१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

चुँदारा समुदायको पेसा संकटमा

गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा संकटमा परेको छ। चुँदारा समुदायले परम्परागत रूपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए।

हिजोआज प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिकका सामग्री आउन थालेपछि परम्परागत हातले बनाएका काठका सामग्रीको प्रयोग घटेको मालिका गाउँपालिकाको घमिरका नरबहादुर कार्कीले बताए। आयातीत प्लास्टिकका सामग्रीले काठका भाँडालाई विस्थापित गरिदिँदा पेसा नै संकटमा परेको उनको भनाइ छ।

आधुनिक प्रविधिसँगै स्थानीय बजारमा सस्तोमा आकर्षक तथा आधुनिक भाँडाकुँडा प्रयोगमा आउन थालेपछि चुँदारा समुदायको पुख्र्यौली पेसा संकटमा पर्न थालेको हो।

‘ग्रामीण क्षेत्रमा गिठीको काठबाट निर्माण गरिएका ठेका, आरहरू दूध, दही र मही राख्नका लागि प्रयोग गरिन्छ’, कार्कीले भने, ‘काठका भाँडामा राख्दा दही र मही चाँडो नबिग्रने र खानका लागि स्वादिलो र राम्रो मानिन्छ।’ आधुनिकताले गाईभैंसी पाल्ने, दही, मही बनाउनेको कमी हुँदै जाँदा काठका भाँडा प्रयोगमा कमी आएको उनको भनाइ थियो।

पछिल्लो समय गाउँघरमा काठबाट निर्मित सामग्री विस्तारै लोप हुँदै जान थालेको मुसीकोट नगरपालिका २ का रेशम चालिसेले बताए। नयाँ पुस्ता विस्तारै गाउँ छाडेर सहर तथा विदेश पलायन हुने र पुराना पुस्तामा सीप भए पनि बजारीकरण गर्न नसक्दा समस्या भएको उनको भनाइ थियो।

‘परम्परागत पेसा र पुराना सामग्रीको प्रयोग तथा कला, संस्कृतिको संरक्षण गर्न स्थानीय पालिका र पेसाकर्मीले खासै चासो दिन सकेका छैनन्’, चालिसेले भने, ‘सीप जानेकाले हस्तान्तरण गर्न नसक्नु, बजारीकरणको कमीलगायत कारणले काठका भाँडा र भाँडा बनाउने पेसा नै लोप हुँदै जान थालेका हुन्।’

बजारमा पाइने प्लास्टिकबाट निर्मित भाँडा झट्ट देख्दा आकर्षक हुने र मूल्य पनि काठका भाँडाको तुलनामा कम पर्ने भएकाले यस्तो समस्या आएको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले बताए। परम्परागत सामग्री, कला तथा संस्कृतिसँग जोडिएको काठका भाँडा बनाउने पेसाको संरक्षण, संवद्र्धन र प्रवर्द्धनका लागि पालिकाले चुँदारा समुदायलाई सहयोग गर्ने नीति बनाएको उनले जानकारी दिए।

‘परम्परागत शैलीबाट निर्माण हुने काठका सामग्री बनाउन बढी समय लाग्ने र खर्च पनि बढी हुन्छ। बजारमा यस्ता सामग्रीको खपत निकै कम हुन थालेको छ’, परम्परागत रूपमा यो पेसा गर्दै आएका यमन सुनारले भने। बिक्री कम हुने भएकाले यो व्यवसायबाट जीविकोपार्जनमा समस्या हुन थालेको उनले बताए।

‘गाउँघरमा पाइने काठबाट निर्माण गरिएका सामग्री बिक्रीका लागि लैजाँदा कहिलेकाहीं त बिक्री नै नभएर फिर्ता ल्यानुपरेको छ’, सुनारले दुखेसो पोखे। काठबाट निर्मित भाँडाको महत्वका बारेमा जानकारी नभएकाले पनि पछिल्लो समयमा चुँदारा समुदायको पेसा संकटमा परेको उनले बताए।

सुनारका अनुसार गाउँघरमा गिठीको काठबाट निर्माण गरिएका ठेकाको मूल्य बजारमा प्रतिमाना सात सयदेखि एक हजार रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ। जिल्लामा आयोजना गरिने मेला महोत्सवसँगै ग्रामीण क्षेत्रका बजार र सदरमुकामका केही सहकारी पसल र कोसेली घरहरूमा यस्ता प्रकारका सामग्री बिक्रीका लागि राखिने गरिएको उनले जानकारी दिए।

प्रकाशित: ३० मंसिर २०८० ०९:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App