१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

पालो कुरिरहेका अमरेशको आज पनि आएन

सर्वोच्च अदालतमा एनसेल शेयर खरिदबिक्री प्रकरणविरुद्ध प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले दर्ता गरेको रिट निवेदन आज बिहीबार पनि हेर्न नभ्याइनेमा परेको छ।

शुक्रबार दर्ता भएको रिट निवेदन आइतबारदेखि लगातार पाँच दिन हेर्न नभ्याइनेमा पर्दै आएको छ।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा परेको रिट निवेदन आज पनि हेर्न नभ्याइनेमा परेको हो। न्यायाधीश फुयाँलको इजलासमा २२ थान मुद्दा रहेका थिए। तीमध्ये ७ थान मुद्दा हेर्न नभ्याइनेमा परेका हुन्।

आइतबारदेखि आजसम्म लगातार पेशी चढेपछि पालो कुर्दै आएका अमरेशका कानुन व्यवसायीले आज सुनुवाइ हुनेमा ढुक्क थिए। तर, आज पनि हेर्न नभ्याइनेमै परेको हो।

सात वर्षअघि १ खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले हालसालै नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई जम्मा ६ अर्ब ५० करोडमा बिक्री गरेको गरेपछि विवाद भएको हो।

कानुनी प्रक्रियालाई मिचेर मुलुकलाई हानी पुग्ने गरी अपारदर्शी ढंगले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर खरिदबिक्री भएको दाबी गर्दै प्रतिनिधिसभाका सदस्य सिंह आफैले रिट निवेदन दर्ता गराएका हुन्। 

यस अघि उच्च अदालत पाटनमा परेको एनसेलविरुद्ध परेको रिट निवेदनमा अल्पकालीन अन्तरिम आदेश जारी भैसकेको छ। एनसेलको शेयर खरिद बिक्री प्रक्रिया रोक्नका लागि आदेश भैसकेको छ। उच्च अदालत पाटनको आदेश बमोजिम पनि एनसेलले शेयर बिक्री गर्न नपाउने भैसकेको छ।

रिट निवेदक सांसद सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाएर शुक्रबार दर्ता गराएका थिए।

प्रकाशित: २८ मंसिर २०८० ११:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App