१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

छोरा बुहारीबाट अपहेलित भएका घटनाले रसाए सबैका आँखा

नेपालगन्जमा बुधबार बेलुकी आयोजित आमा सेमिनार कार्यक्रममा भाव विह्वल हुँदै सहभागीहरू। तस्बिर : नागरिक

मानव सेवा आश्रमले नेपालगन्जमा ‘आमा सेमिनार’ गरेको छ। मानवता प्रवर्द्धन कार्यक्रमअन्तरगत आश्रमको नेपालगन्ज शाखाले बुधबार बेलुकी उक्त सेमिनार गरेको थियो।

करिब साढे तीन घन्टासम्म चलेको सेमिनारमा मानव सेवा आश्रमका परिकल्पनाकार एवं संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले छोरा तथा बुहारीबाट अपहेलित कयौं आमा र बुबाका दुःख एवं वेदना सुनाउँदा हलमा उपस्थित सबैका आँखा रसाएका थिए।

आँखा रसाइरहँदा केहीबेरसम्म वातावरण फरक बन्न पुगेको थियो। त्यस समयमा उपस्थित सबैले आफ्ना आमा, बुबा, गुरु र नेपाल आमालाई सच्चा मनले माया गर्ने प्रण गरे। सेमिनारमा आश्रमले गर्दै आएका काम र सडकपेटी तथा आश्रममा बसेका केही ज्येष्ठ नागरिकका वेदना सुनाइएको थियो।

सन्तानले आफ्ना आमा र बुबाप्रति सच्चा मनले माया गर्ने हो भने मुलुकमा आश्रमको आवश्यकता नपर्ने अध्यक्ष अधिकारीले बताए। २०८२ सालमा नेपाललाई सडक मानवमुक्त राष्ट्र घोषणा गरिने उनले जानकारी दिए।

परिवारबाट अपहेलित हुनुपर्दा कतिपय बुबाआमा सडक पेटीमा पुगेका छन्। कतिपयले घरभित्र खुम्चिएर बस्नुपरेको छ। सुन्दर र सभ्य समाज निर्माण गर्न आमा सेमिनारले महत्वपूर्ण भूमिका निर्वाह गरेको अधिकांशले प्रतिक्रिया दिएका छन्। सेमिनारले सकारात्मक प्रभाव पारेको उनीहरूले महसुस गरे।

आमा सेमिनारलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं लुम्बिनी प्रदेशका कृषिमन्त्री भण्डारीलाल यादवले मानव सेवा नै धर्म भएको बताए। मान्छेले आफ्नो सच्चा मनबाट मानवलाई सेवा गरेपछि धर्म कमाइने उनले सुनाए।

मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र, प्रेम र आफूलाई जन्मदिने मातापिताको महत्व बोध गराई, प्रेम, सद्भाव र करुणा जनजन र मनमनमा पुर्‍याउने उद्देश्यले सेमिनार आयोजना गरिएको आश्रमले जनाएको छ।

देशलाई नै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माणको परिकल्पना गरी सेवा गरिरहेको आश्रमले उक्त सेमिनार बाँकेलाई केन्द्र बनाई जिल्लास्थित जनप्रतिनिधि, राजनीतिक दल, सरोकारवाला, नागरिक समाजका अगुवा, शिक्षक, विद्यार्थीहरूलाई सहभागी गराइएको हो।

आमा सेमिनारलाई चार सयजनाले अवलोकन गरेको आश्रम बाँकेले जनाएको छ। मानवता अध्ययन केन्द्रको व्यवस्थापनमा उक्त सेमिनार निःशुल्क गरिएको थियो। आश्रमको केन्द्रीय कार्यक्रमअन्तरगत यस वर्ष ४५ स्थानमा आमा सेमिनार गर्ने योजना छ।

आश्रमको नेपालगन्ज शाखामा ५० जनाले आश्रय लिइरहेका छन्। आश्रमका लागि  भवन निर्माण गर्न नेपालगन्जका वरिष्ठ समाजसेवी एवं दानवीर जयकेश सिंहले आफ्नो १० कट्ठा जमिन प्रदान गरेका छन्।

प्रकाशित: २८ मंसिर २०८० ०४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App