पाल्पा – जिल्ला सदरमुकाम तानसेनबाट २ घण्टा पक्की सडकको यात्रापछि पूर्वी पाल्पा रामपुरको बेलडाँडा पुग्न सकिन्छ। यहाँबाट झण्डै डेढ घण्टाको यात्रापछि पुग्न सकिन्छ इलाम बिर्साउने झिरुबास गाउँ। चित्ताकर्षक रहेछ काउलेडाँडा ! सायद यहि भएर होला चियावगानको झल्को मेटाउँछ यहाँको अम्रिसो। केही वर्ष अगाडीसम्म यहाँ पुग्न निकै सास्ती खेप्नुपर्थो। तर अचेल यहाँ सहजै पुग्न सकिन्छ। अम्रिसोले यहाँको बस्तीको मुहार फेरिदिएको छ। बनमाराले भरिएको जंगलमा अम्रिसोले हरियाली बनाएको छ।
जीविकोपार्जनको बलियो माध्यम बनेको छ। पर्यटक लोभ्याउने दृश्य जताततै देख्न सकिन्छ। मानिसको दैनिकी पनि परिवर्तन भएकोछ। यहाँ आएका पर्यटकको बसाई लोभ्याउन अर्गानिक खेति प्रणालीको सुरुवात भएको छ। पशुपालनको नमूना क्षेत्र बन्दै छ, अम्रिसोको राजधानी झिरुबास गाउँ।
बिहान उठ्ने बित्तिकै देखिने सूर्योदयको दृश्य इलामको अन्तुडाँडाको भन्दा केही कम नभएको भान हुन्छ। अम्रिसो पनि इलामकै चिया बगानमा जस्तै गरि रोपण गरिएको छ। आँखाले भ्याएसम्म अम्रिसै अम्रिसो देख्दा भान हुन्छ त्यहाँबाट सुगन्ध पनि आईरहेको छ। यो समय अम्रिसो फुलेर गाउँको मुहार नै उज्यालो भएको छ। गाउँहरु घाँसपात खोज्न समेत अन्यत्र जान छाडेका छन्। अम्रिसोबाटै पशुपालन व्यवसाय फस्टाएको छ।
खादर गाउँ यहाँको स्थानीय कला सँस्कृतिले भरिपूर्ण गाउँ हो। यहाँबाट धैलागिरी, अन्नपूर्ण, माछापुच्छ«े लगायतका हिमश्रृङखलाको अवलोकन गर्न सकिन्छ। बिहानै बाख्रो चराउन हिँडाउनेहरुको दृश्य पनि कम मनमोहक होईन। खादर हिल रिसोर्टको बसाई पनि निकै स्मरणयोग्य छ। स्थानीय परिकारहरुको स्वाद जिब्रोमा झुण्डिरहने रहेछ। स्थानीय आलु, टिमुर, अदुवा, लसुनको मिश्रण प्राय सबै तरकारी भेटिन्छ। स्थानीय दाल र हरियो खुर्सानी यहाँ भित्रने पर्यटकले अधिक रुपमा रुचिकर मान्ने गरेको स्थानीयनै बताउँछन्। यहाँ अवलोकनका लागि आउने पर्यटकका लागि काउलेडाँडा वनको प्राकृतिक सुन्दर वातावरण अम्रिसोखेती मात्र नभई परम्परागत रुपमा लोपोन्मुख अवस्थामा रहेको कुडुले घर पनि रोचक र आकर्षक बनेको छ। यस क्षेत्रमा अहिले पशु विकास कार्यक्रम पनि सञ्चालनमा रहेको छ।
नेपाल सरकारको अनौठो नीति वन क्षेत्रमा लागु छ। त्यो के भने हैसियत बिग्रिएको वन क्षेत्र, हैसियत बिग्रिएका मानिसका लागि। तर अहिले हैसियत सुध्रेको क्षेत्रको रुपमा पहिचान स्थापित गरिसकेको छ। २०६६ सालमा यस क्षेत्रका कमजोर आर्थिक अवस्था भएका समुदायलाई वनको ४० वर्षे कबुलियतिले जीविकोपार्जनमा सहयोग गरेको छ। यससँगै गाउँको मुहार उज्यालोतर्फ लम्किएको छ। यहाँका मानिसहरु बिहान सबेरैदेखी व्यस्त जीवन जीउन थालेका छन्। अधिकांश मगर बस्ति र केही दलित समुदायको बसोबास रहेको काउलेडाँडा अमिस्रोको पकेट क्षेत्रको रुपमा नेपालमै नमूना बनेको छ।
छ वर्ष अघिसम्म गाउँभरिका डाँडामा बनमारा थियो। वनबाट पनि आम्दानी हुन्छ भन्ने सुन्दा यहाँका स्थानीयलाई पत्यार लाग्थेन। तर जिल्ला वन कार्यालयले उनीहरुको जीविकोपार्जनको माध्यम यहि नाङगो डाँडामा अम्रिसो मार्फत् हुने बताएसँगै स्थानीयहरु समूहमा आवद्ध हुन थाले। सामान्य खेतीपाती गरेर जीवन चलाइरहेका गाउँलेलाई वर्ष दिनसम्म खान पनि पुग्दैनथ्यो। थप जग्गा किन्ने पैसा पनि थिएन। घरका सबै बेरोजगार थिए। कमाएर ल्याउने कोही थिएनन्। युवाहरुको साथ लिएर गाउँका सबैले जंगलको मनमारा फाँडे। जिल्ला वन कार्यालयले अम्रिसोबिरुवा उपलब्ध गरायो। २०६८ सालमा उनीहरुले मनमारा भरिएको वन कबुलियति गरे।
गाउँदेखि माथिको नाङ्गोडाँडा काउलेडाँडामा रोपेको अम्रिसो बेचेर एक समूहले वार्षिक ४ लाखभन्दा बढी आम्दानी गरिरहेका छन्। समूहले गरेको आम्दानी सबैको बराबर भाग लगाईन्छ। काम गर्ने क्रममा पनि सबै मिलेर गर्छन्, यहि स्थान अहिले पर्यटकीय क्षेत्र बनेको छ। कबुलियति वनमा कृषि, पशु विकास तथा भूक्षय नियन्त्रणका कार्यक्रम समेत सञ्चालन गरिएको छ। सामुदायिक वनलाई टुक्र्याएर जनतालाई कबुलियति वन हस्तान्तरण गरेपछि आयआर्जन गर्ने बाटो खुलेको हो। हैसियत बिग्रीएको वनका रुपमा परिचय बनाएका ठाउँ हराभरा भएको छ। आम्दानी दिन लागेको छ। गाउँलेको जीवनस्तर उकास्न मद्दत भएको छ।
गाउँमा अम्रिसोको खेतीले भू–क्षय नियन्त्रणसँगै गाईभैंसीलाई खुवाउने घाँस र कुचो मार्फत् आम्दानी दिने गरेको छ। एक गाँज अम्रिसोबाट दुई किलोसम्म कूचोको फूल निकाल्न सकिने रहेछ । एक किलो फूलबाट तीन वटोसम्म कूचो बनाउन सकिन्छ। अम्रिसोको फूल प्रतिकिलो ९५ रुपैयाँसम्मका यहाँका किसानले बिक्रि गरे। अहिले भारतीय बजारको एकाधिकारले किसान ३५ रुपैयाँसम्ममा बिक्रि गर्न बाध्य भएका छन्। अम्रिसो रोपण गरेकाहरु सहकारी सञ्चालन गरेका छन्। खोरिया फडानीको बिकल्पमा थालिएको कबुलियति वन तथा पशु विकास कार्यक्रमले यहाँको डाँडाहरु हरियाली संगै उत्पादनशील भएका हुन्। आर्यआर्जनको बैकल्पिक उपाएको रुपमा कबुलियति बन पाएपनि यहाँका बासिन्दाको दैनिक नै बदलिएको छ। पर्यटकीय गन्तव्य बनेर बाहिरी मानिसहरु भित्राउने माध्यम बनेको छ।
झट्ट हेर्दा इलामकोे झल्को दिने पाल्पाको काउलेडाँडा वन पर्यटकको गन्तव्यस्थलका रुपमा विकास हुँदै गएको हो। काउलेडाँडाको माथिल्लो भागबाट उत्तरमा रहेका विभिन्न हिमश्रृङखला तथा तराईका विभिन्न स्थानको अवलोकन समेत गर्न सकिने हुँदा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको हो। झन्डै २४७ हेक्टर क्षेत्रफलमा फैलिएको काउलेडाँडा वनमा लगाएको अम्रिसोखेती, त्यहाँको मनोरम सुन्दर प्राकृतिक वातावरण अवलोकनका लागि हालसम्म ५६ जिल्लाबाट यहाँ आईपुगेका छन्। निस्दी गाउँपालिका–३, मा पर्ने साबिक झिरुबास गाविस वडा नं ४, ६, ७, ८ र ९ का झण्डै २ सय ५० घर उपभोक्ता काउलेडाँडा वनमा आबद्ध रहेर अम्रिसोखेती गर्दै आइरहेका छन्। जापानिज समाजसेवी काजुमासा काकिमी ‘ओके बाजे’ ले समेत यस क्षेत्रमा सामुदायिक विकासमा सहयोग गर्दै आएका छन्। पाल्पामा ८८ कबुलियति वनमा१ हजार १ सय १४ घरधुरीले लाभ लिईरहेका छन्। जसको क्षेत्रफल ७ सय ७२ हेक्टर रहेको छ।
कुँडुले घरहरु लोप हुने अवस्थामा
निस्दी गाउँपालिका–३, झिरुवास, खादर भित्रने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आषर्कणको केन्द्र बन्ने गरेको गोलो आकारमा बनेका कुडुरे घर भने लोप हुने अवस्थामा पुगेका छन्। यहाँ पुगेका पाहुनाहरुले सबैभन्दा पहिले यही घरको फोटो खिच्छन् र यस्तै घरहरुमा रमाएर बस्न मन पराउँछन् तर आधुनिकतासँगै यस्ता घरहरुको संख्यामा भने कमि हुँदै गएपछि स्थानीय बासिन्दाहरु चिन्तित भएका छन्। झण्डै १० वर्ष अघिसम्म खादरमा ४५ वटा भन्दा बढी यस्ता घरहरु रहेको थियो। अहिले १२ वटा मात्रै घर रहेका छन्।
प्रकाशित: १६ माघ २०७४ १०:२४ मंगलबार