु चौडा बनाईएको छ। १५ मिटर लम्वाई र ४० देखि ४५ टनको ठुलो ड्रिलिङ मेशिन ल्याउन सडक साँगुरो भएको हो।

डिलिङ्गको कामलाई अघि बढाउनका लागि आवश्यक उपकरण ल्याउन सडक साँगुरो भएको हुँदा सडक स्तरउन्नतीको काम भईरहेको जनाईएको छ। नेपाली र चीनको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी ४ वटा सर्भेका काम भईसकेको छ। यसअघि टोलीले पहिलो चरण सम्भाव्यता अध्ययन र दोस्रो चरणमा ड्रिल मेसिनमार्फत अन्वेषण सकिसकेको छ। दैलेखमा रहेको पेटोलियम पदार्थको अन्वेषणका लागि खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्बे कम्पनीसँग २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा खानी अन्वेषण र उत्खनन्को काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।

दैलेखको विभिन्न स्थानमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि आवश्यक जग्गाको मुआब्जा विवाद प्रमुख जिल्ला अधिकारी खिमराज भुषालको अगुवाईमा टुंगिएको थियो। दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले भैरवी गाउँपालिका–१ जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गाको मुआब्जा विवाद समाधान भएसँगै सरकारले प्रतिरोपनी १ लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा दिएर अधिग्रहण गरिसकेको हो।

प्रकाशित: ५ माघ २०८० ०९:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App