उदयपुर जिल्लाको बिकट पहाडी ताप्ली गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले पारिश्रमिक कटाएर भूकम्प पीडितलाई राहत दिने भएका छन्। गाउँपालिकाको आज बिहीबार सम्पन्न कार्यपालिका बैठकले जनप्रतिनिधिले पारिश्रामिक र कर्मचारीले तलबभत्ताको निश्चिम रकम कटाएर राहत दिने निर्णय गरेको हो।
गाउँपालिका अध्यक्ष ढुंगराज विकका अनुसार बैठकले जनप्रतिनिधिले पाउने १० दिन बराबरको पारिश्रमिक र कर्मचारीको १ दिन बराबरको तलब कटाएर भूकम्प पीडितलाई राहत दिने निर्णय गरेको छ । गत कात्तिक १८ गते विहान गएको विनाशकारी भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति गरेकोमा मृतकप्रति शोक प्रस्ताव पारित र घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै राहत दिने निर्णय गरेको अध्यक्ष विकले बताए।
प्रमुख प्रशासकीय अधिकृत भक्त राईका अनुसार ५ वडा रहेको ताप्लीमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा खुल्ला, महिला र दलित सदस्य गरी २९ जनप्रतिनिधिको गाउँसभा छ । उनीहरु सबैको १० दिन बराबरको पारिश्रमिक कटाएर भूकम्प पीडितलाई पठाइने छ । त्यसैगरी कर्मचारीतर्फ प्रमुख प्रशासकीय अधिकृतदेखि शाखा अधिकृत, लेखा, बिभिन्न विषयगत शाखा, वडामा कार्यरत सहायकस्तरदेखि कार्यालय सहयोगीसम्म कर्मचारीको पनि १ दिनको तलब राहत कोषमा जम्मा गरिने छ।
बैठकले गाउँपालिकाका सबै वडामा सञ्चालित आधारभूतदेखि माध्यामिक तहसम्म र क्याम्पससम्मका शिक्षक प्राध्यापक र विद्यालय कर्मचारीको हकमा पनि सोही निर्णय लागू हुने हाकिम राईले बताए । जनप्रतिनिधि र कर्मचारी, शिक्षक सबै गरी लगभग झण्डै ४ सय हाराहारीले भूकम्प पीडितलाई राहत सहयोगमा योगदान गर्ने निर्णय भएको उपाध्यक्ष धनमाया मगरले बताएकी छिन् ।
गाउँपालिकाले केहीदिनभित्रै रकम संकलन गरेर प्रधानमन्त्री राहत उद्धार कोषमा जम्मा गर्ने योजना बनाएको पनि उपाध्यक्ष मगरले बताएकी छिन्।
सदरमुकाम त्रियुगा नगरपालिकाले भर्खरै पौने ९ लाख रुपैँया बराबरको खाद्यान्न र गैरखाद्यान्न राहत जाजरकोट लगेर बुझाईसकेको छ । मेयर बसन्त बस्नेत नेतृत्वको टोलीले नगरबाट लगेको राहत त्यहाँका प्रमुख जिल्ला अधिकारीलाई बिहीबार बुझाएर फर्केको बताए। यसैगरी बेलका नगरपालिकाले महिना दिनअघि नै १ लाख ५१ हजार १ सय रुपैँया राहत प्रधानमन्त्री भूकम्प उद्धार कोषमा जम्मा गरिसकेको मेयर अशोक कार्कीले बताएका छन्।कटारी र चौदण्डीगढी नगरपालिका तथा ४ वटा गाउँपालिकाले पनि छिट्टै भूकम्प पीडितलाई राहत पठाउने तयारी गरिरहेको जानकारी दिएका छन्।
प्रकाशित: ८ मंसिर २०८० १०:०७ शुक्रबार





