इलाम नगरपालिका–९, गोलाखर्ककी ५५ वर्षीय भीमा पाठकलाई २०४३ सालमा सोयाङबाट बेहुली भएर पराईको घर आउँदै गर्दा पनि नौमतीको धुनले नाचौँ–नाचौँ लाग्थ्यो।जीवनको ‘मोड’ बदलिएको यथार्थलाई नौमतीको धुनले चटक्कै बिर्साइदिएपछि उनको मन त छमछमी नाच्यो तर कम्मर मर्काउन मिलेन।
अहिले आएर आफैं नौमती बजाउने समेत अवसर पाएपछि उनले त्यही ‘मायालाग्दो’ सपना पूरा गर्न पाएकी छिन्। ‘मलाई सानैदेखि नौमती बाजाको धुन मन पथ्र्याे, आफ्नै बिहेमा बजेको नौमतीमा छमछमी नाचौँ लागेको थियो। तर, के गर्नु बेहुली भएर नाच्न मिलेन,’ ३७ वर्षपछि ढोलक घन्काउँदै उनले भनिन्, ‘अब चाहिँ नौमती बाजा बजाइन्छ, नाचिन्छ पनि।’
यही वडाकी रिंकु गुरुङ तीन–चार गीतमा मज्जासँग सनई बजाउँछिन् । ‘म दलित समुदायमै जन्मिएकी भए पनि अहिलेसम्म नौमती छुन पाएकी थिइनँ,’ उनले भनिन्, ‘महिलाले नौमती बजाउनुहुँदैन भन्ने सामाजिक सोचले वर्षाैंदेखिको रहर गुम्स्याउनुपरेको थियो, अहिले मौका आयो । तीन–चार गीतमा सजिलै बजाउन सक्छु।’
गोलाखर्कको पाञ्चायन मन्दिर प्राङ्गणमा बिहानदेखि बेलुकासम्म नौमती घन्काउने १२ महिलामा दलितको संख्या चाहिँ नगन्य छ । ब्राह्मण, क्षेत्री, राई, लिम्बू, गुरुङ, मगरलगायत विभिन्न समुदायका महिला नौमतीको तालमा रमाउँदैछन्। रमाउँदै मात्र छैनन् उनीहरू, सात दिनको नौमती बाजा तालिम सकिँदा वर्षाैंदेखिको रहर पनि मेटाउँदछन्।भीमा भन्छिन्, ‘यति मीठो बज्ने नौमती हाम्रो गाउँघरको रीति र संस्कृति हो, बिहेलगायत हरेक शुभ कार्यमा बजाउने नौमती संरक्षण चाहिँ त्योभन्दा ठूलो आवश्यकता हो ।’
उनले गाउँघरमा नौमती बजाएर गरिएको बिहे मात्रै साँच्चीकै बिहेजस्तो लाग्ने गरेको सुनाइन्। ‘केही वर्ष अघिसम्म गाउँमा बिहे भन्ने बित्तिकै नौमती बज्थ्यो, नौमती नबजाइएको बिहे बिहेजस्तो हुँदैनथ्यो,’ भीमाले सम्झिइन्, ‘अचेल बिहेमा नौमती सुनिँदैन, तडकभडक धेरै देखिन्छ।’
गोलाखर्क गाउँमा मात्र होइन, अहिले जिल्लामै नौमती बजाएको बिरलै मात्र सुनिन्छ ।कुनै पनि बिहे, भोजभतेर वा ठुला समारोहमा नौमती शून्य प्रायः भइसकेको छ।प्रविधिको तीव्रत्तर विकासले गाउँको मौलिक संस्कृति नौमती लोप हुने अवस्थामा पुगेपछि वडा ९ को सहयोगमा स्थानीय नौमती बाजा सांस्कृतिक समूहले तालिम आयोजना गरेको हो।तालिममा गैर दलित महिला नरसिंहा, टेम्को, दमाहा, सनईलगायत बजाउन सक्ने भएका छन्।
झापाका तालिम सहजकर्ता वीरबहादुर महत पनि सानैदेखि नौमती बजाउँथे । तर, उनी पनि दलित समुदायका होइनन् । ‘मैले त सानैदेखि नौमती बजाएको हो,’ ६२ वर्षे वीरबहादुरले भने, ‘गाउँको संस्कृति जगेर्ना गर्न कुनै समुदाय वा जातले छेक्दैन, संस्कृति–परम्परा बचाउने दायित्व हामी सबैको हो।’ गोलाखर्कका महिलाले नौमती बजाउन इच्छा गरेर आफूलाई सहजीकरण गर्न बोलाएकामा उनी निकै हर्षित रहेछन्। ‘लोप हुन लागेको नौमती, त्यो पनि महिलाले सिक्नु नौलो अभ्यास हो,’ उनले थपे, ‘सातै दिनमा पनि महिलाले निकै छिटोगरी यो सीप सिक्नुभएको छ । यसलाई निरन्तरता दिनुभयो भने राम्रो हुन्छ।’
समूहले गाउँमा सुन्न छाडिएको नौमती जगेर्ना गर्ने उद्देश्यले तालिम आयोजना गरेको समूह अध्यक्ष वेदमाया भट्टराईले बताइन्। ‘समूहले अहिले यही तालिमबाट नौमती बजाउन सक्ने एउटा टिम तयार पारेको छ,’ उनले भनिन्, ‘कम्तीमा दुइटा यस्ता टिम बनाउने हाम्रो प्रयास छ ।’ उनले जिल्लामै बिरलै मात्र भेटिने नौमतीको टिम आफूहरूले चाहिँ महिलाकै बनाएको बताइन् । ‘यहाँ सिकेपछि जिल्ला र बाहिरका समेत जुनसुकै सभा–समारोह, बिहे, शुभ कार्यमा हामी नौमती लिएर जान सक्छौँ,’ उनले भनिन्, ‘महिलाले नौमती बजाउन हुँदैन भन्ने परम्परागत सोच पनि अब अन्त्य भएको छ।’
वडाध्यक्ष गोपाल चौहानले वडाले संस्कृति संरक्षणका लागि नौमती बाजा बजाउने तालिम वडामा राखेको बताए । ‘मौलिक संस्कृति जगेर्ना गर्न नौमतीले पनि सघाउँछ,’ उनले भने, ‘त्यसमा पनि महिला दिदी–बहिनीले नौमती बजाउनु हाम्रो घर–गाउँमा नयाँ काम पनि हो।’
प्रकाशित: ७ मंसिर २०८० १२:५३ बिहीबार