कृषकहरूले खेतलाई सफा राख्ने नाममा आगो लगाई मित्र जीव मास्ने गरेका छन । धान र गहुँ बाली काटे पछि कृषकहरूले खेतमा आगो लगाउने गरेका हुनआगलागीले खेतमा रहेका मित्र जीवहरू गडौला, बेक्टेयिरा लगायतका मित्र जीवहरू नासिने गरेका छन।
जथाभाबी खेतमा आगो लगाउनाले आगलागीको घटनामा समेत वृद्धि भएको छ।प्रहरीका अनुसार खेतमा लगाइएको जथाभाबी आगलागीले आगलागीका घटनामा समेत वृद्धि भएका छन। जिल्लाका अधिकांश कृषकहरूले कम्बाईनले धान र गहुँ स्याहार्ने गरेका छन। कम्बाईनले धान स्याहारे पछि खेतमा धान र गहुँका ठुटा रहने गर्छ।त्यही ठुटा र छवालीलाई कृषकहरूले आगो लगाउने गरेको कृषि कार्यालयका कर्मचारीहरू बताउँछन्।
कृषकहरूले खेत खेतमा उत्पादन भएका धान बाली कम्बाईन मेशिनले स्याहारेर घर भित्राई सकेका छन्। खेतमा बचेका धानका डाँठ र छ्वालीलाई उनीहरुले आगो लगाएर खेतमा नष्ट गर्ने गरेका छन् । ठाउँ ठाउँमा खेतमा आगो लगाइएको दृश्य अहिले सामान्य जस्तो बनेका छन् । धान र गहुँ कम्बाईले काटे पछि कृषकहरूले बाँकी रहेको नलमा हरेक वर्ष २ पटक अर्को बाली लगाउन सजिलोका लागि आगो लगाउने गर्छन।
कम्बाइन हार्वेस्टरले क्षणभरमै धान र गहुँको नल र दाना छुट्ट्याउँछ।कम्बाइन हार्वेस्टरले धान र गहुँको बोट अर्थात् नलको आधा भाग खेतमै छोडिदिन्छ। खेतमा रहेको नल ननिकाल्दा खनजोत गर्न कठिन हुन्छ। काटेर निकाल्न खर्चिलो हुन्छ । यस कारण नल नष्ट गर्न खेतमा आगो लगाउने चलन सुरु भएको हो।आगो लगाउँदा खेत, आली र कान्लामा उम्रेका काँडा प्रजातिका झारपात नष्ट हुन्छन् र बाली नोक्सान गर्ने किराफट्यांग्रा पनि मर्छन् भन्ने किसानहरूको बुझाइ छ।
कृषकहरूको यो कार्यले गर्दा आगलागीको जोखिम बढेको छ नै त्यो भन्दा पनि खेतमा रहेको माटोको उर्वराशक्ति नाश गरेर उनीहरुले आफ्नो खुट्टामा आफैले बन्चरो हानी रहेको कृषि प्राविधिकहरू बत्ताउँछन् । ‘ अज्ञानताका कारण कृषकहरूले अहिले खेतमा आगो लगाउने गरेका छन्, यसले आगआगीको जोखिम बढेको छ ’ कृषि ज्ञान केन्द्रका प्रमुख भास्कर पौडेलले भने ‘ यसले खेतमा रहेको माटोको उर्वराशक्तिलाई समेत कृषकहरूले आफैले नष्ट गरी रहेका छन ’।
धानको डाँठ र छ्वालीलाई जलाए पछि मल हुने कृषकहरूको बुझाई छ।जथाभाबी लगाइने आगोले गर्दा खेतमा रहेका मित्र जीव, घाँसपात, हरियाली जलेर नष्ट हुँदा माटोलाई चाहिने पोषक तत्त्व समेतलाई नोक्सानी हुने गरेको उनी बताउँछन् । ‘ गडौला, ब्याक्टेरिया लगायतका मित्र जीवाणुहरू नाश भए पछि माटोको उर्वराशक्तिमा ठुलो ह्रास आउँछ, जसले गर्दा उत्पादन समेत कमी आउँछ ’ उनले भने।खेतमा रहेका घाँसपात समेत आगलागीले नष्ट भएकाले पशुहरूलाई चर्न समेत समस्या हुने उनले बताए।
आगो लगाउँदा जमिनको सतहमा रहेको नाइट्रोजन, फस्फोरस, पोटास लगायतका पोषक तत्त्व पनि नष्ट हुने केन्द्रका अर्थ विज्ञ महेन्द्र ओझाले बताए। झारपात र बुटा डढेको खरानीमा बालीनालीलाई चाहिने सबै तत्त्व हुँदैन । आइतबार आफ्नो खेतमा बचेका गहुँका ठुटोमा आगो लगाएका कपिलवस्तु नगरपालिका– ३ बरन्डीहवाका कृषक रामु नाउले जलाए पछि बचेका खरानीले मलको काम गर्ने बताए।खेतमा लगाइने आगोले गर्ने नोक्सानीका बारे अन्जान रहेको उनले आफूले हरेक वर्ष खेतमा यसरी नै आगाले लगाउने गरेको बताए। ‘
खेतमा पानी छैन, सुख्खा मौसम छ, बचेको खरानीले मलको काम गर्छ त्यसले आगो लगाएको हु ’ उनले भने । कृषक रामु जस्तै बुझाई भएकाले जिल्लाका अधिकांश कृषकले खेतमा आगो लगाउने गरेका छन्। डाँठ बाँकी रहेको खेतमा आगो लगाउनुको साटो त्यसलाई पानीले डुबाएर राख्नु पर्ने कृषि प्राविधिकहरू बताउँछन् ।पानीले डाँठ सडेर मल हुने भएकाले खेतमा पानी भरेर छाड्नु पर्ने प्राविधिक महेन्द्र ओझाले बताए।
ज्ञान केन्द्रका प्रमुख पौडेलले खेत खेतमा लगाइने आगोलाई रोक्नु पर्ने बताए । आगलागीको जोखिम कम गर्न र खेतको उर्वराशक्ति नाश हुनबाट जोगाउन यो कार्यलाई निरुत्साहित गर्न जरुरी छ ’उनले भने । । उता प्रहरी र प्रशासन कार्यालयले खेतमा जथाभाबी आगो नलगाउनु भनी सुचना जारी गरेको छ । तर कृषकहरूले आगो लगाउन भने छाडेका छैनन । भुस बनाउने कम्बाईन हारबेस्टको प्रयोगमा जोड दिँदै आगलागीलाई रोक्न नगरपालिका र गाउँपालिकाले अग्रसरता लिनु पर्ने कृषि प्राविधिक बताउँछन्। ‘नगरपालिका र गाउपाकिालले नै सुचना जारी गर्नु पर्छ, अटेर गर्नेलाई कारबाही गरिए यस्ता कार्यका कमी आउँछ ’ उनीहरु भन्छन।
प्रकाशित: २४ मंसिर २०८० १२:३४ आइतबार