७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

ब्लड बैंक नहुँदाकाे सास्ती भोग्दै छन् बिरामी र आफन्त: रगतका लागि दाताकै भर

कालीकोटको शुभकालिका गाउँपालिका-३ का जमरा धिताललाई एक साताअघि सुत्केरी व्यथा लाग्यो। उनलाई जसोतसो आफन्तले जिल्ला अस्पताल पुगाए। उनको पेटमै बच्चा मरेपछि शल्यक्रिया गनुपर्ने भयो। उनलाई रगत अभाव देखियो। रगत चढाउन हारगुहार गर्नुपर्‍यो। बी पोजेटिभ रगतका लागि उनका आफन्तले धेरै व्यक्तिसँत सम्पर्क गरे।

खोजेको झन्डै १२ घन्टापछि मात्र उनलाई पत्रकार खडानन्द अधिकारीले रगत दिए। उनको अवस्था जटिल बन्दै गयो। अस्पताल प्रशासनले चार दिनपछि शल्यक्रिया नगरी उनलाई सर्खेत रेफर गरेको छ।

रगत अभावका कारण जटिल अवस्थाका बिरामीलाई सुखेर्त  रेफर गर्नुको विकल्प नभएको अस्पतालका डा. संकेत विश्वकर्माले बताए।

‘हरेक शल्यक्रियामा रगतको पूर्वतयारी गर्नुपर्ने हुन्छ, तर त्यो सम्भव छैन,’ उनले भने, ‘कहिलेकाहीँ शल्यक्रिया गर्दागर्दै आफैंले पनि रगत दिनुपर्ने बाध्यता छ।’

जिल्लामा ‘ब्लड बैंक’ नहुँदा बिरामी र उनीहरूका आफन्तले लामो समयदेखि सास्ती भोग्नुपरेको छ। हरेक दिनजसो जिल्ला अस्पतालमा ब्लड खोज्नेहरूको दौडधुप भइरहन्छ। जिल्लामा ‘ब्लड बैंक’ स्थापनाको लागि प्रयास पटकपटक गरिए पनि सफल भएको छैन।

जिल्ला अस्पतालमा सेना, प्रहरी, पत्रकार, स्वास्थ्यकर्मी र अरू व्यक्तिबाट रगतको पूर्ति भइरहेको छ। बिरामीले रक्तदान गर्ने मानिससमेत फेसबुकमार्फत खोज्नुपर्ने बाध्यता भएको अभियन्ता किरण अधिकारीले बताए।

‘उपचारका लागि अस्पताल पुग्यो, रगत चाहियो भने अर्को तनाव व्यहोर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यसको अन्त्यका लागि ब्लड बैंक स्थापनाको विकल्प छैन।’ केही महिनाघि उनले पनि आफन्तको लागि रगत खोज्न ठूलो दुःख व्यहोर्नुपरेको थियो।

विशेषगरी गर्भवतीको शल्यक्रिया गरेर सुत्केरी गराउनु पर्दा बढी रगत खोजिन्छ। अहिले जिल्लाका सबै अस्पताल तथा स्वास्थ्य संस्थाले समूह मिल्ने व्यक्तिको खोजी गरेरै रगतको आपूर्ति गरेका छन्।

‘रगत खोज्नुपर्ने बाध्यता कहिल्यै हटेन,’ स्थानीय प्रकाश शाहीले भने, ‘यसको सुनुवाइका लागि कोही अघि सरेको देखिएन।’

गर्भवती अवस्थामा पोषिलो खानपान अभाव, अधिक कामको चाप र बच्चा धेरै जन्माएका कारण अहिले सुत्केरी हुँदा रक्तश्राव भएको चिकित्सकको भनाइ छ।

बर्सेनि अधिक रक्तश्राव, रगत अभाव र समयमै उपचार नपाउँदा कर्णालीका कैयौं सुत्केरीले ज्यान गुमाउनुपरेको छ। सबैभन्दा धेरै मातृ मृत्युदर भएको क्षेत्र कर्णाली नै हो। यहाँ बर्सेनि १२ भन्दा बढी महिलाले रगत अभावकै कारण सुत्केरी अवस्थामा ज्यान गुमाउनुपरेको स्वास्थ्यकर्मीको भनाइ छ।

कर्णालीमै आवश्यक रगत संकलन गरी सुरक्षित रूपमा राख्ने ब्लड बैंक छैन, जसका कारण चाहिएको अवस्थामा बिरामीले रगत पाउन सकिराखेको अवस्था छैन। रगतका लागि कर्णालीका सबै अस्पतालमा समस्या उस्तै छ।

कालीकोट, हुम्ला, मुगु, डोल्पा र कर्णालीकै सदरमुकामका रूपमा रहेको जिल्लामा नै रगतका लागि दाताको भर पर्नुपर्ने एक मात्र विकल्प देखिएको छ। आवश्यक परेको समयमा चाहिएको समूहको रगत भएको व्यक्तिलाई फोन गरेर बिरामीलाई रगत दिन गुहार गनुपर्ने बाध्यता छ।

कतिपय ठाउँमा सडकको सहज पहुँचका नभएका कारण समयमै अस्पताल पुर्‍याउन नसक्दा सुत्केरीको ज्यान जाने गरेको छ। केही अस्पताल पुगे पनि आवश्यक रगत नपाउँदा ज्यान जाने गरेको स्थानीय बताउँछन्। रगत आवश्यकता परे दाता खोज्नुपर्ने स्थिति रहँदा बिरामीको ज्यान जोखिममा रहेको छ।

५० शय्या अस्पताल सञ्चालनमा आइसकेपछि अस्पतालमा ब्लड बैंक स्थापना गर्ने जनस्वास्थ्य अधिकृत कटक महतले बताए। ब्लड बैंक स्थापनाका लागि पहिले नै पहलकदमी गरिएको हो।’ रगत खपत नहुने र बत्तीको अभावका कारणले पनी स्थापना गर्न नसकिएको उनले बताए।

जिल्ला अस्पतालका रगत संकलन कर्ता पवन आर्चायका अनुसार यो वर्षमा मात्रै दुई सयजनाले रगत दिएका छन्। अधिकांश स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले रगत दिनुपरेको छ।

उनका अनुसार सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले यो वर्षमा दुई सयजनाले रगत दान गरेका छन्। अस्पतालकै प्रमुख कटक महतले १३ पटक रगत दान गरिसकेका छन् भने स्वास्थ्यकर्मी प्रकाश अधिकारीले १० पटक बढी रगत दिइसकेका छन्। रातिका बेला रगत चाहिएमा अस्पतालका स्वास्थ्यकर्मीले नै दिनुपर्ने बाध्यता छ।

अहिले संकलन केन्द्र नहुँदा बिरामी उपचार कक्षमा छाडेर रगत खोजीमा हारगुहार माग्दै हिँड्नुपर्ने बाध्यता रहेको छ। सदरमुकामको अवस्था दयनीय हुँदा दुर्गम गाउँका बिरामीलाई झनै सास्ती छ।

आर्थिक रूपमा सक्षम समुदायले हेलिकोप्टर चार्टर्ड गरेर सहरका सुविधा सम्पन्न अस्पतालमा पुग्न सक्छन्। तर पिछडिएका, लक्षित, विपन्न वर्गको पहुँच नपुग्ने हुँदा मृत्युलाई भाग्यको खेल सम्झनुको विकल्प नभएको स्थानीय बताउँछन्।

बैंक स्थापनापछि रगत खपत नहुने र विद्युत्को नियमित आपूर्ति नभएकाले ब्लड बैंक स्थापना गर्न नसकिएको नेपाल रेडक्रसले जनाएको छ। जिल्लामा ब्लड बैंक स्थापना गर्ने अधिकार नेपाल रेडक्रसलाई हुने गरेको छ।

जिल्ला अस्पतालमा उपचारका लागि आउने अधिकांश गम्भीर प्रकृतिका बिरामीले सुरक्षित रूपमा उपचार पाउन सकेका छैनन्। त्यस्ता बिरामीलाई पनि जनरल वार्डमा राखेर उपचार गर्ने गरिएको छ, जसका कारण बिरामीलाई थप रोगको संक्रमण समेत हुन सक्ने अवस्था देखिएको अस्पताल स्रोतले स्वीकारेको छ।

प्रकाशित: १७ मंसिर २०८० ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App