१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

यसरी बदलिँदै छ हायु जातिको जीवनशैली

कमलामाई नगरपालिका १ कोप्चेका नैनबहादुर हायुको परिवारलाई विगतका समयमा पेटभरि खान पुग्दैनथ्यो। सो परिवारलाई भोक मेटाउन जंगलमा कन्दमूल खोजेर खानुपर्दथ्यो।

‘२० वर्षअघिसम्म हामी वनमा गिट्ठा, तरुल खोजेर खाँदै थियौँ। अहिले पहिले जसरी जंगलमा कन्दमूल पाइँदैन। जंगल विनाशसँगै मासिया’, उनले विगत सम्झिँदै भने।

तत्कालीन समयमा हायु जातिको अवस्था अत्यन्तै नाजुक थियो। आयस्रोत थिएन। पढ्ने अवसर पाएका थिएनन्। सो जातिसँग बाँसजन्य सामग्री बनाउने सीप थियो। उनले भने, ‘गाउँबाट बजार पुग्न दिनै बित्ने गर्दथ्यो। बाटो राम्रो थिएन। सवारी साधनको पहुँच थिएन। दैनिकी कठिनाइका साथका बित्ने गर्दथ्यो।’

पछिल्लो समय सो जातिको रहनसहन, बानीव्यवहार, खानपान र जीवनशैली बदलिँदो क्रममा छ। सरकारले मासिक सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेपछि सामाजिक, शैक्षिक र आर्थिक अवस्थामा सुधार आएको कमलामाई १ आधामाराका हायु समुदायका अगुवा युवा गुणबहादुर हायुले बताए। उनले भने, ‘पहिला भोक टार्ने जंगली गिट्ठा, तरुललाई हायुले यतिबेला बिर्सिन थालेसकेका छन्। पेटभरि खान पाएका छन्। बालबालिका विद्यालयमा पढ्न पाएका छन्। सडक सुविधा थपिँदै गएको छ। बिजुली बत्ती घरघरमा पुगेको छ। समग्रमा हायु जातिको जीवनशैली व्यवस्थित बन्दै गएको छ।’

सरकारले अहिले लोपोन्मुख हायुलाई मासिक चार हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ। पाँच सय रुपैयाँबाट सुरु भएको भत्ता पछिल्लो समय बढ्दै गएपछि प्रकृतिलाई पूजा गर्ने हायुको जीवनशैली व्यवस्थित बन्दै गएको उनको भनाइ छ।

ज्येष्ठ नागरिक नागरिक पूर्णिमाया हायुले सरकारले दिएको सुविधाका कारण आफूहरुको जीवनस्तर राम्रो बन्दै गएको बताइन्। “मैले कखरा पढ्न पाइनँ। त्यो बेला केन्द्रमा मात्रै छ स्कुल भन्ने सुनेकी थिएँ। हामीले पढ्ने उमेरमा स्कुल देख्न पनि पाएनौँ’, उनले भनिन्, ‘हाम्रा बालबच्चाले पढ्ने बेला घरआँगनमै स्कुल स्थापना भयो। अहिले सबै हायु बालबालिकाले पढ्न पाएका छन्।’

सिन्धुलीको मदन भण्डारी राजमार्गको पश्चिम खण्डस्थित खारखोलाबाट उकालो एक घन्टा कच्ची सडक सवार गरेपछि जंगलभित्र छरिएर रहेको बस्ती भेटिन्छ। कमलामाई १ को डाँडी गुराँसे कोप्चे क्षेत्रमा एक सय २० घर सो जाति रहेको छ।

सो क्षेत्र दुर्गम रहेको छ। त्यहाँ अझैे पनि आधुनिक विकासको पूर्वाधार पुगेको छैन।  कक्षा ८ मा अध्ययनरत प्रमिशा हायुलाई विद्यालय पुग्न दुई घन्टा पैदल हिँड्नु पर्छ। पहिला घरबाट विद्यालयसम्म पुग्न सानो गोरेटो बाटो थियो। अहिले कच्ची नै भए पनि सडक विस्तार भएको छ। घर र सहर गर्न हिउँद महिनामा दैनिक एउटा गाडी चल्छ। आफ्नो गाउँ विकसित हुँदै गएको उनको ठम्याइ छ।

लालमाया हायुका अनुसार यस लोपोन्मुख जातिको पुख्र्यौली पेसा मान्द्रो, डोको, डालो, नाग्लो, चाल्नो, भकारी बेच्ने हो। यसलाई व्यवसायी रुपमा प्रवद्र्धन गर्न नसके पनि घरायसी दैनिक कामबाट बचेको समयमा बाँसजन्य सामग्री बनाएर बेच्ने गर्दछन्। कतिपय हायूले पशुपालन र कृषि कर्म गरेर पनि आम्दानी गर्न थालेका छन्।

हायू जातिको जीवन उकास्नका लागि सडक सञ्जालदेखि विद्युत् विस्तारसम्मको काम भइरहेको वडाध्यक्ष नरेश गोलेले बताए। सबैलाई शिक्षामा जोड्का लागि हायू गाउँमै माध्यमिक तहको विद्यालय सञ्चालनको तयारी भइरहेको उनको भनाइ छ।

कमलामाई नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले लोपोन्मुख हायुको भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्नु सरकारको दायित्व भएकाले यसका लागि आफू कटिबद्ध रहेको बताए। हायूको पराम्परागत सीप र पहिचान प्रवद्र्धनमा योजना बनाएर काम गर्ने उनको भनाइ छ।

कमलामाई नगरपालिकामा मात्रै एक हजार एक सय हायु जातिले सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेका छन्। सो भत्ताले जीवनयापन सहज बन्नाका साथै जीवनशैलीमा परिर्वतन आएको उनीहरूको भनाइ छ। सरकार नै आफूहरूको भरोसा बनेको जनाउँदै सो जातीले खुसी व्यक्त गरेका छन्। –रासस

प्रकाशित: १८ पुस २०८० ०६:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App