२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

प्रदर्शनलाई शान्तिपूर्ण बनाउन मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँ लगायतद्वारा भोलि गर्ने भनिएको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आग्रह गरेको छ। साथसाथै आयोगले मानवअधिकारको दृटिकोणबाट प्रदर्शनको अनुगमन गर्ने बताएको छ।

२०८० मंसिर ७ गते काठमाडौँमा गर्ने भनिएको प्रदर्शनको क्रममा हिंसात्मक गतिविधि हुनसक्ने भन्दै सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा आयोगको ध्यानाकर्षण भएको जनाएको छ।

‘विभिन्न सामाजिक सञ्जालहरुमा आएका अभिव्यक्ति एवं सञ्चार माध्यममा प्रकाशन, प्रसारण भएका सामग्रीहरूलाई गम्भीर रुपमा लिई नजिकबाट अध्ययन गरिरहेको छ’ आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘दुवै पक्षबाट शक्ति प्रदर्शन गर्ने र आरोप प्रत्यारोपयुक्त अभिव्यक्तिहरू दिने जस्ता गतिविधि भएको पाइएकोले यसबाट सर्वसाधारण नागरिकहरूमा भय र त्रासको अवस्था सिर्जना भएको पाइएको छ।’

लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाइने संवैधानिक अधिकार नै हो। मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ र नेपाल पक्ष राष्ट्र बनेको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ ले समेत शान्तिपूर्ण प्रदर्शन तथा अभिव्यक्ति स्वतन्त्रताको हकको सुनिश्चितता गरेको छ। तर प्रदर्शनलाई शान्तिपूर्ण बनाउनु र संयमता अपनाउनु प्रदर्शनकारीहरूकै प्राथमिक दायित्वसमेत हुने आयोगको ठम्माई छ।

प्रकाशित: ६ मंसिर २०८० ११:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App