२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

थामिएन खोलामा अनियमित उत्खनन, संकटमा सुकुमबासी बस्ती

उपकरणबाट खुट्टी खोलामा भइरहेको अवैध दोहनका कारण पेसा र बासबाट असुरक्षित बनेका सुकुम्बासीहरू। तस्बिर: मिथिलेश/नागरिक

लहान नगरपालिका–१५ बानो गाउँको सुकुमबासीको जीवन खुट्टीखोलामा अडिएको छ। खुट्टीखोलाको पूर्वी डिलको यस बस्तीका मानिसको जीवन यसै खोलाको गिट्टी छानेर बिक्रीबाट हुने आम्दानीमा अडिएको छ।

बेल्चाबाट खोलाको बालुवा, गिट्टी छानेर बिक्री गरी जीवन बाँच्दै आएका यस बस्तीका मानिसहरू अहिले चिन्तित छन्। कारण हो खोलामा एक्स्काभेटर र लोडरको प्रवेश। पछिल्लो तीन वर्षदेखि यस खोलामा उपकरणले दोहन सुरु गरेपछि यस बस्तीका विपन्नको जीवन जिउने सहारा मात्र संकटमा परेको छैन असुरक्षित पनि बनाएको छ।

गत वर्षको बर्खामा खोलामा आएको बाढी पूर्वतर्फ हान्निएपछि ज्यान जोगाउन घर छोडेर भाग्नुपरेको बस्तीकी राधाकुमारी सदायले बताइन्। ‘पर्तीमा (चौर) रहेको हाम्रो घरसम्मै खोला पुगिसक्यो। खोलामे मसिन सँ अहिना खुनैत रहलै त हम सब जल्दीए बेघर भ जेबै (खोलामा एक्स्काभेटर र लोडरले यसैगरी अनियन्त्रित दोहन भैरहे हामी चाडै बेघर हुन्छाै),’ सदाय भन्छिन्, ‘हमर सबके दुःख हरैबाला कोइ नै छै (हाम्रो दुःखमा मलम लगाउने कोही भइदिएन)।’

खोलामा मेसिन चलाएर बेहिसाब दोहन गर्ने कार्यलाई केही स्थानीय रोक्ने प्रयास गर्दै आएका छन्। स्थानीयलाई डिभिजन वन कार्यालय लहान र जिल्ला समन्वय समितिले साथ दिँदै आए पनि त्यो अपुग भएको स्थानीय बताउँछन्।

जबसम्म प्रहरी र प्रशासनको भरपुर सहयोग हुँदैन तबसम्म अनियन्त्रित र अनियमित दोहन रोकिन्न स्थानीय लगनलाल चौधरीले बताए।

‘सरकार त गरिबके दुःखमे मलहम लगाबैबाला होइछै सुन्ने रहियै (सरकार त गरिबको दुःखमा मलम लगाउँछ सुनेकी थिएँ),’ सुकुमबासी बस्तीकी मइली सदाय भनिन्, ‘उ बात झुट छै, सरकारो पैसेबालाके साथ दैछै (त्यो झुट हो, सरकार पनि पैसावालकै साथ दिँदोरहेछ )।’

खुट्टीखोलामा एक्स्काभेटर लगाएर अनियन्त्रित र अनियमित दोहन भैरहेको स्थानीयको गुनासो आएपछि जिल्ला समन्वय समितिका प्रमुख दिनेशकुमार महतोले शुक्रबार स्थलगत अनुगमन गरेका थिए।

सो क्रममा खोलाबाट दुई थान एक्स्काभेटर र एक थान टिपरलाई प्रहरी बोलाएर नियन्त्रणमा लिएको थियो। पहिलो पटकका लागि तीनवटै उपकरणको अधिकतम ६० हजार जरिवाना भराएर पुनः खोला खन्न नआउने सर्तमा छाडिएको जिसस प्रमुख महतोले भने।

यस खोलामा पटकपटक अनियमित रूपमा उपकरण भिराएर अवैध उत्खनन भइरहेको पाइएको महतोले बताए। यस कार्यलाई नगरपालिकाले नियन्त्रण गर्नुको साटो अझ प्रोत्साहित गर्दै आएको पाइएको उनले बताए।

लहान नगरपालिकाले खुट्टी खोला उत्खननको ठेक्का चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुप कम्पनीलाई दिएको छ। पूर्वपश्चिम राजमार्गको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म राजमार्ग बनाउन ठेक्का पाएको कम्पनी हो, चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुप कम्पनी।

यस कम्पनीसँग लहान नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमले २०७९ चैत ११ गते दुई वर्षका लागि ठेक्का सम्झौता गरकी छन्। सम्झौतापत्रमा प्रतिवर्गफिट ६ रूपैयाँको दर तोकेर प्रतिवर्ष २५ हजार वर्गफिट ढुंगा, गिटी, बालुवा, ग्राभेल, स्लेट र रोडा बिक्री एवं घाटगद्दी गर्न स्वीकृति दिइएको छ।

वन नियमावलीले ढुंगा, गिटी, बालुवा, ग्राभेल, स्लेट र रोडाको प्रतिक्युबिक फिट न्यूनतम मूल्य नौ रूपैयाँ तोकेको छ। तर नगरपालिकाले तीन रूपैयाँ कम दरमा अर्थात प्रतिक्युबिक फिट ६ रूपैयाँमा सम्झौता गरेको पाइएको छ।

नगरपालिकाले उत्खनन तथा संकलन क्षेत्र खुट्टी र सर्रे खोलाको संगमदेखि उत्तरतर्फको बगर क्षेत्रलाई तोकेको छ, जुन नेपाल सरकारले २०७१ सालमा तोकेको चुरे संरक्षित क्षेत्रमा पर्छ।

नगरपालिकाले यस कम्पनीसँग गरेको सम्झौता पत्रमा एक्स्काभेटर प्रयोग गर्ने उल्लेख छैन्। तर, यहाँ एक्स्काभेटर प्रयोग गरि निरन्तर उत्खनन गरेको पाइएको छ। नगरपालिकाले चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुप कम्पनीसँग नौ महिनाअघि (२०७९ चैत ११) ठेक्का सम्झौता गरेको पाइएको छ। तर, आइइई अझै गराएको छैन।

‘ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा बिक्रीवितरण मापदण्ड, २०७७ अनुसार पनि नगरपालिकाले लगाएको ठेक्का अवैध छ। र, चाइना कम्पनीले गर्दै आएको अनियन्त्रित उत्खनन दण्डनीय छ,’ जिसस प्रमुख महतोले भने।

शुक्रबार लहान नगरपालिका–१५ र २४ को सीमानमा रहेको खुट्टी खोलामा भैरहेको अवैध दोहनमा संलग्न उपकरण नियन्त्रणमा लिँदै जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतोसहितको टोली।  

प्रकाशित: २९ पुस २०८० ०१:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App