१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गाउँघरमै डाक्टर देख्दा हर्षको आँसु

पातारासीमा स्वास्थ्य शिविर

जुम्लाको पातारासी-४ तिर्खुमा सेनाद्वारा सञ्चालित स्वास्थ्य शिविरमा उपचार गराउँदै स्थानीय। तस्बिर: गोल्डेन/नागरिक

जुम्लाको पातारासी-४ तिर्खु गाउँका ८७ वर्षीय कालो बोहोरा डाक्टरसँग जँचाउन पाउँदा खुसी भए। वृद्ध अवस्थामा डाक्टरलाई देखाएर आफ्नो रोगका बारेमा गुनासो राख्न पाएकामा उनी दंग थिए। ‘हाम्रा गाउँघरमा पनि यसरी डाक्टर आउने रहेछन्, ‘उनले भने, ‘सबै कुरा भन्न पाएँ। त्यसैमा खुसी लागेको छ।’ बोहोरा मात्र होइनन्, सोही वडाको डोल्काटी गाउँकी ८० वर्षीया लामा पनि निकै खुसी थिइन्।

घरआँगनमै डाक्टरको सेवा पाएकाले उनका आँखाबाट हर्षका आँसु बगे। ‘यस्ती बुढी भइयो,’ उनले भनिन्, ‘पहिलोपटक डाक्टरसँग गाउँघरमै जँचाउन पाइयो।’

नेपाली सेनाको नन्दाबक्स गणले आइतबार राखेको निःशुल्क स्वास्थ्य शिविरमा एकै दिन ५ सय ४८ जनाले सेवा लिएका छन्। यसरी सेवा लिनेमा ज्येष्ठ नागरिक र महिला बढी थिए। जुम्लाको पातारासी गाउँपालिका–४ डिल्लीचौरस्थित मानवशास्त्री डोरबहादुर विष्टले बनाएको कर्णाली इन्स्टिच्युट भवनमा शिविर राखिएको थियो।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनको अवसर पारेर शिविर आयोजना गरिएको पातारासी गाउँपालिका, महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले बताइन्।

शिविरमा ४ सय २१ महिला सहभागी थिए। पुरुषको संख्या १ सय २७ थियो। शिविरमा उपचार गर्न आउनेलाई निःशुल्क औषधीसमेत वितरण गरिएको नन्दाबक्स गण जुम्लाका गणपति सुमन श्रेष्ठले बताए।

उनले भने, ‘जनताको स्वास्थ्य अवस्था सुधारका लागि गाउँमै विशेषज्ञ चिकित्सक ल्याएको हो। विशेषज्ञ चिकित्सक गाउँमै आएर उपचार गर्दा जनता निकै उत्साहित भए। दुर्गमका बासिन्दाका लागि यो शिविरले धेरै फाइदा पुगेको छ।’

शाखा प्रमुख गिरीका अनुसार सोही वडाको ऋणमोक्ष मावि डिल्लीचौरका ३ सय ५० विद्यार्थीलाई लैंगिक हिंसा सम्बन्धी जनचेतनामूलक सचेतना गरिएको थियो।

कार्यक्रममा ‘म हिंसा गर्दिनँ, म हिंसा सहन्नँ र हिंसा भएको देखेमा प्रतिकार गर्छु’ भन्ने सन्देशमूलक नारा लगाइएको थियो। गाउँपालिकामा रहेका प्रत्येक स्वास्थ्य चौकीमा आमाहरूसँग लैंगिक हिंसाबारे अन्तक्रिया गरिएको गिरीले बताइन्।

ढाड दुखाइ, आँखाको कमजोरी र ज्वरो आउने समस्याले ग्रसित बिरामीले गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पाउँदा स्थानीय महिला गोरी बुढा खुसी हुँदै भनिन्, ‘सेनाले गाउँमै विशेषज्ञ चिकित्सक ल्याएर उपचार गराइदिएकोप्रति निकै खुसी छु।’

गाउँमा सेवा दिंदै गर्दा उपचार हुन नसकेका बिरामीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल, जुम्लामा लगेर उपचार गर्ने व्यवस्था मिलाइएको छ।

बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म विशेषज्ञ सेवा दिइएको थियो। पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले खेतीपातीमा व्यस्त रहेर अस्पताल जान नसकेका र घरायसी कामका कारण स्वास्थ्य सेवा लिन नसकेका बिरामीलाई लक्षित गरेर विशेषज्ञ सेवा प्रदान गरिएको बताइन्।

‘स्थानीय पनि निकै उत्साहित भएर स्वास्थ्य सेवा लिन सहभागी भए। नितान्तै खुसी छौं,’ उनले भनिन्, ‘सेनाले स्वास्थ्य सेवामार्फत जनसम्बन्ध सुमधुर बनाउन थालेको अनुभूति भएको छ।’

अधिकांश महिलामा पाठेघरको समस्या भेटिएको डा. आशिष् खड्काले बताए। महिलामा पाठेघरको क्यान्सरको जोखिम, सेतो पानी बग्ने र महिनावारी भएको बेला रक्तश्राव हुने समस्या बढी देखिएको उनले बताए।

उनीहरूलाई परिश्रम गर्नुपर्ने र आवश्यक औषधी एवम् पर्याप्त पोसिला खानेकुरा खानुपर्ने समेत सुझाव दिइएको छ। परिपक्व नभई बच्चा जन्माउनु, कार्यभार धेरै हुनु, चुरोट–तमाखुको प्रयोग गर्नु, लगातार गह्रौं भारी बोक्नु, आराम नगर्नुलगायतका कारणले दुर्गमका महिलामा पाठेघर क्यान्सरको जोखिम बढेको डाक्टरको भनाइ छ। सेवा लिएका पुरुष, बालबालिका, युवायुवतीहरूमा ग्यास्ट्रिक, हाडजोर्नी, छाती दुख्नेलगायतका समस्या बढी देखिएको उनी बताउँछन्।

प्रकाशित: २६ मंसिर २०८० ०४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App