१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

उच्चस्तरीय आयोग बनाउन सरकार सहमत

बालकुमारी गाेलीकाण्ड

मृत्यु भएका वीरेन्द्र शाह र सुजन राउत

बालकुमारी गोलीकाण्ड छानबिनका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग बनाउन सरकार तयार भएको छ। सरकारले सोमबार मन्त्रिपरिषद् बैठकमार्फत आयोग गठन गरी कार्यादेश तोक्ने बताइएको छ।

‘प्रधानमन्त्रीज्यूले आयोग गठन प्रस्ताव तयार गर्न गृहमन्त्रीलाई निर्देशन दिइसक्नुभएको छ,’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नागरिकसँग भने, ‘सोमबार बिहान ८ बजे मन्त्रिपरिषद्को बैठक बसेर आयोग गठनको घोषणा हुन्छ।’ उनले सोमबारबाटै काम थाल्नेगरी आयोगलाई कार्यादेश तोक्ने तयारी छ।

कोरियामा काम गर्न जान रोजगार अनुमति प्रणाली (इपिएस) मा आवेदन दिन वञ्चित युवाले शुक्रबार ललितपुरको बालकुमारी क्षेत्रमा गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा अछामको चौरपाटी गाउँपालिका–१, सिउँडीका वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६, रानीवनका सुजन राउतको ज्यान गएको थियो।

आक्रोशित प्रदर्शनकारीले मन्त्री ज्वालाको गाडी जलाएपछि प्रहरीले गोली चलाएको थियो। सरकारले शुक्रबार प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाए पनि मृतकका आफन्तले अस्वीकार गर्दै न्यायिक जाँचबुझ आयोग बनाउन माग गर्दै आएका छन्।

मृतकका परिवार र आफन्तले ‘हत्या गर्ने पक्ष नै रहेको समितिबाट सत्यतथ्य नआउने’ भन्दै उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठनसहित आठवटा माग राखेका हुन्। माग पूरा नभएसम्म शव नबुझ्ने अडान उनीहरूले राखेका छन्। ती दुई शव आइतबार साँझसम्म अस्पतालमै छन्।

यसैबीच आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न सुझाएको थियो। सोही सुझाव र पीडित परिवारको मागका आधारमा प्रधानमन्त्री दाहाल आयोग गठन गर्न तयार भएको स्रोतको भनाइ छ।

सत्तारूढ कांग्रेसले आइतबार दिउँसो केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै बालकुमारी गोलीकाण्डको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकारको ध्यानाकर्षण गराएको थियो।

कांग्रेसले मृतक परिवारलाई स्वदेशमै रोजगारी, उचित क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न, घटना दोहोरिन नदिन विशेष नीति अवलम्बन गर्न पनि सरकारलाई सुझाव दिएको छ।

मन्त्री ज्वालाले भने, ‘प्रधानमन्त्रीज्यू र हाम्रो छलफलमा पनि आयोग आवश्यक रहेको विषयमा छलफल भइरहेको थियो। सत्तारूढ दलका शीर्ष नेताहरूबाट पनि यो कुरा आयो।’

अब सरकारले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम आयोग गठन गर्ने उनले बताए। मृतक राउतका मामा टेकबहादुर कटुवालले उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्न सरकार सहमत हुन सकारात्मक पक्ष भएको बताए।

 ‘हाम्रो मागबमोजिम आयोग गठन गर्ने कुराको स्वागत गर्छौं। हाम्रा अरू माग पनि छन्,’ उनले भने, ‘यस विषयमा अछामका साथीहरू (मृतक वीरेन्द्र शाहका आफन्त) सँग पनि छलफल गरेर अघि बढ्छौं।’

प्रकाशित: १६ पुस २०८० ०१:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App