७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

बुटीबिनाको वैद्यखाना

साढे तीय सय वर्षको इतिहास बोकेको र आयुर्वेदिक औषधिमा निकै विश्वासिलो मानिएको सिंहदरबार वैद्यखानामा चार महिनादेखि औषधि उत्पादन ठप्प छ। उत्पादन बन्द भएपछि कारखानामा ताला लगाइएको छ। कारखानामा काम गर्ने कर्मचारीले तीन महिनादेखि तलबसमेत पाएका छैनन्।

सिंहदरबार वैद्यखानाका वरिष्ठ मार्केटिङ अधिकृत ऋषिराज रेग्मीले जडीबुटी नभएकाले औषधि उत्पादन बन्द गर्नुपरेको बताए। उनका अनुसार गत भदौदेखि दसैंसम्म वैद्यखानाले तीनथरी मात्र औषधि उत्पादन गर्थ्याे।

दसैंपछि ती तीनथरी औषधि उत्पादन पनि गर्न सकिएको छैन। वैद्यखानाले अब कहिलेदेखि औषधि उत्पादन सुरु गर्छ, यसको टुंगो छैन।

‘हामीलाई आवश्यक पर्ने जडीबुटी आपूर्ति गर्न ठेक्का लगाएका छैनौं। ठेक्का लगाउने तयारी भइरहेका बेला सरकारले कार्यकारी निर्देशक परिवर्तन गर्‍यो,’ रेग्मीले भने, ‘अब कहिले ठेक्का लाग्छ र कहिलेदेखि औषधि उत्पादन सुरु हुन्छ, टुंगो छैन।’

स्वास्थ्य मन्त्रालयले नै वैद्यखानामा अस्थिरता सिर्जना गरेको कर्मचारीहरूको भनाइ छ। २०५४/५५ सालतिर वैद्यखानाले १६० थरी औषधि उत्पादन गर्थ्याे। त्यसपछि सामान्यतया हरेक वर्ष एक सयथरी औषधि उत्पादन हुने गर्थ्याे।

आर्थिक वर्ष २०७९/८० मा २० थरी औषधि उत्पादन हुन्थ्यो। २० थरीबाट ३ थरीमा झर्‍यो। अहिले त उत्पादन नै ठप्प छ। स्वास्थ्य मन्त्रालयले २०८० भदौमा आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायलाई दोहरो जिम्मेवारी दियो। उनलाई सिंहदरबार वैद्यखाना विकास समितिको कार्यकारी निर्देशकको जिम्मेवारी पनि दिइएको थियो।

वैद्यखानाका कर्मचारीका अनुसार उपाध्यायले वैद्यखानामा केही राम्रो काम गर्ने प्रयास गरेका पनि थिए। उनको पालामा चाहिने जडीबुटी खरिद गर्न टेन्डर माग्ने तयारी भएको थियो।

प्रक्रिया अघि बढिरहेका बेला मन्त्रालयले उनलाई वैद्यखानाको कार्यकारी निर्देशकबाट फिर्ता बोलाएर उनको ठाउँमा २०८० कात्तिक २ गते नरदेवी अस्पतालका प्रमुख डा. प्रदीप केसीलाई पठाउने निर्णय गर्‍यो। तर केसी वैद्यखानामा जान चाहेनन्। उनले आफ्नो मानमर्दन भएको ठाने।

केसी ११औं तहका हुन्। मन्त्रालयले ११औं तहका केसीलाई वैद्यखानाको कायकारी निर्देशकमा पठाउने निर्णयसहित १० औं तहका डा. श्यामबाबु यादवलाई नरदेवी अस्पतालको निमित्त निर्देशक तोक्यो।

यसैमा डा. केसीको आपत्ति रह्यो। आफूमाथि अन्याय भयो भन्दै केसी अदालत पुगे तर वैद्यखानामा हाजिरी गर्न गएनन्। त्यसपछि वैद्यखाना नेतृत्वविहीन भयो। जडीबुटी खरिद प्रक्रिया पनि बन्द भयो। दुई वर्षदेखि वैद्यखानाले जडीबुटी खरिद गरेको छैन।

वैद्यखानामा ४३ जना कर्मचारी छन्। अहिले उनीहरू कामविहीन छन्। कार्यालय जाने र हाजिरी गर्नेबाहेक काम छैन। लामो इतिहास बोकेको वैद्यखानाबाट औषधि उत्पादन बन्द हुनु दुर्भाग्यपूर्ण भएको पूर्वकार्यकारी निर्देशक डा. श्यामबाबु यादव बताउँछन्।

उनी २०७९ असार देखि २०७९ साउनसम्म एक महिना वैद्यखानाको कार्यकारी निर्देशक थिए। सरकारले २०५१ सालमा गठन आदेश जारी गरी २०५२ साउन ६ गतेदेखि सिंहदरबार वैद्यखानालाई विकास समितिमा लगेको थियो।

२०७५ असार १८ गते सरकारले विकास समिति विघटन गर्‍यो। २०७७ सालमा वैद्यखानालाई फेरि विकास समिति बनाइयो। विकास समितिबाट अब वैद्यखाना नचल्ने कर्मचारी बताउँछन्।

‘अब विकास समितिबाट वैद्यखाना चल्दैन। सरकारले यसलाई कम्पनीअन्तर्गत चलाउनुपर्‍यो। त्यो पनि नभए आयुर्वेद विभागको एउटा अंग बनाउनुपर्‍यो,’ मार्केटिङ अधिकृत रेग्मीले भने।

वैद्यखाना कहिले नेतृत्वविहीन हुन्छ भने कहिले एकैपटक दुईजनाले आफू प्रमुख भएको दाबी गर्छन्। २०७९ साउनमा डा. सवरी शाह र डा. श्यामबाबु यादव दुवैले वैद्यखानाको कार्यकारी निर्देशक आफू भएको दाबी गरेका थिए। त्यसपछि अन्याय भएको डा. शाह अदालत गए।

अदालतले उनलाई वैद्यखानामै पठायो। सरकारले यादवलाई कार्यकारी निर्देशक तोकिसकेको थियो। करिब एक महिनासम्म कार्यकारी निर्देशकको कुर्सीमा बस्न दुवैजनाबीच हानथाप भयो।

सिंहदरबार वैद्यखाना मल्लकालीन राजा प्रताप मल्लको पालामा स्थापना भएको हो। कुनै बेला वैद्यखानाबाट उत्पादित औषधिले आयुर्वेद क्षेत्रमा एकछत्र बजार लिएको थियो तर अहिले त्यो इतिहासझैं भएको छ।

प्रकाशित: २१ पुस २०८० ००:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App