१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘छोरा मरे, न्याय मरेन’

आफ्नो पक्षमा फैसला भएसँगै मुसीकोट बजारमा परिक्रमा गर्दै पीडित परिवार र दलित समुदाय। तस्बिरः नागरिक।

रुकुम पश्चिमस्थित सोतीमा भएको जातीय नरसंहारमा संलग्नलाई मंगलबार जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको फैसला गरेपछि बुधबार दिउँसो मुसीकोट खलंगामा खुसीयाली र्‍याली निस्कियो।

उक्त र्‍यालीको ब्यानरमा लेखिएको थियो, ‘छोरा मरे, न्याय मरेन। धन्यवाद अदालत।’ साढे तीन वर्षदेखि न्यायको पर्खाइमा रहेका पीडित परिवारहरु जिल्ला अदालतको फैसलापछि कानुनी राज्यमा न्याय नमरेको भन्दै खुसी व्यक्त गरिरहेका छन्।

बाजागाजासहित रुकुम पश्चिम जिल्ला सदरमुकाम मुसीकोट खलंगा परिक्रमासँगै उनीहरुले जिल्ला अदालतलाई फूल बर्साएर ढोक गरेका छन्। ‘भाइ बगाउने भेरीहरु, नबगाउनु फेरि अरू’ , ‘न्याय पाए आमाले, शान्ति पाए आत्माले’ लगायतका नारा लगाउँदै दलित समुदायले बजार परिक्रमा गरेका थिए।

मंगलबार न्यायको जित भएको भन्दै पीडित परिवारले न्यायमूर्तिहरुलाई धन्यवाद व्यक्त गरेका छन्। राजनीति संरक्षणबाट न्यायलाई बचाउन सफल भएको भन्दै पीडित परिवारहरुले जिल्ला न्यायाधीश खड्गबहादुर केसीप्रति सम्मान प्रकट गरे। अदालतले पीडालाई मल्हम लगाएको दलित अधिकारकर्मीहरुको भनाइ छ।

राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष मानबहादुर नेपालीले यो फैसला ऐतिहासिक भएको बताए। ‘न्यायालयले यस्ता खालका साहस गर्न जरुरी छ,’ उनले भने, ‘यस ऐतिहासिक फैसलाले जातीय विभेदलाई निरुत्साहित गर्छ।’ मानवताको लडाइँमा विजयी भएको दलित अधिकारकर्मी शसीराम परियाले जनाए।

‘हामीलाई अन्याय पर्दा न्यायालयले साथ दियो,’ उनले भने, ‘यो फैसलाले सिंगो दलित समुदायमाथि शीतलता प्रदान गरेको छ।’ न्यायालयले बनाएको विजयपछि मानव भइन्छ कि भन्ने जागरणको जन्म भएको उनको भनाइ छ।

नवराज र उनीहरुका साथीको हत्या हुनुको प्रमुख कारण नै जातीयता भएको दलित अधिकारकर्मी खगेन्द्र सुनारले जनाए।

‘अदालतको फैसलाले मृत आत्माले शान्ति र मृतकका आमाले न्याय पाएका छन्,’ उनले भने, ‘सोतीमा भएको नरसंहार सिंगो दलितमाथिको विभेद थियो।’

साढे तीन वर्षदेखि पर्खाइमा रहेको न्याय शक्ति केन्द्रको दबाब र प्रभाव पर्छ कि भन्ने आशङ्का अदालतले मेटाइ दिएको अर्का दलित अधिकारकर्मी लक्ष्मण विकले जनाए।

‘न्यायालय शक्ति र दबाब केन्द्रबाट होइन प्रमाणबाट न्याय हुन्छ भन्ने अदालतले पुष्टि गरेको छ,’ उनी भन्छन्।

न्यायाधीश खड्गबहादुर केसीको इजलासले मंगलबार उक्त मुद्दामा एक जना नाबालकसहित २४ जनालाई जन्मकैदको सजाय सुनाइएको छ।

डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सविन पुन (सर्वजित), तिलक चन्द, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनाराज राना, नवीनकुमार घर्ती, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, विष्णु मल्ल, रुकुम पश्चिम ५४ (३६) १, रुकुम पश्चिम ५४ (३६) ३ र रुकुम पश्चिम ५४ (३९) लाई जन्मकैदको फैसला सुनाइएको थियो।

मल्ल थरकी युवती र उनकी आमासहित मल्ल र दोषी ठहर भएकामध्ये ठकुरी र मल्ल थर भएकालाई जातीय छुवाछुतसम्बन्धी दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानम तोकिएको छ।

२०७७ जेठ १० गते जाजरकोट भेरी–४ स्थित राना गाउँका २१ वर्षीय नवराज साथीहरूसहित प्रेमिकाको गाउँ पुगेका थिए। मल्ल थरकी प्रेमिकालाई बिहे गर्न उनी छिमेकी जिल्ला रुकुम पश्चिमको सोती गाउँ पुगेका थिए।

सोही बेला चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा गाउँलेले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित उनका साथी सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको हत्या भएको थियो।

प्रकाशित: २० मंसिर २०८० ०९:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App