२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

माईपोखरी महायज्ञमा ३६ लाख आम्दानी, २८ लाख खर्च

तस्बिर: भीम/नागरिक

धार्मिक सहिष्णुता र सांस्कृतिक सद्भावका लागि माईपोखरीमा सञ्चालित त्रि–धार्मिक महायज्ञमा ३६ लाख रुपैयाँ संकलन भएको छ।विभिन्न दाताले महायज्ञका लागि सहयोग गरेका हुन्।

सङ्कलितमध्ये २८ लाख रुपैयाँ महायज्ञमा खर्च भएको विवरण सार्वजनिक गरिएको छ।आयोजक समितिले महायज्ञमा ३६ लाख ३३ हजार रुपैयाँ आम्दानी र २८ लाख ७७ हजार रुपैयाँ खर्च भएको जनाएको छ।

आयोजकका अनुसार महायज्ञका लागि खोलिएको बैंक खातामा आठ लाख ३७ हजार रुपैयाँ संकलन भएको छ।आरती र भेटीबाट छ लाख ६५ हजार, इलाम नगरपालिकाबाट एक लाख ११ हजार, रोङ गाउँपालिकाबाट ४० हजार (प्राप्त हुन बाँकी) तथा विभिन्न दाताबाट ७८ हजार रुपैयाँ प्राप्त हुन बाँकी रहेको आयोजक समितिका कोषाध्यक्ष निर्मला निरौलाले बताइन्। 

महायज्ञको खर्चतर्फ खाद्य तथा पूजा सामग्रीमा छ लाख २९ हजार, गुरु भेटी तथा दान–दक्षिणामा आठ लाख ३२ हजार, व्यवस्थापकीय खर्च सात लाख २८ हजार, प्रचारप्रसारमा चार लाख १६ हजार तथा यातायातमा एक लाख ७७ हजार रुपैयाँ उल्लेख छ।

मंसिर १ देखि ८ सम्म माईपोखरीमा त्रि–धार्मिक महायज्ञ आयोजना गरिएको थियो।रामसार क्षेत्र माई पोखरीमा हिन्दु, बौद्ध र किरात धर्मावलम्बीले एकसाथ प्रवचन, धार्मिक अनुष्ठान तथा पूजापाठ गरेका हुन् । धार्मिक तथा जैविक विविधताको संगमस्थल माईपोखरीलाई धार्मिक सहिष्णुताको उत्कृष्ट नमुना बनाउने प्रयासमा महायज्ञ आयोजना गरिएको आयोजक समिति संयोजक प्रेम नाछिरिङ राईले बताए।

महायज्ञमा कलश यात्रासँगै स्थानीय सबै धर्म–संस्कृति, समुदाय, जातजातिका झाँकीसमेत प्रदर्शन गरिएको थियो । ‘विश्वशान्तिको कामनासहित माई पोखरीमा महाउत्सव आयोजना गरिएको हो,’ आयोजक समिति उपाध्यक्ष गृष्म सुब्बाले भने, ‘धार्मिक पर्यटन प्रवर्धनका लागि माई पोखरी प्रचारप्रसारको महाअभियान प्रयास गरिएको हो।’

माई पोखरीलाई पर्यटकीय–धार्मिक केन्द्रका रूपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहु धार्मिक तीर्थका रूपमा प्रवद्र्धन तथा बहु आयामिक अनुसन्धानस्थलका रूपमा विकास गर्ने आयोजकको लक्ष्य छ।माईपोखरी क्षेत्र विकास कोषसमेत स्थापना गर्ने महाउत्सवको मुख्य लक्ष्य रहेको उनको भनाइ छ।

माई पोखरीमा २०७० असार ८ देखि १० सम्म यस्तै बहु धार्मिक उत्सव सञ्चालन गरिएको थियो । माई पोखरीमा कुनै ‘अनिष्ट’ भए पानी सुक्ने जनविश्वासमा स्थानीयले विभिन्न धार्मिक कार्यक्रम आयोजना गर्ने गरेका छन् । इलाम सदरमुकामबाट करिब १३ किलोमिटरमा रहेको माई पोखरी पुग्न बिब्ल्याँटेबाट माईपोखरीसम्मको करिब ७० प्रतिशत सडक कालोपत्रे भइसकेको छ।कच्ची सडक पनि सहज रहेकाले अहिले माई पोखरी घुम्न पर्यटकलाई खासै समस्या नभएको स्थानीय देवेन्द्र सुवेदीले बताए। 

प्रकाशित: २३ मंसिर २०८० ०७:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App