८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

मधेसमा तिलासँक्रायत

मधेस प्रदेशमा आज तिलासँक्रायत पर्वको उमङ्ग छ। माघ सङ्क्रान्तिका दिन मनाइने यो पर्वमा घरघरै ‘लाई’ (तील, चिउरा, मुरही र जुनेलाका सख्खरको खुँदोमा मिलाएर बनाइएका लड्डु) खाने, ख्वाउने परम्परा छ।

मिथिला क्षेत्रमा मकर सक्रायत पनि भनिने यो पर्वमा ‘मकर स्नान’ को धार्मिक महत्व छ। हिन्दू परम्पराका मैथिल (मिथिलाका बासिन्दा) यो पर्वमा बिहानै धार्मिक महत्वका नदी, तलाउमा नुहाएर अब जाडो हराउने कामना गर्छन्। माघ लागेपछि हुस्सु, तुवाँलो हटेर घाम लाग्न थाल्छ। नयाँ परिकार खाने ख्वाउने चलनले यो पर्व उल्लासमय छ।

पर्वमा घरघरै चिउरा, दही, सख्खर र विभिन्न प्रकारका लाई खाने, खुवाउने परम्पराले यो पर्व आपसी भेटघाट र रुमाइलोको अवसर मानिन्छ। पर्वमा मासको दाल, अरवा चामल र घ्यूमा पकाइएको खिचडी खास परिकार मानिन्छ। पर्वका लागि बनाइएका परिकार बिहान मकर स्नानपछि ब्राह्मण, पुरोहितलाई दान गरेपछि ग्रह, दशा हट्ने र राम्रा दिन सुरु हुने विश्वास रहिआएको छ।

माघे सङ्क्रान्तिका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने र यसै दिन उत्तरायण सुरु हुन्छ। माघ सङ्क्रान्तिदेखि असार मसान्तसम्म रहने उत्तरायण अवधिमा दिन लामा र रात छोटा हुने गर्छन्। मिथिलामा बसोबास गर्ने आदिवासी थारु समुदायको तिलासक्रायत मुख्य पर्व हो। पश्चिमका थारु समुदायको सिको गर्दै यहाँ पनि यस  पर्वलाई ‘माघी’ भन्न थालिएको छ। यसै दिन थारुको नयाँ वर्ष प्रारम्भ हुन्छ।  

थारु समुदायको मुख्य पर्व हुँदा यसको विशेष तयारी हुने गर्छ। थारु परम्परामा मासुका विभिन्न परिकार खाने खुवाउने चलन छ। यसैगरी पर्वते मूलका मगर पनि माघेसङ्क्रान्तिलाई मुख्य पर्वका रुपमा मनाउँछन् मिथिलामा तिलासक्रायत पर्वको सनेस (कोसेली) छोरीचेली, मितमितिनी र इष्टमित्रकहाँ पुर्‍याउने पर्व मनाएसँगै केही दिन यो क्रम चल्छ। सख्खर, तील, घ्यूजस्ता परिकार खाने चलन छ। रासस

प्रकाशित: १ माघ २०८० ०५:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App