काठमाडौं – पर्यावरण सन्तुलनमा योगदान पुर्याउँदै आएका लाटोकोसेरो तथा हुचील संरक्षणमा हातेमालो गर्ने सञ्देशका साथ शुक्रबारदेखि जिरीमा लाटोकोसेरो तथा हुचील उत्सव आयोजना हुँदैछ।
अन्तराष्ट्रिय लाटोकोसेरो महोत्सवको अबसरमा युवा सञ्जाल जिरी तथा प्रकृतिका साथीहरु नामक संस्थाले आयोजना गर्ने उत्सवमा लाटोकोसेरो र हुचील सम्बन्धि क्रियाकलाप सञ्चालन हुनेछ। किसानका साथीका रुपमा चिनिएका लाटोकोसेरोको संरक्षणमा सरोकारवाला र सर्बसाधारणको ध्यानाकर्षण गराउन उत्सव गर्न लागिएको प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यले बताए।
उनका अनुसार लाटोकोसेराको परिवारले एक सिजनमा तीन हजार वटासम्म मुसा खान्छ। साथै तिनले किरा फट्याङग्रा, सर्प, भ्यागुता नियन्त्रणमा पनि सहयोग पुर्याउँछन्।
उत्सवको पहिलो दिन चरा अवलोकन, प्रकृतिको फोटो खिच्ने कार्यक्रम, लाटोकोसेरा सम्बन्धी अस्थायी लघु म्युजियम प्रदर्शनी र टुटु लगायत स्थानीय लोपोन्मुख खेल प्रदर्शन गरिने छ । त्यो रात लाटोकोसेराको महत्व झल्काउने बृत्तचित्र प्रदर्शन गरिने छ भने अर्को दिन संरक्षण, संस्कृति तथा लाटोकोसेरा सम्बन्धी सामाग्री प्रदर्शन गरिनेछ।
उत्सवका संयोजक केन्द्र ज्योति खड्काका अनुसार उत्सवमा स्थानीय नाचगानको स्वाद समेत पस्किनेछ। कार्यक्रममा शेर्पा, जिरेल, नेवार नाच प्रदर्शन गरिने छ। साथै विद्यालय स्तरीय चित्रकला, कविता तथा निबन्ध प्रतियोगिता गरिनेछ।
उत्सवमा ८ थरि लाटोकोसेराको आवाज सुन्न र ८ वटालाई टिभीमा हेर्न पाइनेछ। उत्सवमा सहभागी हुनेका अनुहार तथा नङमा लाटोकोसेरा तथा हुचीलको चित्र बनाइने छ । कार्यक्रममा नेपालको सबैभन्दा ठूलो लाटोकोसेरोको मास्कोट प्रदर्शनी समेत गरिने आयोजकले जनाएका छन्।
अध्ययन अनुसार विश्वमा २२५ प्रजातीका लाटोकोसेरा पाइन्छ । नेपालमा २३ प्रकारका लाटोकोसेराको अभिलेख छ । तीमध्ये ९ प्रजाती दुर्लभ मानिन्छ । नेपालबाट वार्षिक दुई हजार बढी लाटोकोसेरा तथा हुचील मारिने तथा विदेशमा अबैध रुपमा पठाइने गरेको भेटिएको छ।
अहिले जिरीका विद्यालयमा लाटोकोसेरो संरक्षण सम्बन्धि चेतना शिविर चलाइएको छ। उत्सवको अन्तिम दिन तीन जना संरक्षणकर्मीलाई जनही २५ हजार रुपैयाँ सहित ‘प्रकृति संरक्षण पुरस्कार’ दिइने आचार्यले बताएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदवहादर खड्का, गिद्ध संरक्षण अधिकृत कृष्णप्रसाद भुषाल र शोभा मानन्धरले पुरस्कृत हुँदैछन् ।
उत्सवलाई जिरी नगरपालिका, जिरी प्राविधिक शिक्षालय र गौरिशंकर संरक्षण क्षेत्र परियोजना (जिक्याप) ले सहयोग गरेका छन्।
प्रकाशित: १७ माघ २०७४ १४:३१ बुधबार