१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कार्यकारी अधिकृत र इन्जिनियरसहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालतले सप्तकोशी नगरपालिका सप्तरीका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहाललगायत ६ जनालाइ भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। अदालतले इन्जिनियर सुदिप चौधरी र सव–इन्जिनियर रामकान्त चौधरी र निर्माण कम्पनीका ३ जनाको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले आज सोमबार दोषी ठहर गर्दै कैद र जरिवाना तोकेको छ। अदालतले राजेन्द्रप्रसाद दाहाल, सुदीप चौधरी, रामकान्त चौधरीलाई जनही ४ लाख ९९ हजार, त्यतिनै जरिवाना र ३ महिना कैद ठहर गरेको छ।

त्यसैगरी निर्माण कम्पनीका सञ्चालकहरु श्यामकान्त चौधरी, नारायणप्रसाद यादव, राजकुमार यादवलाई जनही ४ लाख ९८ हजार रुपैयाँ, जरिवाना र रकम बिगो असुलसमेत गर्नुपर्ने विशेष अदालतको ठहर छ।

नगरपालिकाको १४ लाख ९७ हजार रुपैयाँ हिनामिना गरेको अख्तियारले दाबी गर्दै मुद्दा दर्ता गरेको थियो। दाहालसहित ६ जनाको मिलेमतोमा नगरपालिकाको रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ असार ३० मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहालले सार्वजनिक खरिद ऐन र नियमावली विपरीत कानूनी प्रकृया छली सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को प्रावधानको गलत व्याख्या गरी नगरपालिकाबाट गरिने कामलाई आफ्नै एकल बोर्डको निर्णय गरेका थिए।

दाहालले आफै निर्णय गरी ३ भाग लगाई कोटेशनमार्फत ३ वटा निर्माण व्यवसायीलाई दिएको र ३ वटै निर्माण व्यवसायीहरुले नगरपालिकासँग गरेको सम्झौताविपरीत लागत इष्टिमेट गरेको अख्तियारको दाबी थियो।

सम्झौता अनुसार गुणस्तरहीन कार्य गरेको, नगरपालिकाका सवइन्जिनियर रामकान्त चौधरी र इन्जिनियर सुदिप चौधरीले लागत इष्टिमेट बमोजिम काम गरेको भन्दै झुठा प्रतिवेदन पेश गरेका थिए।

प्रकाशित: २३ पुस २०८० ११:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App