२४ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

डेढ वर्षपछि बल्ल साक्षी बुझ्न आदेश

इच्छाराज तामाङ मुद्दा

विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा साक्षी बुझ्न आइतबार आदेश गरेको छ। विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उक्त मुद्दामा सरकारी पक्षका साक्षी बुझ्न आदेश गरेको हो।

आपराधिक लाभमार्फत ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार रूपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७९ भदौ १६ गते तामाङसमेतविरुद्ध आरोपपत्र दर्ता गरेको थियो।

विभागले तामाङ, उनकी पत्नी, छोरीलगायत ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता गरेको हो। यो मुद्दामा करिब ५ अर्ब रूपैयाँ बिगो मागदाबी गरिएको छ।

मुद्दा दर्ता गरेको करिब डेढ वर्षपछि विशेष अदालतले साक्षी बुझ्न आदेश गरेको हो। विशेष अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी २६ थान मुद्दा छिन्न बाँकी छन्।

मुद्दाको प्रकृति अनुसार गैरकानुनी सम्पत्ति, घुस, निर्णयगत अनियमितता, नक्कली प्रमाणपत्र र सम्पत्ति शुद्धीकरणसँग जोडिएका गरी ३५० थानभन्दा बढी मुद्दा विशेष अदालतले छिन्न बाँकी छ।

विभागले तामाङकी पत्नी सिर्जना शाक्यसँग एक अर्ब ३ करोड रूपैयाँ बिगो मागदाबी गरेको छ। त्यसैगरी छोरीहरू प्रतीक्षा तामाङसँग ६ करोड ४७ लाख ४६ हजार रूपैयाँ, प्रतिष्ठा तामाङसँग १ करोड ८९ लाख १८ हजार रूपैयाँ बिगो मागदाबी गरिएको छ।

त्यसैगरी सिभिल सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठबाट २६ करोड ६१ लाख ४५ हजार रूपैयाँ मागदाबी गरिएको छ। अभियुक्त मीनाकुमारी श्रेष्ठको नाममा काठमाडौंका विभिन्न स्थानमा रहेका ७ कित्ता जग्गासमेत जफत गर्न माग गरिएको छ। विभागले तामाङको घर, जग्गा, सम्पत्ति जफतको माग पनि गरेको छ।

तामाङसमेतविरुद्ध ठगी आरोपमा काठमाडौं जिल्ला अदालतमा दर्ता मुद्दा विचाराधीन छ। संविधानसभाका सदस्यसमेत रहेका इच्छाराज तामाङ डिल्लीबजार जेलमा पुर्पक्ष थुनामा छन्।

 विभागको दाबीअनुसार तामाङले सहकारी संस्थामा सर्वसाधारण बचतकर्ताले राखेको रकम आफू र परिवारका सदस्यका नाममा ल्याउन विभिन्न प्रकारको उपाय अपनाएका थिए। आरोपितले सिभिल सहकारी संस्थामा बचतकर्ताले राखेको रकम आफूखुसी चलाएको विभागको आरोप छ।

इच्छाराज, केशवलालसमेतले कसुरबाट आर्जित सम्पत्तिको स्रोत लुकाउने, छल्ने, हस्तान्तरण र रूपान्तरणसमेतका निषेधित काम गरी सम्पत्ति शुद्धीकरणको कसुर गर्ने इच्छित मनसाय राखेको विभागको दाबी छ।

‘आफ्नो परिवारका मानिसबीच अंशवन्डासमेत गरी/गराई आफू एवं परिवार संलग्न रहेका सिभिल होम्स प्रालि लगायतका विभिन्न व्यावसायिक कम्पनीहरूमार्फत घरजग्गाको कारोबारसम्बन्धी व्यवसायमा गैरकानुनी स्रोतको रकम लगानी गरी’, विभागको आरोपपत्रमा उल्लेख छ, ‘त्यस्ता व्यावसायिक कार्यहरूबाट थप सम्पत्ति आर्जन गरी अन्य प्रतिवादीहरू सिर्जना शाक्य (तामाङ), प्रतिष्ठा तामाङ, प्रतीक्षा तामाङ र मीनाकुमारी श्रेष्ठसमेतका नामबाट कारोबार गर्ने एवं सम्पत्ति लुकाइछिपाई राखी सम्पत्ति शुद्धीकरणको कसुर गरेको तथ्य पुष्टि हुन आयो।’

विशेष अदालतमा दर्ता मुद्दामध्ये ४१ प्रतिशतमा कसुर ठहर, २८ प्रतिशतमा आंशिक कसुर ठहर र ३१ प्रतिशतमा कुनै कसुर ठहर (सफाइ मिलेको) नभएको आर्थिक वर्ष २०७९/८० को तथ्यांक छ।

प्रकाशित: २ पुस २०८० ०१:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App