२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

युक्रेन युद्धमा मारिए रूपक, शव नहेरी मृत्यु स्विकार्न तयार छैन परिवार

वडा सदस्यले पुर्‍याएका थिए एक्लो सन्तानको मृत्युको खबर

कपिलवस्तुको वाणगंगा–१ मान्द्रेली टोलका २४ वर्षीय रूपक कार्कीले सजिलै रूस जान पाइने थाहा पाएपछि विद्यार्थी भिसामा २०७८ चैतदेखि रुस जाने प्रक्रिया अघि बढाएका थिए।

उनी छिमेकी दाइ युवराज पौडेलसँगै मिलेर रुस जाने तयारीमा थिए। उनी अध्ययन र रोजगारीका लागि रुस पुगेका हुन्। मानबहादुर र लक्ष्मीका एक मात्र छोरा रूपकलाई बल्लतल्ल १२ लाखको जोहो गरी रुस पठाइएको थियो।

स्थानीय तहको चुनाव सकिए लगत्तै काठमाडौँको बागबजार स्थित ड्रीम ईन्टरनेशन कन्सलटेन्सी मार्फत २०७९ जेठमा रूस पुगे। 

त्यसको एक वर्षपछि २०८० जेठ २५ गते रूसको रक्षा मन्त्रालयसँग सहमति गरी रूपकले विशेष सैन्य कारबाही (एसएमओ वा एसभीओ)मा भाग लिए। रूसी सरकार र युद्धका समर्थकले २०२२ मा रूसले युक्रेनमाथि गरेको हमलालाई एसएमओ वा एसभीओ भन्ने गरेका छन्। 

गत सोमबार परराष्ट्र मन्त्रालयले निकालेको प्रेस विज्ञप्तिमा रुसी सेनामा कार्यरत रहँदा निधन हुने व्यक्तिहरूको सूचीमा रूपक कार्कीको नाम दोस्रो नम्बरमा छ। इभानोभो क्षेत्रको स्मृति पुस्तक नामको रूसी वेबसाइटका अनुसार रूपक कार्कीको मृत्यु ३० जून २०२३ (२०८० असार १५)मा भइसकेको थियो। 

उनी रूसी सेनाका तर्फबाट विशेष सैन्य कारबाहीमा सहभागी भई युक्रेनको युद्ध स्थलमा खटिएका बेला मारिएको वेबसाइटमा उल्लेख छ।

४ वर्ष अघि विवाह भएको दिदी सरला थापा गएको दसैँ मनाउन माइती आएकी थिइन। गाउँकै तीन व्यक्ति घरमै आएर रसिया–युक्रेन युद्धमा उनका एक मात्र भाइ रूपक कार्कीको मृत्यु भएको खबर दिए। दुई वर्षअघि २२ वर्षको उमेरमा स्टुडेन्ट भिसामा रूस गएको भाइ अघिल्लो वर्ष त्यहाँको सेनामा भर्ती भएको सुनेकी थिइन्।  

तर मृत्यु भएको कुरा उनले केही गर्दा पनि पत्याइनन्। उनी भन्छिन्, ‘भाइले तीन–चार महिनाअघि फोन गरेर ६ महिनाका लागि तालिममा जानुपर्ने भयो, त्यति बेलासम्म फोन नलाग्न सक्छ, तालिम सकिएपछि फोन गर्छु भनेको थियो। ६ महिना अझैँ भएकै छैन।  

‘कात्तिकको दोस्रो साता रूपकको मृत्युको सूचना लिएर जानेमा वडा सदस्यहरू राजकुमार थारू, लक्ष्मी खत्री र टोपकला बीसी थिए। उनको घरमा मृत्युको खबर पुर्‍याउने दोस्रो प्रयास थियो, त्यो।  

कार्की परिवारका छिमेकी समेत रहेका वडा सदस्य थारू त्यसअघि पनि छोरो मारिएको खबर लिएर रूपकका बुबा मनबहादुर कार्की र आमा लक्ष्मीलाई भेट्न घरमै पुगेका थिए।  

‘त्यति बेला पनि उहाँहरू छोरा मारिएको कुरा मान्न तयार हुनुभएन तालीमबाट फर्किएपछि छोराले फोन गर्छ भनेर ढुक्क देखिनुहुन्थ्यो’, थारू भन्छन् ‘काठमाडौँबाट आएको एउटा फोनको आधारमा मैले उहाँहरूलाई त्यो सूचना दिएको थिएँ। रूपकको मृत्यु पुष्टि गर्ने अर्को सूचना हामीसँग थिएन। त्यसैले पनि उहाँहरूलाई मृत्यु स्विकार्न गाह्रो भइरहेको थियो।’

त्यसअघि वडा सदस्य राजकुमार थारू र वाणगंगा–१ का वडाध्यक्ष सन्जुकुमार सारू मगरलाई काठमाडौँबाट एक व्यक्तिले फोन गरेर रूस–युक्रेन युद्धमा रूपक कार्कीको मृत्यु भएको र यो सूचना रूपकका बाबुआमालाई पुर्‍ याइदिन आग्रह गरेका थिए। शव आउने–नआउनेबारे आफूलाई थाहा नभएको पनि ती व्यक्तिले बताएका थिए।  

वडाध्यक्ष मगरका अनुसार फोन सम्पर्क गरेका व्यक्तिले आफूलाई रूसी राजदूतावासको व्यक्ति भनेर चिनाएका थिए। तर फोन सम्पर्कपछि ‘ट्रू कलर’ मा हेर्दा उक्त फोन नम्बर कुनै वैदेशिक रोजगार कम्पनीको देखियो।  

‘हामीले फेरि सम्पर्क गर्ने प्रयास गरिरह्यौँ, कसै गरे पनि सम्पर्क हुन सकेन,’ वडाध्यक्ष मगर भन्छ– त्यही अपुष्ट खबर लिएर वडा सदस्य रूपकको घर गएका थिए।’ काठमाडौँबाट आएको फोनका आधारमा रूपकको मृत्यु भइसकेको अपुष्ट खबर एक महिनायता गाउँमा फैलिइसकेको थियो।  

गत सोमबार परराष्ट्र मन्त्रालयले निकालेको प्रेस विज्ञप्तिले भने त्यसको पुष्टि गर्‍यो। रूसी सेनामा रहेका ६ नेपालीको निधन भएको भन्दै मन्त्रालयले निकालेको प्रेस विज्ञप्तिमा रूपकको नाम दोस्रो नम्बरमा छ। रूसी सेनामा कार्यरत रहँदा उनीसँगै गोरखाका सन्दीप थपलिया, पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का पितम कार्की, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार रोका र इलाम नगरपालिका–५ का गंगाराज मोक्तानको पनि मृत्यु भएको जानकारी मन्त्रालयले गराएको छ। यद्यपि कुन मितिमा र कसरी उनीहरूको निधन भयो, शवको अवस्था कस्तो छ भन्नेबारे मन्त्रालयले केही पनि बताएको छैन।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरिसकेपछि मङ्गलवार बिहान लुम्बिनीका प्रदेश सांसद विष्णु पन्थी सहित स्थानीय जनप्रतिनिधिहरू र प्रहरी रूपक कार्कीको घर पुगेका थिए। उनीहरूले रूपकका बुबा मनबहादुरलाई भेटेर छोराको मृत्यु भएको पुष्टि भइसकेको जानकारी गराएका थिए। 

यद्यपि रूसी सेनामा कार्यरत रहँदा मृत्यु भएको भने पनि कहिले र कसरी मृत्यु भएको भन्नेबारे सरकारले थाहा दिन नसक्दा परिवारमा अन्योल छाएको रूपकका काका गौतम कार्की बताउँछन्।  

‘परिवारमा अनिश्चितता छाएको छ। शव नदेखी एक्लो छोराको मृत्यु भएको भन्ने कुरा पत्याइहाल्ने अवस्थामा परिवार छैन’, उनले भने। रूपकका बुबाले कुखुरा पालन गर्दै आएका छन् भने आमा लक्ष्मी स्थानीय लघुवित्त वित्तीय संस्थामा कार्यालय सहयोगीका रूपमा काम गर्छिन्।  

प्रदेश सदस्य विष्णु पन्थीले सरकारले यो विषयलाई गम्भीर रूपमा लिनु पर्ने बताए। उनले परिवारलाई उचित क्षतिपूर्ति र राहत दिनु पर्ने बताए। 

प्रकाशित: २१ मंसिर २०८० ०४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App