घर ठम्याउन नसकेपछि हामीतिर आइरहेका एक भद्र व्यक्तिलाई सोध्यौं, ‘यहाँ तुलसी दिवसको घर कुन पर्यो?’ ती व्यक्तिले हामी उभिएको गेटको कम्पाउन्डतिर औंल्याउँदै अनुमानित शैलीमा भन्नुभयो, ‘मैले उहाँलाई यही घरको आँगनमा देख्ने गर्छु, यही होला।’ सहयोगका लागि धन्यवाद दियौं। उहाँ मुस्कुराउँदै बाटो लाग्नुभयो।
हामी ढोका ढकढक्याउन मात्र लागेका थियौं, हाम्रो चहलपहलले एक्कासी भित्रबाट कुकुर कराउन थाल्यो। उसको आवाज सुनेलगत्तै म पुलकित हुँदै भनें, ‘ओहो ! जर्मन सेफर्ड रहेछ नि दाइ।’
यति भन्न नभ्याउँदै कविर दाइ मेरो हात पछिल्तिर तान्दै आफू अघिल्तिर उभिनुभयो, कारण कुकुर देख्नेबित्तिकै छोइहाल्ने मेरो बानी। यत्तिकैमा भुकाइको आवाजसँगै जसले गेट खोल्नुभयो, ती व्यक्ति हुनुहुन्थ्यो लोकसाहित्यविद् तुलसी दिवस।
‘ए ! तिमीहरू पनि आइपुग्यौ?’ उहाँलाई देख्दै निहुरिएको हाम्रो शिरमा हात राखिदिनुहुँदै भन्नुभयो।
हाम्रा पाइला उहाँको घरकम्पाउन्डमा टेक्दै गर्दा आँखा चारैतिरको हरियालीतर्फ पर्न गए। घरको आँगनमै विशाल रूख, वरिपरि चिटिक्क परेको बगैंचाघर। कम्पाउन्डमा यति राम्रो व्यवस्थित हरियालीयुक्त मनोरम वातावरण। उभिएर हेर्दैगर्दा मेरा आँखा फेरि कुकुरतिरै पुगे।
कुकुर जर्मन सेफर्ड नै रहेछ। ढल्कँदो उमेरको देखिने उसको घाँटीमा कन्याउन नमिल्ने गरी टोकरीजस्तो डगकोण राखिएको रहेछ। त्यसले असहज बनाएर हो कि, ऊ कुइँकुइँ गरेर सुँघ्दै घुमिरह्यो।
कुकुर हाम्रो वरिपरि घुमिरहेपछि रत्नशमशेरले भन्नुभयो, ‘लल, आफ्नो ठाउँमा जाऊ।’ ऊ नमानेझैं कुइँकुइँ गरिरह्यो। उहाँले फेरि नरम बोलीमा ‘जाऊ जाऊ’ भन्दै स्नेहपूर्वक फकाइरहनुभएको दृश्य हेरिरहें।
लाग्यो, उहाँले कुकुरलाई होइन, बालकलाई फकाउँदै हुनुहुन्छ। छालामा चिलाउने समस्या देखिएकाले उसले घाउ ठुलो नबनाओस् भनेर डाक्टरले घाँटीमा डगकोण लगाइदिएका रहेछन्। त्यसैदिन नियमित चेकजाँचका लागि पशुचिकित्सक उही समयमा आउन लागेकाले उहाँ डाक्टरको पर्खाइमा हुनुहुँदो रहेछ।
‘मानिससँगको उठबसले यिनीहरू हाम्रा सबै हाउभाउ, कुराकानी बुझ्ने हुन्छन्। मान्छेझैं बढ्दो उमेरले यिनीहरूका पनि आँखा धमिलिने, कम सुन्ने हुन्छन्। परिपक्व हुँदै जाँदा झन् कुरा बुझ्ने हुन्छन् यिनीहरू,’ दिवस सरले हामीतिर फर्कंदै भन्नुभयो।
अघि फोनमा डाक्टरसँग गरेको कुराकानी उसले बुझेर यसरी अघिपछि गरिरहेको भन्दै हुनुहुन्थ्यो, डाक्टर आइपुग्नुभयो।
ऊ कुइँकुइँ गर्दै डरले कोठाभित्र छिरी यताउता लुक्न खोजेपछि हामीसितको कुराकानीलाई रोक्दै ‘तिमीहरू एकैछिन बस्दै गर, म आइहाल्छु है’ भन्दै कुकुरलाई डोर्याएर बाहिर लैजानुभयो।
केही दिनपछि उहाँको घरमा पुनः पुग्दा उसैगरी फकाउँदै कुकुरलाई औषधी लगाइरहनुभएको देखें। नेपाली लोकसाहित्य, लोकसंस्कृतिका क्षेत्रमा अद्वितीय योगदान पुर्याउनुभएका र विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा आमन्त्रित भइरहनुहुने कवि दिवसको कुकुरप्रेमलाई यसरी अनायास नै नजिकबाट नियाल्न पाएँ। उहाँको कुकुरप्रतिको मायाले गीतकार रत्न शमशेर थापाको याद दिलायो।
रत्नशमशेर र उहाँकी अर्धाङ्गिनी भैरवी थापाको कुकुरप्रेम झनै रहरलाग्दो छ। जन्मेर तेह्र दिन पुग्दा नपुग्दैको घर आइपुगेको छाउरो सानै भएकाले थापाले उसको नाम जुराइदिनुभएछ- ‘पुन्टे’। हिँड्दा पल्ट्याङपुल्टुङ लड्ने भएकाले नाम ‘पुन्टे’ राख्नुभएको रे। सेतो रङ, मध्यम उचाइ, जापानी स्पिट्ज ‘पुन्टे’।
हुन त रत्नशमशेर बित्नुभएको पनि दश वर्ष भइसक्यो। ‘पुन्टे’ सानै छँदादेखि देख्दै आएकी थिएँ। उहाँहरू दुवैसँगको प्रत्येक भेटमा मेरो सोधाइ हुन्थ्यो-‘पुन्टे के गर्दै छ?’ मैले सधैं पुन्टेका बारेमा सोध्दा खुलेर हाँस्ने स्वभावका रत्नशमशेर अंकल निकै बेर हाँस्नुहुन्थ्यो।
एकैछिन पर्खनुुस्, उहाँहरूको कुकुरप्रेमका कुरा यत्तिकैमा टुङ्गिँदैनन्। कमलपोखरी स्थायी बासिन्दा उहाँहरूको घरमा एकपटक सडकबाट आएको पोथी कुकुरले घरसँगै बारीमा खाल्डो खनेर बसिरहेपछि के गरेको रहेछ भनेर हेर्दा उक्त आठ छाउराछाउरी पाएको रहेछ।
आँखै राम्ररी नखुलेका ती छाउराछाउरीकी आमा सुत्केरी कुकुर निकै दुब्लो, मर्ने अवस्थामा पुगेको रहेछ। उहाँहरूले ती सबैलाई दुध खुवाउनुभएछ। केही तग्रिदै गएपछि बिस्तारै कलेजो राखी जाउलो बनाई दिन थाल्नुभएछ। सबै बिस्तारै स्वस्थ हुँदै गएपछि ती माउसहितका आठै सदस्यले उहाँहरूको घर छोडेर गएनन्।
घरबाहिर पठाउन माया लागेपछि माउले फेरि बच्चा नपाओस् भनेर महानगरपालिकाको सहयोगमा माउसहित सबै छाउराछाउरीको बन्ध्याकरण गराई सबैलाई घरमा पाल्नुभएछ। अब पहिले नै रहेको पुन्टेसहित कुकुरको संख्या दश पुग्यो।
कुकुरको प्रजाति हेरि पाल्नेभन्दा पनि आफ्नो आश्रयमा पुगेका कुकुर पाल्न स्वीकार गर्ने गीतकार रत्नशमशेरको घरमा त्यसलगतै एक आफन्तले आफूकहाँ राख्न ठाँउ नभएको भन्दै जर्मन सर्फड ल्याइदिए।
त्यसैगरी सिन्धुपाल्चोकका एक हितैषीले भोटे कुकुरको छाउरो ल्याइदिएसँगै कुकुरको सङ्ख्या बढ्न पुग्यो। हालै भैरवी आन्टीलाई भेट्न पुग्दा कुकुरहरू निस्फिक्री घुमिरहेका देखेँ। सोधेँ, ‘अझै कुकुर कति छन्?’ भैरवी आन्टीले भन्नुभयो, ‘आठवटा छन्। औधी प्यारो लाग्छ। कुकुरलाई जिम्मेवारीपूर्वक स्याहार गर्ने साथै उनीहरूको संवेदना-भावनालाई बुझ्नुपर्छ। घरबाहिर कहीं निस्कँदा सडकका कुकुर भोकै देखेपछि बिस्कुट किनेर भए पनि खुवाइहाल्छु।’
अझ सडकका माया लाग्दो बेसहारा कुकुरका लागि शरदसिंह भण्डारीकी छोरीले पनि आफ्नो महिनादिनको तलब नै खर्चिन्छिन्। दुवैको ममतालाई नमन गरें।
उहाँहरूजस्तै कुकुरप्रेमी अर्का व्यक्तित्व हुनुहुन्छ गीतकार किरण खरेल। उहाँको घर पुग्दा कुकुरहरू चोटाकोठामा सँगसँगै पछि लागिरहेका भेटिन्छन्। कुकुरलाई परिवारका सदस्यझैं माया गर्ने उहाँको घरमा एकभन्दा बढी कुकुर छन्।
त्यसदिन घर पुग्दा विशाल शरीर हुने सेट बर्नाड प्रजातिको सो कुकुर, जसको तौल एक सय बीसदेखि एक सय असी पाउन्डसम्म हुने गर्छ। ऊ किरण अंकलको पछि त्यसरी लागिरहेका थिए, जस्तो नातिनातिना हजुरबुबाका पछि लाग्छन्। उहाँ बडो मायालु शैलीमा उसलाई भन्दै हुनुहुन्थ्यो, ‘नचल न बा !’
अब घरकै कुरा गरौं। गायक प्रेमध्वज प्रधान अनि उहाँको कुकुरप्रेमसित जोडिएको रमाइलो प्रसङ्ग। त्यतिबेला म स्कुल पढ्दै थिएँ। दुवै दाइ विदेशमा अध्ययनरत भएकाले परिवारमा हामी सीमित सदस्य मात्र थियौं।
यसअघि पालिएको कालो रङको ल्याब्ब्रोडर कुकुर क्यान्सरले बितेपछि घरमा हामी सबैको निन्याउरो अनुहार थियो। घर नै शून्य भएपछि मामाले दुई हप्ता पुग्दैको काखमा खेलाउन मिल्ने सेतो रङको सानो छाउरो घरमा ल्याउनुभयो। नाम राखियो ‘सोनु’। ऊ रमाउँदै उफ्रँदै घरभरि दगुर्ने गर्थ्याे।
माइजू उसलाई अह्राउँदै भन्नुहुन्थ्यो- ‘सोनु जा, बालाई बोलाएर आइजा।’ ऊ बुझेझैं निर्धक्क साथ प्रेमध्वज मामा गाइरहनुभएको सङ्गीत कोठामा ढोका खोल्न पुग्थ्यो। यदि ढोका खुलेन भने कुइँकुइँ कराउँदै ढोका कोट्याइरहन्थ्यो।
शाकाहारी प्रेमध्वज मामा ‘सोनु’का लागि नियमित एउटै पसलमा मासु किन्न बागबजारबाट हिँड्दै मरुटोल पुग्ने गर्नुहुन्थ्यो। ‘तपाई नै किन आउनुभएको नि?’ भन्ने प्रायः सोधाइमा भन्नुहुन्थ्यो, ‘मेरो फुच्चेका लागि मासु किन्न आएको।’
मामाको यो कार्य सोनु जीवित छउन्जेल जारी रहेको र सोनुको मृत्युसँगै सोनु अनि हाम्रा लागि आफै मासु किन्न जाने बानी उहाँले सदाका लागि छाड्नुभयो। मामा उसको गाला तान्दै भन्ने गर्नुहुन्थ्यो–फुच्चेले गर्दा घरमा चहलपहल भइरहन्छ।
यस्तै दिवङ्गत निर्देशक/कलाकार आलोक नेम्वाङको कुकुरप्रेमका बारे सबैलाई थाहा भएकै हो। उनी घरमा कुकुर पाल्थे नै। यसअलावा घरबाहिरका कुकुरलाई समेत औधी माया गर्थे। उनी नियमित कमलादी गणेश मन्दिर परिसरका कुकुरका लागि समेत खाना खुवाउन चामललगायत खानेकुरा किनिदिने गर्थे। घरबाहिरका बेसहारा कुकुरलाई माया गर्ने उनीझैं सहृदयी व्यक्तिहरूका कारण आज मन्दिरवरपर आश्रित ती कुकुरले पेट भर्न पाइरहेका छन्।
यहाँ कवि र स्रष्टाको भाव, स्वभाव वा उहाँहरूका रुचिका विषयमा चर्चा गर्न खोजको भने पक्कै होइन। कवि स्रष्टाहरू प्रेमिल, प्रकृतिप्रेमी, मानवतावादी मात्र हुँदा रहेनछन्, उनीहरूको अन्तर्मनका कोमल भावनामा लुकेका निश्छल कुकुरप्रेमलाई नजिकबाट देख्दाका अनुभूति मात्र हुन् यी।
कुकुरलाई मानिसनजिक बस्न रुचाउने घरपालुवा सामाजिक प्राणीका रूपमा चिन्छौं। मानिसबाट पाएको स्नेहलाई उसले आफ्नो जीवनकालभरि निसर्त फर्काउँछ। मान्छेप्रति उसको बफादारिताको अर्काे उदाहरण सम्भवतः खोजिरहनु नपर्ला।
एक्काइसौं शताब्दीसम्म आइपुगेको विश्व मानव समुदायको यो भिडमा मान्छे दिनानुदिन एक्लिँदै गइरहेको देख्छौं। पारिवारिक विखण्डता, वैचारिक मतभेद, व्यक्तिवादी सोच हाबी हुँदै जानु, आधुनिकतातर्फ बढेको हाम्रो समाजले हुन त असङ्ख्य उपलब्धी पाएको छ, यद्यपि त्यसैको उपज भन्नुपर्ला, परिवार बिस्तारै एकात्मक हुँदै परिवारबाट परिवार अग्लिँदै गइरहेको आभास हुन्छ।
कोही जागिरको नाममा त कोही आफ्ना भावी सन्ततिका लागि भन्दै बिदेसिने संस्कारले बुढ्यौलीमा एक्लो घर कुरुवा भएका, सन्तानले भरिपूर्ण भईकन पनि बसिबियाँलो गर्ने कोही नभएको खालीपनमा बास बस्न पुगेको छ ऊ।
जुनसुकै जाति–प्रजातिको भए पनि यदि घरमा कुकुर पाल्नुभएको छ भने उसले घर एकप्रकारले उल्लासमय ल्याइदिन्छ। उसले तपाईंका कुरा सुन्ने मात्र होइन, तपाईंलाई अलमल्याइदिने समय बिताउने आधार बनिदिने मानिसको नजिकको साथी पनि बन्छ कुकुर।
मनोविश्लेषकहरू भन्छन्-कुकुरसितको सामीप्य तपाईलाई डिप्रेसन हुनबाट बच्न, एक्लोपनबाट छुट्कारा पाउनमा सहायक हुन्छ। नेपालमा यस्तो प्रचलन आइनसके पनि विकसित मुलुकमा कुकुर मानिसको दरिलो सहारा बन्न पुगेका छन्।
घरमा एक्लो रहनुपर्ने व्यक्ति, शारीरिक रूपमा असक्षम भएकाहरू, अस्पतालमा महिनौं रहनुपर्ने विषम रोग लागेका बिरामीहरूलाई सकारात्मक ऊर्जा प्रदान होस् भनी अथवा कुनै कारणले डिप्रेसन वा डराएका ससाना बालबालिकाहरूलाई असहज परिस्थितिमा सहजता महसुस गराउन विविध तालिम दिई सरकारी मान्यता पाएका कुकुर (सर्भिस डग) लाई पनि मानव उपचारको एक विधिका रूपमा अपनाएका छन्।
हामीकहाँ सर्भिस डगको प्रयोग गर्ने प्रचलन आइनसके पनि नेपाल प्रहरीमा अपराध अनुसन्धान, वन्यजन्तुको चोरीसिकारी नियन्त्रणमा कुकुर निकै सहयोगी सिद्ध भएको तथ्य समाचारमा सुन्न पाइन्छ।
विगत लामो समयदेखि पशुस्वास्थ्य, उपचार, हेरचाह तथा संरक्षण क्षेत्रमा कार्यरत पशुचिकित्सक डा. अर्जुन अर्याल भन्नुभयो, ‘कुकुर पाल्नु आफैंमा राम्रो हो। कस्ता खालका कुकुर पाल्दा राम्रो या नराम्रो भन्ने हुँदैन। कस्तो वा कहाँको कुकुर पाल्ने भन्ने कुरा व्यक्तिको इच्छा हो। उच्च प्रजातिका कुकुरले मात्र भनेको मानिहाल्ने, यहाँका स्थानीय कुकुरले नमान्ने भन्ने हुँदैन। सिकाए सबैले सिक्छन्–बुझ्छन्, आफूहरूले उसलाई कति समय दिएर सिकाउनुभएको छ, यसमा भर पर्छ।
बाहिर राखिरहने, घुलमिल नगर्ने अनि उसले सिक्ने भन्ने कुरा हुँदैन। जति घुलमिल भई सिकाउन चाहनुहुन्छ, जुनसुकै प्रजातिका कुकुरले सिक्न सक्छन्। फरक के छ भने बाहिरबाट ल्याएका उच्च प्रजातिका कुकुरमा रोग प्रतिरोधात्मक क्षमता हाम्रा वरिपरि जन्मेकाहरूमा भन्दा कम हुन्छ। हाम्रा स्थानीय रैथाने कुकुरहरूमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले हत्तपत्त रोग लागेको पाइँदैन।
अर्काे कुरा उसलाई दिने आहारा महत्त्वपूर्ण हुन्छ। कुकुरलाई स्वस्थकर पौष्टिक आहारा दिनुपर्छ। कुनै कुकुरलाई राम्रो आहारा दिने, कुनैलाई घरमा बचेको चिसो खाना खुवाउने गर्नुहुन्न।
मुख्य ध्यान दिनुपर्ने कुरा भनेको कुकुरहरूलाई हुन सक्ने वंशानुगत रोगबाट जोगाउनु हो। यसका लागि समय समयमा कुकुरलाई भ्याक्सिन लगाउने, जुकाको औषधी नियमित खान दिने, कुकुरबाट मान्छेमा अनि मान्छेबाट कुकुरमा सर्ने रोगप्रति सजग रहने, कुकुरलाई मुख चाट्न नदिने, उनीहरूलाई चलाइसकेपछि साबुनपानीले हात धुने जस्ता कुरामा ख्याल गरेमा उच्च प्रजातिकै कुकुर पाल्नुपर्छ भन्ने छैन, यहाँका रैथाने सामुदायिक कुकुर पाल्दा पनि राम्रो हुन्छ।
अर्याल थप प्रस्ट्याउनुहुन्छ-घरपालुवा हुन नसकेका काठमाडौंका सडकमा बगे्रल्ती बढेका कुकुरको सङ्ख्या न्यूनीकरण, बन्ध्याकरण तथा रेबिज नियन्त्रणका लागि केन्द्रीय रिफरल पशुचिकित्सालय त्रिपुरेश्वरले अहिले संघीय, प्रादेशिक र स्थानीय तीनै तहका सरकारसँग समन्वयात्मक रूपमा कार्ययोजना बनाई काम गदै आइरहेको छ।
नेपाल सरकारले सन् २०३० सम्ममा नेपालमा कुकुरको टोकाइबाट मानिसलाई लाग्ने रेबिजको दर शून्य प्रतिशतमा झार्ने लक्ष्य लिएको छ। यस लक्ष्यप्राप्तिका लागि काठमाडांै महानगरले एबिसी (एनिमल बर्थ कन्ट्रोल) परियोजना अघि सारेको छ।
यस परियोजनाअन्तर्गत केन्द्रीय रिफरल पशुचिकित्सालय, त्रिपुरेश्वरले सरकारी–गैरसरकारी संघसंस्थाहरूसँग मिलेर स्थानीय कुकुरको संख्या बढ्न नदिन बन्ध्याकरण गर्ने काम गर्दै आएको छ।
नेपाल सरकार तथा महानगरको सक्रियतामा यी काम द्रूत गतिमा अघि बढ्नुपर्ने हो तर आफूहरू कार्य क्षेत्रमा जाँदा पशु संरक्षणका नाममा खुलेका केही संघसंस्थाले आफूहरूलाई काम गर्न अवरोध सिर्जना गर्ने, अनावश्यक दुःख दिने गरेको अर्याल बताउनुहुन्छ।
रिङरोडभित्र मात्र सामुदायिक कुकुरको सङ्ख्या करिब तेईस हजार पाँच सय रहेको तथ्यांक छ। यसमा घरभित्र पालिएका घरपालुवा कुकुरको सङ्ख्या समावेश गरिएको छैन।
नेपाल सरकार र महानगरको समन्वयमा हाल तीन महिनाभित्रमा अस्पतालले करिब पाँचदेखि छ हजार सङ्ख्यामा सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्यसहित काम भइराखेको पशुचिकित्सक अर्याल बताउनुहुन्छ।
मान्छेबाट मान्छेको नाता टाढिँदै गएको अहिलेको व्यस्त समयमा कुकुर हामी सबैको भरलाग्दो साथी बनेको छ। हाम्रो सामाजिक संस्कार–संस्कृतिले नै हामीलाई कुकुरको सम्मान गर्नुपर्छ भन्ने सिकाएको छ। हामी विश्वको यस्तो मुलुकमा पर्छौं, जहाँ कुकुरलाई सम्मान गरी पूजा गर्ने दिनलाई राष्ट्रिय पर्वका रूपमा मनाउँछौं।
डा. अर्यालले भनेझैं यही प्रजातिका कुकुर नै पाल्नुपर्छ भन्ने रहेनछ। कुकुरलाई माया गर्ने व्यक्तिले आफ्नै वातावरणमा जन्मेका स्थानीय कुकुरमा पनि अन्यले झैं बुझ्नेसिक्ने क्षमता हुने बताउनुहुन्छ। अपवाद नै भन्नुपर्ला, हामी प्रायःले यही वातावरणमा जन्मेहुर्केका कुकुर पाल्न हिच्किचाउँछौं। लाग्छ, आफ्नो देशमा उत्पादित सामान प्रयोगमा देखिने वितृष्णाको सिकार स्थानीय कुकुर हुन पुगेका छन्।
जुनसुकै प्रजातिका भए पनि कुकुरले हाम्रो कुरा धैर्यपूर्वक सुनिरहन्छ। कुकुर हाम्रो उत्कृष्ट श्रोता हो। यो कुकुरको प्राकृतिक स्वभाव हो। ऊ मान्छेसित कुनै विलासिताको साधन चाहँदैन।
हामीबाट केवल माया चाहन्छ। उसले मान्छेले झै सामाजिक प्रतिष्ठा, आर्थिक सम्पन्ता, शारीरिक रूपरङ अनि हैसियत हेरी व्यवहार गर्न जानेको हुँदैन। न त विभेद गर्न नै जानेको हुन्छ। यस्तो विभेदकारी प्रवृत्ति त हामीले निकै राम्रोसित जानेका छौं।
कुकुर पाल्दा पनि हामी आफ्नो चिरपरिचित मानव प्रवृत्ति त्याग्दैनौं, र त हाम्रै घरआँगनमा हुर्केबढेका स्थानीय कुकुरलाई छुन त परै जाओस्, नजिक आए पनि बिनाकसुर हिर्काउन, ठुलो स्वरमा गाली गर्न पछि पर्दैनौं।
ठुलो रकम तिरी केनल क्लबहरूले विदेशबाट आयात गरेका उच्च प्रजाति मानिने कुकुर नै पाल्न रुचाउँछौं। कुकुरप्रेमी कहलिएका हामी आफ्नै घरको ढोका तथा गल्लीमा बाँच्नका लागि भौंतारिँदै रहेका कुकुरलाई राम्ररी हेर्न पनि चाहँदैनौं, किन होला?
विभेद नै भन्नुपर्ला सायद, हामी पोथी कुकुर पाल्दा झन्झटिलो हुने भन्दै सकेसम्म भाले मात्र पाल्न रुचाउछौं। यदि जोडी कुकुर पालेका छौं र उसले बच्चा जन्मायो भने जन्मेका छाउराछाउरीमा पोथी जति बाँधिदिन्छौं।
केही गरी घरमा पालेका कुकुर रोगी भएमा वा उपचार गर्न कठिन हुने देखिएमा हामीमध्ये केहीले सडकमा ल्याएर छोडिदिन बाँकी राख्दैनौं। सडकमा बेसहारा बनी हिँडिरहेका कुकुरको सङ्ख्या कतै मान्छेका यस्तै यस्तै अपहेलितपनले त बढेको होइन?
खरिद गरी ल्याइएका उच्च प्रजातिका कुकुरलाई माया नगरौं, नपालौं भन्ने आशय पटक्कै होइन। कुकुर मात्र होइनन्, ब्रह्माण्डका हरेक सजीव प्राणीलाई माया दिन सक्ने प्राणी हो मानिस।
केवल हामीभित्रको कुकुरप्रेम उसको प्रजाति हेरेर मात्र बिसाउने स्वभावमा परिमार्जन गर्ने हो कि? हाम्रै घरआँगन, यही माटोमा जन्मेका, यही वातावरणमा हुर्केका कुकुरलाई हामी भुस्याहाको संज्ञा दिन्छौं। तिनीहरू मान्छेबाट नै उपेक्षित भएर बस्छन्। तिनीहरू आश्रय नपाएर नै भौंतारिएका हुन् कि?
भनिन्छ, माया जति दिनुहुन्छ, त्यति नै भरिँदै जान्छ। माया ईश्वरबाट पाएको यस्तो धन हो, जो सास रहुन्जेल हामीभित्र भरिइरहन्छ।
जाडोमा काम्दै सुतिरहेका, बास नपाएर पानीमा रुझ्दै बस्न बाध्य भएका, कसैले त खान देला नि भन्दै होटल-रेस्टुरेन्टका ढोकामा भोको पेट कुरिरहेका कुकुर देख्नुभएको छ? भोक आखिर सबैलाई उस्तै होइन र? उसको सङ्ख्या सडकमा बढ्नुमा कतै हाम्रो स्वार्थीपन, अपहेलना, गैरजिम्मेवारीपन पनि जिम्मेवार छ कि? उसको संरक्षणका लागि न्यानो ओछ्यान दिन नसके पनि एक छाक मिठोमसिनो खुवाउने, उसलाई मायाको न्यानोपन दिने क्षमता ईश्वरले हामीलाई अवश्य दिएका छन्। उसका निर्दोष आँखाले प्रश्न गरिरहेका होलान्-म र तिमीहरूले घरमा पालेका कुकुरमा के फरक पाउँछौ?
घरमा पाल्न नसके पनि उनीहरूको संरक्षण, सुरक्षा, सडक–संख्यामा न्यूनीकरण तथा रेबिज नियन्त्रणका लागि आफ्नो क्षेत्रमा रहेका स्थानीय कुकुरलाई भ्याक्सिन लगाउने, बन्ध्याकरण गर्ने नेपाल सरकार, महानगर र केन्द्रीय रिफरल पशुचिकित्सालयको कार्यमा हामीले पनि हातेमालो गर्ने हो कि?मनन गरौं।
तपाईं बिहान सात बजेतिर रत्नपार्कको उपत्यका प्रहरी कार्यालयदेखि सोह्रहाते गणेश-मन्दिरसम्मको बाटो हिँड्नुभएको छ भने पक्कै ख्याल गर्नुभएको होला, एकजना महिला हातमा भरिएको बाल्टिन बोकेर आउँछिन् र उनी आउने बाटोमा आँखा बिछ्याइरहेका हुन्छन् भोटाहिटीदेखि रत्नपार्क पुलसम्मका कुकुरहरू।
उनले बाल्टिनमा ल्याएको मासुभात आमाले झैं पस्केर पालैपालो सबै कुकुरलाई दिन्छिन्। कुनै कुकुर डराएका वा बिरामी भएका छन् भने फकाउँदै मुखमै गास हालिदिन्छिन्। म यो दृश्य एकटकसँग हेरिरहन्छु अनि मनमनै गम्छु-खुसी साँच्न पक्कै तिमीहरूलाई सम्झने छु।
प्रकाशित: २३ मंसिर २०८० ०३:१३ शनिबार