७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

शनिवारबाट मधेसका आठै जिल्लामा शीतलहर, जोखिममा विपन्नको जीवन

जाड सँ कठुवाई छि सरकार !

तस्बिर:नागरिक

परालले छाएको सानो छाप्रो। एकातिर काठ र अर्कातिर परालकै बोझाले बारबेर गरेर चिसो भुइँमा बनाइएको डसना। त्यसमाथि पातलो सुकुल ओछ्याइको छ। नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने राखिएको छ। यो सिरहाको गोलबजार नगरपालिका –१० मुसहरी टोलकी श्यामदेबी सदायकोे बिछ्यौना हो। यही बिछ्यौनामा सिरेटो झेल्नु कम्ती कष्टकर हुँदैन उनलाई। चारजना छोराछोरी र बृद्ध सासूलाई छाप्रोभित्र राखेर श्याम दम्पती निरन्तर घर बाहिर खुला आकाशमुनि बस्छन्। जाडो छल्न उनले परालसँगै घरका पुराना कपडा बेरेर छाप्रोको भ्वाङ टालेका छन्। चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएका ओढ्ने ओढेर जसोतसो प्रत्येक वर्ष चिसो छल्छिन्।

शरीरलाई न्यानो बनाउन आगो तापेरै रात बिताउने गरेको उनले सुनाइन्। चिसो बढेपछि अति विपन्न र गरिब बस्तीमा परालकै सिरक–डसना र परालै बालेर जीवनयापन गर्नु पर्ने सदाबहार बाध्यता छ।

गोलबजार–१० को यो मुसहरी बस्ती घुर्मी खोलाको डिलमा अडिएको छ। यस बस्तीका पुरुषहरु ट्याक्टरमा मजदुरी गर्छन्। महिलाहरु कृषि र दैनिक ज्यालादारीमा काम गर्छिन्। ‘मजदुरी गरेर कमाएको पैसाले अन्नपात जोड्ने कि न्यानो लुगा? यस बस्तीका बिपन्नहरुको सामुहिक स्वर छ। बस्तीकी जँगली सदाय भन्छिन्, ‘सरकार गरिबके जाड स  बचाबके लेल कोनो उपाय नै करै छै(सरकारले गरिबलाई चिसोबाट जोगाउन कुनै उपाय गर्दैन।’ जाड स कठुवाई छि उनी भन्छिन्,‘अखन तक कोइ ने किछो देलक (चिसोले कठ्यांग्रिँदै छौं तर हाम्रो बस्तीमा सरकारी, गैरसरकारी राहत आइनपुगेको छैन)।'

शीतलहरको कहर बढ्न थालेपछि स्थानीय तहमार्फत दाउरा वितरण अभियान थालिन्छ। धेरै सम्पन्न बस्तीमै सकिन्छ। थोरै विपन्न बस्तीसम्म पुग्छ। विपन्न बस्तीमा न त संघसंस्थाकै नजर पुग्छ न सरकारकै श्यामदेवी गुनासो गर्छिन्।

शीतलहर अत्यास कथा गोलबजारको विपन्न सुकुम्बासी बस्तीको भएपनि उनीहरुले भोग्ने ब्यथा मधेसका प्रायः बिपन्नको हो। यस बस्तीको जस्तै मधेसका विपन्न बस्तीको जीवनशैली उस्तै छ। सुत्ने, ओढ्ने, ओछ्याउनेदेखि खानपान पनि मिल्दोजुल्दो। जीवन धान्ने सहारा पनि उही अर्थात् मजदुरी।

प्रत्येक वर्ष शीतलहरका कारण मधेसका विपन्नले ज्यान गुमाउनु पर्ने बाध्यता छ। अति विपन्न बस्तीका स्थानीयलाई न्यायो कपडाको अभाव र ओत लाग्ने सग्लो घर नहुँदा शीतलहरको प्रभाव पर्ने गरेको छ। उनीहरु बाक्लो कपडा किन्न सक्दैनन्। दलित समुदायका मानिस घुर तापेर जिउ तताउने गर्छन्। चिसोमा उनीहरु यही घुरको वरपर बस्छन्। आर्थिक विपन्नताका कारण सिरक डस्ना किन्न सक्दैनन्। त्यसैले पनि जाडोको मौसममा उनीहरुको अवस्था कष्टकर बन्ने गरेको हो।

शीतलहरसँगै चिसो सुरु भएपछि सरकारले लगाउन र ओछ्याउन न्यानो कपडाको प्रबन्ध गरिदिएको भए गरिबको प्राण जोगिने यहाँका विपन्न बासिन्दाहरू बताउँछन्।

न्यानो लुगा जोड्ने आर्थिक हैसियत नभएका यी बस्तीका महिला पुरुष पातलो कपडा ओढेर थरथर काम्दै घरधन्दा गर्ने गर्छन्। असह्य जाडो भए उनीहरू परालको आगोमा जीउ तताउने गर्छन्। तर, परालको आगो धेरैबेर टिक्दैन, निभिहाल्छ। अनि फेरि उस्तै कँपाइ।

मधेस प्रदेशका जिल्लामा शनिबारदेखि चलेको  शीतलहरले जनजीवन प्रभावित भएको छ। शीतलहरसँगै बढेको चिसोले बजार तथा कार्यालयहरूमा हुने चहलपहलमा पनि कमी आएको छ। शीतलहर र हुस्सुले भिजिबिलिटी कम भएपछि बिहान सडकमा सवारीसाधन चलाउन कठिन भएको छ।

शीतलहरले मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीको जनजीवन प्रभावित भएको हो। शीतलहरसँगै हुस्सुले नजिकै पनि देख्न नसकिने भएपछि गाडी चलाउन कठिन भएको सवारीचालक बताउँछन् । लहानको तापक्रम मंगलबार बिहान १४ डिग्री सेन्टिगे्रड छ। शीतलहरका कारण लहानलगायत तराई÷मधेसका बजारमा मानिसको चहलपहल कम हुन थालेको छ। विद्यालय, क्याम्पसमा विद्यार्थीको उपस्थिति घटेको छ भने न्यानो कपडा बिक्रीबाहेक अन्य व्यापार–व्यवसायमा मन्दी आउन थालेको छ।

सर्वसाधारण आगो तापेर चिसो छल्ने प्रयास गरिरहेको देखिन्छ। मधेसमा पुस पहिलो सातादेखि सुरु हुने शीतलहर माघ अन्तिमसम्म रहन्छ। यस अवधिमा मधेसका विपन्न समुदायको  जनजीवन कष्टकर हुन्छ। मधेसमा चिसोले खासगरी विपन्न परिवारका मानिस न्यानो लुगा अभावमा प्रताडित हुन्छन्। यस वर्ष पनि शीतलहरबाट मुसहर, चमार, डोमलगायत विपन्न वर्ग बढी पिरोलिएको देखिन्छ।

बिहानै खुल्ने पसल र बजार पनि ढिलो खुल्न थालेका छन्। मौसम परिवर्तनसँगै चल्न थालेको शीतलहरले व्यवसायमा समेत असर पारेको व्यापारी बताउँछन्। चिसो बढेपछि ज्याकेट र न्यानो कपडाबाहेक अन्य सामानको व्यापारमा कमी आएको उनलीहरूले बताए। चिसोले रुघाखोकी, डायरिया, दम, ज्वरोलगायत समस्याले पीडित हुनेको संख्या पनि बढेको छ। बालबालिका र वृद्धवृद्धामा चिसोका कारण स्वास्थ्य समस्या बढी देखिएको प्रादेशिक अस्पताल सिरहाका प्रमुख डा. नागेन्द्रप्रासद यादवले बताए। जाडो बढ्दै गएपछि हाडजोर्नी, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामी बढेको जानकारी उनले दिए।

मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रवीण पोखरेलका अनुसार मधेसका जिल्लाहरुमा तीन दिनदेखि शीतलहर चलेपनि यसै कारण मानवीय क्षती भएको जानकारी छैन। अहिलेसम्म शीतलहरबाट मृत्युवरण छैन उनले भने,‘शीतलहरबाट जोगीने उपायका लागि पालिकाहरुसँगको समन्वयमा न्यानो वितरण गर्न मातहतलाई निर्देशन दिइसकेका छौं।’  

प्रकाशित: १७ पुस २०८० ०५:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App