२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रहेन ‘बाजेको मालाखेती बजार’ !

मालाखेती हाट लाग्याको, मोटा चामलको

मैजसो अभागी कोई नै, मेरा दामलको

यही गीतले प्रष्ट पार्छ कि विकासोन्मुखतर्फ लम्किरहेको अत्तरिया बजारदेखि चार किलोमिटर पश्चिम उत्तरमा रहेको मालाखेती गाउँ उहिल्यै बजार थियो।

२० को दशकमा सुदूर पहाडका डोटी, डडेल्धुरा, बझाङ, अछाम र बाजुराका मानिसहरु दैनिक उपभोग्य सामान किन्न ‘मालाखेती हाट’ पुग्ने गर्दथे। ४० को दशकसम्म पनि चलहपहलमा रहेको मालाखेती भने पूर्व–पश्चिम राजमार्ग विस्तार भएपछि बिस्तारै सेलाउँदै गयो। हो, त्यही ‘पुस्तैनी बजार’ अहिले भने उजाड बनिसकेको छ।

‘मालाखेती हाट’ मा पुराना पसलहरु। जुन विस्थापित बनेपछि बन्द रहेका छन्। तस्बिर: पुष्पराज जोशी/नागरिक 

बाजेका पालकाको बजारका रुपमा रहेको मालाखेती हाटमा ४० को दशक अघिसम्म खुबै चहलपहल थियो। व्यापार व्यवसाय फस्टाएकै थियो। तर, जब पूर्व–पश्चिम राजमार्ग सुचारु भयो, त्यसपछि भने बिस्तारै बजार सर्दै गयो। मालाखेती सुनसान बन्दै गयो। हिजोआज भने २० को दशकदेखि पसल थापेर बसेका एक जना मात्रै पुराना व्यापारीले ‘मालाखेती हाट’ कुर्दै आएका छन्।

आफ्नो बुबाले मालाखेती हाटमै जवानी खियाएपछि बुबाको बिँडो थाम्दै आएका शिवकुमार गुप्ता मात्रै पुराना व्यापारीका नाममा अहिलेसम्म बचेका छन्। बाँकी व्यापारी सब पलायन भइसके।

उहिलेको जस्तो ‘गुलजार’ बजार सिद्धिई सक्यो। बजार रहेको ठाउँ अहिले खेतीपाती गर्ने जमिन बनिसक्यो। पुरानो बजार रहेको ठाउँमा पीपलको रुख रोपिएर पनि वयस्क बनिसक्यो। जसको वरिपरि ठूलो चौतारी चिनिएको छ। पसल थापिएका केही पुराना घरहरु बाँझै तथा भत्किने अवस्थामा रहेका देखिन्छन् भने बाँकी जमिनमा गहुँ छरिएको छ।

राजापुर, मुढा, चौमाला, मालाखेती र ब्रह्मदेव नै उहिलेका मानिसका लागि प्रमुख बजार थिए। आफूलाई पायक पर्ने बजारमा हप्तौँ हिँडेर तराई पुगी दैनिक उपभोग्य सामान किनेर पुनः पहाड फर्कन्थे ‘हटारू’ हरु। आफूले पनि ‘मालाखेती हाट’ बाट नुन, गुड, साबुन र चामल किनेर पहाड उक्लिएको स्मरण गर्दै स्थानीय गणेशराज ओझाले बताए।

उनले भने, ‘म डोटीको डोटीखोलादेखि मालाखेती हाटमा दैनिक उपभोग्य सामान किन्न बिसौँ पटक आएको छु, तर अहिले ‘मालाखेती हाट’ हाट रहेन।’ आफूहरु पहाडबाट अहिले मालाखेती बसाइँ सरेको बताउँदै उनले भने, ‘हामी पहाडबाट मालाखेती बसाइँ सर्‍यौँ, मालाखेती हाट पनि बसाइँ सरेर गइसक्यो।’

सारिए अड्डा, सुनसान बन्यो हाट

शान्ति सुरक्षा र विकास निर्माणमा पछाडि पर्दै गएपछि कुनै जमानाको ‘मालाखेती बजार’ वर्षौ पछाडि धकेलिँदै गएको अनुभव स्थानीयको छ।

मालाखेतीबाट सरकारी अड्डाहरु सारिएपछि ‘मालाखेती हाट’ सुनसान बन्दै गएको अत्तरियाका पुराना बासिन्दा रामचन्द्र अवस्थी बताउँछन्।

मालाखेतीमा तत्कालीन समयमा मालाखेती गाविस कार्यालय, मालाखेती प्रहरी चौकी, मालाखेती स्वास्थ्य चौकी र मालाखेतीमा रहेको मलेरिया भवन रहेका थिए। पछि ती कार्यालय तथा अड्डाहरु अन्यत्रै सारिए।

मालाखेतीकै नामबाट तत्कालीन मालाखेती गाउँ पञ्चायत रह्यो। पछि गाविस बन्यो, जसको सदरमुकाम मालाखेतीबाटै चौकीडाँडा ल्याइएको थियो। पछि चौकीडाँडाबाट अत्तरिया नगरपालिका हुँदै गोदावरी नगरपालिकामा परिणत भएको हो। जुन पालिकाको जग भनेकै मालाखेती थियो। अहिले त्यो पालिका अत्तरियाको तेघरीमा आफ्नै भवनबाट सञ्चालनमा रहेको छ।

त्यस्तै मालाखेती हाटको सुरक्षार्थ त्यतिबेला मालाखेती चौकी स्थापना गरिएको थियो। पछि मालाखेतीबाट प्रहरी चौकी पनि अत्तरिया बजारमा सारियो। जसको नाम अहिले पनि इलाका प्रहरी कार्यालय मालाखेती नै रहेको छ। मालाखेतीमै रहेको अर्को सरकारी अड्डा मालाखेती स्वास्थ्य चौकी थियो। त्यो स्वास्थ्य चौकी पनि त्यहाँबाट चौकीडाँडामा सारियो। मालाखेती स्वास्थ्य चौकी अहिले मालाखेती अस्पतालका नामले चौकीडाँडामा सञ्चालनमा छ।

पूर्व पश्चिम राजमार्ग सुचारु हुनु र सरकारी अड्डाहरु धमाधम सारिनु ‘मालाखेती हाट’ का लागि उल्टा दिनगन्ती सुरु भएको मान्न सकिने अवस्थी बताउँछन्।

विनिमयमा चल्थ्यो हाट

त्यो बेला ‘मालाखेती हाट’ भनेकै यस क्षेत्रकै ठूलो बजार थियो, दैनिक सयौँ ग्राहक आउँथे, उस्तै भिडभाड हुन्थ्यो। मालाखेती हाटमा दैनिक उपभोग्य सामानका रुपमा नुन, तेल, खुर्सानी, चिनी, गुड, लत्ता कपडा, मट्टितेल तथा भाँडाकुँडा किन्नका लागि पहाडबाट ग्राहकहरु हप्तौँ हिँडेर आइपुग्थे।

त्यो बेला सबैसँग पैसा हुँदैनथ्यो। पहाडबाट घ्यू, मास, गहत तथा बेथे लिएर आउने ग्राहकहरु नुन, तेल तथा लत्ताकपडासँग साटेर लैजाने गर्दथे।

‘बस्तु विनिमयबाटै मालाखेतीको हाट चलेको थियो,’ अवस्थीले भने, ‘त्यो बेला धेरै मानिससँग पैसा हुँदैन थ्यो, त्यही घरमा उत्पादित सामग्रीसँग दैनिक उपभोग्य सामान साटेर हटारुहरु पहाड लैजाने गर्दथे।’ पहाडबाट आउनेहरु प्रायः घोडा, खच्चर र भेडा लिएर आउने गर्दथे भने जाँदा तिनैमा सामान बोकाएर फर्कन्थे।

मालाखेती पुरानो इतिहास भए पनि यहाँको विकास निर्माणमा चासो नदेखाउँदा हाट विस्थापित बनेको हो। मालाखेतीबाट ओलानी–कोल्मुडा–चाँपसल्लीहुँदै डोटीको फल्टुँडे निस्कने सडक पनि तीव्र गतिमा निर्माण नभएकै कारण मालाखेती दिनदिनै ओझेलिँदै छ।

सुरक्षाका लागि प्रहरी पोष्ट, गाउँ जोड्ने गतिलो सडक, नजिकै स्वास्थ्य चौकी, पायक पर्ने स्थानमा वडा कार्यालय लगायतका सरकारी अड्डाहरु स्थापना गरिए पुरानो मालाखेतीको दिन फेरिने निश्चित छ।

मालाखेती नछाडेका गुप्ताजी

‘मालाखेती हाट’ मै वि.सं. २०२१ सालदेखि बुबा श्यामलाल गुप्ताले सञ्चालन गर्दै आएको पसललाई २०६० सालदेखि आफूले निरन्तरता दिँदै आएको बताउँदै स्थानीय व्यवसायी शिवकुमार गुप्ताले भने, ‘भारतको पलियाबाट मालाखेतीमा आएर बुबाले २०२१ सालदेखि नै व्यापार गर्न थाल्नु भएको थियो। त्यहीबेलादेखि बुबासँगै म पनि यहीँ आएको हुँ।’

गुप्ताजी जो २०२१ सालदेखि बुबाले चलाएको पसल विगत २० वर्षदेखि थाम्दै बसेका छन्। विगत एक महिनादेखि मात्रै गुप्ताजी नयाँ सटरको घरमा भाडामा सरेका हुन्। तस्बिर: पुष्पराज जोशी/नागरिक 

बुबासँग ३९ वर्ष व्यापारमा सघाउँदै आएका उनले २०६० देखि भने आफ्नो छुट्टै पसल खोले। ‘मालाखेती हाट’ सुस्ताउँदै गर्दा त्यहाँ आफ्नो र बुबाको मात्रै पसल रहेको उनले बताए।

उनले भने, ‘मालाखेतीमा मेरो र बुबाको मात्रै पसल थियो। बुबाले मालाखेतीमै ५७ वर्ष लगातार व्यापार गरेको स्मरण गर्दै उनले भने, ‘२०२१ सालदेखि २०७९ सालसम्म बुबाले पसल चलाउनु भयो। २०७९ सालमा नसक्ने भएपछि अहिले बुबा भारतको पलियामा रहेको कान्छा भाइसँगै बस्दै आउनुभएको छ।’

गुप्ताजीका बुबाले वर्षौँदेखि चलाउँदै आएको पसल जुन अहिले बन्द अवस्थामा छ। तस्बिर: पुष्पराज जोशी/नागरिक

त्यो समयमा भारतबाट तमामौ व्यापारीहरु मालाखेतीमा आए पनि धेरै व्यापारी भारततर्फ फर्के। तर, गुप्ताजी भने फर्केनन्।

‘बुबा फर्कनु भएन, त्यही भएर बुबासँगै हामी पनि यहीँ बस्यौ,’ उनले भने, ‘५७ वर्षपछि बुबा फर्कनु भयो। म भने यही बसिरहेँ।’

यहाँको मायाले भारत फिर्न नसकेको उनी बताउँछन्। ‘बच्चामै बुबासँग यही आएँ, यहीँको रहनसहनमा हुर्के, यहीँका साथीभाइ चिनजान भयो, यहीँको मायाले फर्कन सकेको छैन,’ उनले भने, ‘फेरि मेरा ४ छोराछोरी पनि मालाखेतीमै जन्मे हुर्के र यहीँ पढे। यहाँको मायाले बाँधिराख्यो।’ गुप्ताजीका दुई छोरा र दुई छोरी छन्।

प्रकाशित: २३ मंसिर २०८० ०९:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App