७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

भोकमरी घटाउन नेपालको प्रगति

काठमाडौंमा शुक्रबार आयोजित विश्वव्यापी भोकमरी सूचकांक सार्वजनिक कार्यक्रममा बायाँबाट सन्तोष थापा, प्रदीप खतिवडा, समृद्धि ज्ञवाली, सुमना श्रेष्ठ, साकेब नाबी, बोनिता शर्मा र रामकृष्ण श्रेष्ठ। तस्बिर: विजय राई/नागरिक

गएको एक वर्षमा भोकमरी घटाउन नेपालले उल्लेख्य प्रगति गरेको छ। भोकमरीको गम्भीरताको हिसाबमा तय गरिने विश्वव्यापी भोकमरी सूचकांक (ग्लोबल हंगर इन्डेक्स-जीएचआई) मा एक वर्षअघि नेपाल ८१औं स्थानमा थियो भने सन् २०२३ मा ६९औं स्थानमा उक्लिएको छ।

यो स्तरीकरणमा एक सय ३६ मुलुक समावेश गरिएको थियो। कर्न्सन वर्ल्डवाइड र वेलथुनजरहिल्फे नामक अन्तर्राष्ट्रिय संस्थाद्वारा प्रकाशित तथा शुक्रबार नेपालमा सार्वजनिक प्रतिवेदनले यस्तो देखाएका हुन्।

सम्बद्ध देशको समग्र जनसंख्यामा रहेको न्यून पोषण, बच्चाको उचाइ, तौल तथा मृत्युदर गरी चार मानकका आधारमा जिएचआईको अंकभार निर्धारण गरिन्छ। सन् २०२३ को ग्लोबल हंगर इन्डेक्स प्रतिवेदनमा नेपाल लगातार प्रगति हासिल गर्ने देशमा समावेश गरिएको छ। सन् २०२३ मा विश्वमा जिएचआईको सरदर अंकभार १८.३ रहेको छ।

दक्षिण एसिया,अफ्रिकाको सहारा क्षेत्रका देशहरूमा यो अंकभार अत्यधिक रहेको छ। यी देशमा अधिकांश जनसंख्या युवा रहेका कारण कोभिड १९ महामारी, रूस–युक्रेन युद्ध, जलवायु परिवर्तन तथा अन्य राजनीतिक अस्थिरताको बोझ यी युवाको काँधमा रहेको उक्त अन्तर्राष्ट्रिय प्रतिवेदनमा उल्लेख छ।

भोकमरीको अवस्था मापन गर्न शून्यदेखि ५० अंकसम्म विभाजन गरिएको यो सूचकांकमा नेपालको अंकभार १५ रहेको छ। त्यसो त, विगत २० वर्षयता नेपालले यो क्षेत्रमा लगातार प्रगति गर्दै आएको छ।

सन् २००० मा जीएचआईमा नेपालको अंकभार ३७.२ थियो भने सन् २००८ मा २९ र २०१५ मा २१.३ थियो। कर्न्सन वर्ल्डवाइड र वेलथुनजरहिल्फेले बर्सेनि संयुक्त रूपमा विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा भोकमरीको मापनसहितको प्रतिवेदन सार्वजनिक गर्दै आएका छन्। यो अन्तर्राष्ट्रिय प्रतिवेदन नेपाल गैरसरकारी संस्था महासंघ (एनएफएन) को सहकार्यमा शुक्रबार सार्वजनिक गरिएको हो।

प्रतिवेदन सार्वजनिक गर्ने क्रममा नीतिनिर्माता, सांसद, विषयविज्ञ तथा सम्बद्ध सरकारी अधिकारीहरूले नेपालले भोकमरी न्यूनीकरणमा गरेको प्रगति दिगो रूपमा राख्न युवा भूमिका अहम् रहने भएकाले कृषि क्षेत्रमा युवा आकर्षण बढाउनुपर्ने बताएका छन्।

नेपालका अधिकांश युवा विदेश पलायन हुँदा कृषिका लागि चाहिने श्रम अभाव भएको तथा अत्यावश्यक खाद्यवस्तुका लागि बजारमा निर्भर हुनुपरेको विज्ञको तर्क छ।

अधिकांश पुरुष बिदेसिँदा महिलाले कृषि पेसा थेग्दै आएको विज्ञको भनाइ छ।खाद्य सुरक्षाविज्ञ यमुना घलेले नेपाल संघीय संरचनामा गएपछि कृषि क्षेत्र सबैभन्दा धेरै धराशायी भएको बताइन्। ‘कृषिलाई स्थानीयकरण गर्नुपर्ने र खाद्य प्रणाली रूपान्तरणमा युवा परिचालन गर्नुपर्नेमा त्यसो हुन सकेको छैन’, घलेले भनिन्।

कृषि तथा पशुपालन विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले विश्वमा विभिन्न क्षेत्रमा भइरहेका लडाइँ तथा द्वन्द्व र कोभिड-१९ महामारीले खाद्यवस्तुको मूल्य २० प्रतिशतले बढेको चर्चा गर्दै यसले घरधुरी, समुदाय, राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा खाद्य सुरक्षा प्रणाली नराम्ररी बिथोलिएको बताए।

प्रतिवेदन सार्वजनिक कार्यक्रमको प्यानल छलफलमा बोल्दै प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले नेपालको कुपोषण तथ्यांक भरपर्दाे नभएको बताइन्। भोकमरी सूचकांकमा नेपालले प्रगति गर्नुमा विप्रेषण वा अन्य कुन कारणले योगदान गरेको छ भन्ने विषयमा थप अध्ययन हुनुपर्ने श्रेष्ठको भनाइ थियो।

नेपाल रिपब्लिक मिडियाकी प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवालीले कृषि क्षेत्रमा आधारित उद्यममा युवा आकर्षण बढाउनुपर्ने बताइन्। ‘हामीले कृषि क्षेत्रलाई हेर्ने दृष्टिकोण र भाष्यमा परिवर्तन आवश्यक छ’, उनले भनिन्।

अर्गानिक फुड र कृषि क्षेत्रको नवीनतामा नेपाली युवाको जागरुकता बढेको चर्चा गर्दैे प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले कृषिको दिगो विकासका लागि युवा आकर्षणमा सबैको ध्यान जानुपर्ने बताइन्।

प्रकाशित: ९ मंसिर २०८० ०२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App