१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

राजधानी गुम्दाको पीडा : हामीमाथि ऐतिहासिक अन्याय भयो

डोटी – गणतन्त्र माग्दै देशव्यापी चर्किएको जनआन्दोलन २०६२/०६३ अन्तर्गत डोटीमा भैरहेको आन्दोलनको अग्रमोर्चामा थिए नेपाली कांग्रेस डोटीका युवा नेता बिजय खड्का। उनले ‘जनतालाई सर्वाधिकार सम्पन्न पार्ने’ आन्दोलनका रुपमा बुझेका थिए त्यो आन्दोलनलाई। त्यसैले उनी गणतन्त्रका पक्षमा ‘गगनभेदी’ नारा घन्काउदै लागेका थिए।

बुधबार साँझ भने उनी भक्कानिए। नेपाली कांग्रेसकै सभापतिले नेतृत्व गरेको सरकारले डोटीको ऐतिहासिक बिरासत खोस्दै ७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढी तोकिदियो। गणतन्त्रका लागि लडेको आफ्नै पार्टीले गरेको निर्णय उनलाई ‘ऐतिहासिक अन्याय’ लाग्यो। ‘कल्पना गरेको थिएन्। यति ठूलो अन्याय हुन्छ भनेर’, भावुक हुँदै उनले भने, ‘तर, भयो। इतिहासले, निरंकुश राणा, पञ्चायतले समेत दिएको जायज अधिकार गणतन्त्रले खोस्यो। जुन पार्टीका लागि रगत÷पसिना बगायौ उसैले खोस्यो।’

सरकारको निर्णयले उनीजस्तै अधिकांश दिपायलबासी स्तब्ध बने। ‘शंका अबश्य गरेका थियौ, तर बिश्वास थिएन। यस्तो निर्णयको,’ दिपायलमा राजधानी माग्दै लामो समयदेखी भैरहेको आन्दोलनको नेतृत्व गरेका डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले भने, ‘अरुलाई अधिकार दिएको गणतन्त्रले हाम्रो अधिकार खोस्यो।’

शक्तिशाली जुम्ला(खस) राज्यसंग छुट्टीएर निरयपालले डोटीलाई छुट्टै राज्यको रुपमा स्थापित गर्दादेखी नै डोटी यसक्षेत्रको केन्द्र रहँदै आएको छ। जसले यस क्षेत्रको भाषिक, सांस्कृतिक, सामाजिक चेतना, सभ्यता लगायतको पनि अगुवाई गर्दै आएको छ। राणाशासनकालमा देशभरीकै चार ओटा ‘प्रशासनिक गौणा’ मध्ये पश्चिमको प्रशासन हेर्ने डोटी गौणा नै थियो। पञ्चायतकालमा बिभाजन गरिएका पाँच बिकास क्षेत्रमध्ये सुदूरपश्चिम बिकास क्षेत्रको क्षेत्रीय सदरमुकाम दिपायल नै थियो। यी सबै कालखण्डमा दिपायल ‘राजधानी’ नै रहेको यहाँका बासिन्दाको तर्क छ। उनीहरुले बुधबारको सरकारको निर्णयलाई ‘राजधानी खोसिएको’ रुपमा परिभाषित गरिरहेका छन्। ‘अहिलेको सरकारको निर्णयले दिपायलको राजधानी खोसिएको रुपमा हामीले बुझेका छौ,’ नेपाली कांग्रेस डोटीका पूर्ब उपसभापति रामप्रसाद उपाध्यायले भने, ‘राजधानी  हिजोदेखी नै दिपायल थियो। भाषा र कामकाज मात्रै फरक हो। यो निर्णयले ईतिहासकै ठुलो अन्याय हामीलाई भएको छ।’

यसबाहेक ऐतिहासिक निरन्तरता, भौगोलिक केन्द्रबिन्दु, भौतिक पूर्बाधारको पर्याप्तता, प्राकृतिक स्रोतसाधनको उपलब्धता, सामरिक सुरक्षाको सहजता लगायतका सबै मापदण्डहरुले दिपायल उपयूक्त भएकाले दिपायल नै राजधानी कायम हुनुपर्ने यहाँका आन्दोलनकारीहरुको तर्क थियो।

तीब्र जनआक्रोश, आन्दोलन चर्काइने

अस्थायी मूकाम धनगढी तोकेपछि २२ दिनदेखी भैरहेको आन्दोलन झन् भड्किएको छ। आन्दोलन निकै उग्र रुपमा जाने संकेत देखिएको छ। साँझ आएको निर्णयपछि दिपायल तनावग्रस्त बनेको छ भने, प्रहरी र प्रदर्शनकारीहरु बिच मुडभेटको स्थिती सिर्जना भैरहेको छ।

यसअघि पौष १९ देखी २४ गतेसम्म ‘आमहड्ताल’ भएको थियो। सोही क्रम बुधबारबाट फेरि शुरु भएको छ। बुधबार बिहानैदेखी पुरै डोटी ठप्प छ। सवारी साधनहरु चल्न सकेका छैनन्। बजार, सरकारी तथा गैह्रसरकारी कार्यालय, शिक्षण पूर्ण रुपमा बन्द छन्।

आन्दोलनलाई शसक्त रुपमा अघि बढाउने तयारी आन्दोलनकारीहरुले गरिरहेका छन्। ‘अब कठोर आन्दोलनको बिकल्प छैन। त्यसैले जनताको ईच्छा अनुसार आन्दोलन हुन्छ,’ नेकपा एमाले डोटीका अध्यक्ष चक्र मल्लले भने, ‘त्यो आन्दोलन राज्यको कुनै शक्तिले रोक्ने खोजे रोकिनेवाला छैन्।’ आन्दोलनकारीहरुले बुधबारको दिनलाई डोटीको लागि कालो दिन भएको टिप्पणी गरिरहेका छन्।

प्रकाशित: ३ माघ २०७४ १२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App