१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

एक दशकको पर्खाइ पछि नारायणी लिफ्टबाट पानी छाड्न सुरु

भरतपुर महानगरपालिका ५ स्थित आनन्दपुरका विकल अधिकारी प्रत्येक वर्ष गहुँ बाली लगाउँथे, तर कहिल्यै सिँचाइकाे पानी लगाउन पाएका थिएनन्। यसपालि भने गहुँ बालीमा  सिँचाइ गर्न पाएर मक्ख छन्।

नारायणी लिफ्ट सिँचाइ प्रणालीले हिउँदे बाली लक्षित गर्दै पानी छाडेपछि उनी गहुँ बालीमा पानी लगाउन व्यस्त छन्। ‘२२ कठ्ठामा गहुँ बाली लगाएको छु। प्रत्येक वर्ष नै लगाउँछु। यसअघि हिउँदे वर्षा भए बाली भित्र्याउन पाइने नभए खडेरीले खान्थ्यो’, सिँचाइ गर्दै अधिकारीले भने, ‘पहिलोपटक पानी आउँदा धेरै सहज भएको छ।’ सिँचाइ गर्न पाएपछि उत्पादनसमेत बढ्ने आशा अधिकारीले गेरेका छन्। ‘यसअघि आठ क्विन्टल उत्पादन हुन्थ्यो यसपालि १६ क्विन्टल होला।’

भरतपुर महानगरपालिका ४ स्थित लंकुका लक्ष्मण सापकोटा पनि दंग परेका छन्। हिउँदे वर्षाको भरमा गहुँ र तोरी लगाउँदै आएका सापकोटा नारायणीको पानी खेतमै आएपछि खुसी छन्। ‘वर्षा नहुँदा मोटरबाट पानी लगाउनु पर्दथ्यो। बिजुलीको मात्रै तीन हजारभन्दा बढी पैसा उठ्थ्यो’, उनले भने, ‘यसपटक पाँच सय रुपैयाँमा उम्कने भइयो।’ उनको एक बिघा खेतमा गहुँ र तोरी बाली लगाइएको छ। तोरी पसाइसकेको छ भने गहुँमा पानी लगाउने बेला भएको छ।

यसअघि नारायणी लिफ्ट सिँचाइ प्रणालीले समयमा पानी नछाडिदिँदा किसानलाई बर्खामा धान रोप्नसमेत समस्या हुँदै आएको थियो। एक दशकपछि पहिलोपटक हिउँदे बालीलाई लक्षित गर्दै नहरमा पानी छाडिएपछि किसानले सिँचाइ गर्न पाएका छन्। नारायणी लिफ्टले सोमबारदेखि केही परिमाणमा पानी छाडेपछि भरतपुर लंकु, कैलाशनगर मंगलपुर क्षेत्रका किसान लाभान्वित भएका छन्।

किसानको मागअनुसार, गहुँ बाली लक्षित गर्दै नारायणी लिफ्टको ‘बी’ क्यानलबाट पानी छाडिएको नारायणी लिफ्ट सिँचाइ प्रणालीका इन्जिनियर कुलप्रसाद चालिसेले जानकारी दिए। ‘बी’ क्यानबाट क्षेत्रपुरबाट, यज्ञपुरी, कल्याणपुर, श्रीपुर, कैलाशनगर, तोरी खेत, पारसनगर, केशरबाग, देवनगरसम्म पुग्छ। करिब दुई हजार क्षेत्रफलमा सिँचाइ पुग्ने उनको भनाइ छ।

‘हामीले २०६९ सालमा एकपटक हिउँदमा पानी छाडेका थियौँ। मेसिनले नधानेपछि नियमित गर्न छाड्यौँ, उनले भने, ‘नयाँ मेसिन जडान गरेपछि यसपटक गहुँ बालीका लागि भनेर नहर छाडेका छौँ।’ नारायणी लिफ्टको मुहान पोखरा बसपार्कनजिक छ। त्यहाँ नदीको सतह कम हुँदा पानी तान्न समास्या हुने गरेको उनले बताए। उनका अनुसार रातमा पानीको सतह कम हुने गर्दछ।

नारायणी लिफ्ट सिँचाइमा चारवटा नयाँ मेसिन छन्। चार घनमिटरका दुई र दुई घनमिटरका दुईवटा मेसिन छन् । एउटा पम्पबाट प्रतिसेकेन्ड दुई हजार लिटर र अर्कोबाट प्रतिसेकेन्ड चार हजार लिटर पानी तान्ने उनले बताए।

भरतपुर १ स्थित नारायणी नदीनजिकै रहेको नारायणी लिफ्ट सिँचाइ प्रणालीको पम्पहाउस मा रहेका ४० वर्ष पुराना चारवटा पम्प फेरिएको हो। सिँचाइ प्रविधिलाई आधुनिकीकरण गर्न २६ करोड ३२ लाख ४३ हजार १५१ रूपैयाँ लगानीमा मेसिन फेरिएको हो।

नारायणी लिफ्ट आयोजनाको काम २०३५ सालमा सुरु भएर २०४० सालबाट चालु रहेको हो। बीचको अवधिमा २०४९ सालमा मेसिन बिग्रिएर रोकिएको थियो। त्यसपछि निरन्तर रुपमा सञ्चालनमा आएको नारायणी लिफ्ट सिँचाइ प्रणाली उपभोक्ता समितिका अध्यक्ष पुर्णबहादुर रानाभाटले जानकारी दिए। नदीमा पानीको सतह भएसम्म यस वर्षदेखि हिउँदमा पनि पानी छाड्ने उनले बताए।

यस सिँचाइ प्रणालीमा ए, बी र सी गरी तीनवटा क्यानल छन्, जसबाट विगतमा करिब पाँच हजार हेक्टर जमिनमा सिँचाइ हुँदै आएको थियो। अहिले ५० प्रतिशतमा मात्रै सिँचाइ हुने गरेको छ। यहाँको पानी पश्चिम चितवनका सबै भागमा पुग्छ।

प्रकाशित: २० पुस २०८० ०४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App